पुष्प व्यापार मेला सुरु

धरान — अमन बजारमा दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेला बिहीबारबाट सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा सुरु मेला पाँच दिनसम्म चल्ने जनाइएको छ । 

पुष्प व्यापार मेला सुरु

कृषि विकास मन्त्रालयको सहयोगमा सञ्चालित मेलाको उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गरे । मेलामा सुनसरी, मोरङ, झापा, इलाम र दार्जिलिङका व्यवसायीका ३२ स्टल छन् । मेलामा ५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म पर्ने विभिन्न जातका फूल प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् ।

गत वर्षको मेलामा २० स्टलबाट करिब २५ लाख रुपैयाँको कारोबार भएको थियो । योपटक ३२ स्टलबाट कम्तीमा ४५ लाख रुपैयाँको कारोबार हुने आयोजक समितिको आकलन छ ।

मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा (ग्रिन प्लान्ट), सुनाखरी, फूलमा प्रयोग गरिने कम्पोस्ट मल, फूलको गानो, बीउबीजन, कृषि औजार, प्याकेजिङका सामग्री पनि प्रदर्शनीमा राखिएको मेला संयोजक खगेन्द्र पोखरेलले बताए । उनले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै छिमेकी मुलुकमा निर्यात गर्न सक्षम हुनका लागि मेला आयोजना गरिएको बताए । उनले भने, ‘मुलुकका ३९ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यवसयीले १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरेर वार्षिक १ अर्ब ७१ करोड २९ लाख रुपैयाँको कारोबार हुने गरेको छ ।’

एसोसिएसन केन्द्रीय उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले नेपालमा अझै पनि जापान, हल्यान्ड र अमेरिका भारतलगायत मुलुकबाट वर्षमा १० करोड ५ लाख रुपैयाँको आयात गर्ने गरिएको बताए । उनका अनुसार निर्यात भने ३ करोड रुपैयाँँ मात्र छ । निर्यात बढाउनका लागि पुष्प व्यवसायीको संख्या र नर्सरी विस्तार गर्दै जानुपर्ने बताए ।

प्रकाशित : पुस २९, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?