२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेप्सेको मुनाफा घट्यो, पचास प्रतिशत नगद लाभांश बाँडिदै 

काठमाडौँ — शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ ।

नेप्सेको मुनाफा घट्यो, पचास प्रतिशत नगद लाभांश बाँडिदै 

नेप्सेले आव २०७३/७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।


नेप्सेले गत आवमा रु ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष रु ६९ करोड ६१ लाख ९४ हजार ४७३ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी रु ५९ अर्ब ३९ करोड ५४ लाख बराबरको पूँजी परिचालन गरेका छन् ।


प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा रु एक खर्ब ६३ अर्ब ९५ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४ दशमलव ९० प्रतिशतले वृद्धि भई रु दुई खर्ब चार अर्ब ७९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा रु ७० करोड ३६ लाखबाट बढेर रु ८९ करोड तीन लाख पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/७३ मा आठ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।


अघिल्लो आवको तुलनामा ६९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९ दशमवल ९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।


घट्यो बजार पूँजीकरण


आव २०७२/७३ मा रु १८ खर्ब ९० अर्ब रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १ दशमलव ७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा रु १८ खर्ब ५६ अर्ब कायम भएको छ । आव २०७२/७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ ।


समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर एवं ७३ कम्पनीको रु ३० अर्ब ४६ करोड ४८ लाख बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल रु एक खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा रु तीन अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र रु ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


नेप्सेमा आव २०७२/७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा एक हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा एक हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो ।


पचास प्रतिशत नगद लाभांश बाँडिदै


नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले रु १५ करोड लाभांश वितरण गरेको छ ।


जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात रु आठ करोड ७० लाख जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात रु पाँच करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले छ प्रतिशतअर्थात रु ९० लाख मुनाफा पाएको छ । नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ ।

प्रकाशित : पुस २९, २०७४ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?