कारोबार रकम ३७ प्रतिशतले घट्यो

काठमाडौँ — गत साताको तुलनामा सेयर कारोबार करिब ३७ प्रतिशतले घट्यो । साताभरको व्यापारमा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साताको तुलनामा कारोबार रकम ३६.७९ प्रतिशतले कम हो । उक्त अवधिमा करिब १७ हजार ४ सय कारोबारबाट १ सय ७४ कम्पनीका ४१ लाख ५ हजार २ सय १० कित्ता सेयर खरिदबिक्री भए । गत साता ६४ लाख ७९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ परिचालन भएको थियो ।

कारोबार रकम ३७ प्रतिशतले घट्यो

सार्वजनिक बिदा परेकाले बिहीबार सेयर कारोबार भएन । यसकारण यो साता चार दिन मात्र सेयर किनबेच भए । तीमध्ये तीन दिन परिसूचक बढयो, १ दिन घट्यो । अधिकांश दिन परिसूचक बढे पनि कारोबार रकम लगातार घटयो । यसकारण गत साताको तुलनामा यो साता कारोबार रकममा उल्लेख्य कमी आयो ।

चार दिनको कारोबारमा नेप्से परिसूचक साढे ८ अंकले बढ्यो । आइतबार १ हजार ४ सय ३१.८० विन्दुमा रहेको बुधबार १ हजार ४ सय ४०.२९ विन्दुमा उक्लियो । केही साता यता नेप्से परिसूचकमा सुधार देखिएको छ । खासगरी, सरकार गठन छिटै हुने सम्भावना बढेकाले नेप्से सुधारको बाटोमा लागेको विश्लेषकहरू बताउँछन् । यही कारण पछिल्ला दिनहरूमा बजारमा खरिद चाप बढ्न थालेको छ ।

यो साता कारोबार रकम (२३ करोड ७६ लाख ५० हजार रुपैयाँ) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । कारोबार सेयर संख्या (एक लाख ९९ हजार कित्ता) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि छ । साताभर कारोबार संख्या (१ हजार ४ सय ७५ वटा) का आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा छ ।

विगतका साताहरूमा जस्तै यो साता पनि कुल कारोबारमा सबैभन्दा बढी हिस्सा बंैकिङ र बिमा समूहले ओगटेका छन् । कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको हिस्सा ३५.३२ प्रतिशत छ । गत साताको तुलनामा कारोबार हिस्सा कम हो । गत साता यो समूहको कारोबार हिस्सा ४२ प्रतिशत थियो । गत साताको तुलनामा यो साता बिमा समूहको हिस्सा बढेको छ । यो साता कुल कारोबारमा यो समूहको हिस्सा २७.६८ प्रतिशत छ । गत साता यो समूहको हिस्सा १३.८३ प्रतिशत थियो । यसले यो साता बिमा कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ । यसैगरी, जलविद्युत् समूहको हिस्सा १०.४४, लघुवित्तको ८.०९, विकास बैंकको ४.७२, ‘अन्य’ को ३ र संस्थापक सेयरको कारोबार हिस्सा ७.०९ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

साप्ताहिक कारोबारमा बीमा र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति बढ्यो । साताभरको कारोबारमा बीमा समूहको परिसूचक १३.३८ अंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक करिब २८ अंकले घट्यो । तर, बैकिङ समूहको परिसूचक ११.१९, होटलको २२.५५, विकास बैंकको ९.५१, जलविद्युत्को १.१६, वित्त कम्पनीको ३.८६, व्यापारको १.६९ र ‘अन्य’ समूहको १०.२८ अंकले बढ्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रह्यो । विगतमा जस्तो यो साता पनि ऋणपत्रतर्फ संस्थागत र सरकारी ऋणपत्रको कारोबार भएन । यो साता एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भयो । यसैगरी, ङादी ग्रुप पावर, सानिमा बैंक, नबिल बैंक र टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर यही साता सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?