कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जलविद्युत्ले बदलिँदै दोलखाका उत्तरी बस्ती

‘निरक्षरले पनि मासिक २० हजारभन्दा माथिको जागिर पाएका छन्, पढेलेखेकाको थप कमाइ छ’

लामाबगर, दोलखा — माथिल्लो तामाकोसीलगायत दर्जनौं जलविद्युत् आयोजनाका कारण उत्तरी दोलखामा रोजगार तथा व्यावसायिक अवसर सिर्जना भएका छन् । यी अवसरले यहाँको जनजीवनमा परिवर्तन ल्याएको छ ।

जलविद्युत्ले बदलिँदै दोलखाका उत्तरी बस्ती

‘यहाँ बेकामी कोही छैनन्, गर्न खोज्नेले तत्काल काम पाइहाल्छ,’ लामाबगरका वडाअध्यक्ष हिरण्यबहादुर गुरुङ गर्वसाथ भन्छन्, ‘हाइड्रोपावरका कारण मिहिनेती मानिसहरूले जे उद्यम गरे पनि पैसा फलिहाल्छ ।’ कृषि उपजले राम्रो बजार पाएको छ । सडक सञ्जालका कारण हिँडेर सहर बजार पुग्नुपर्ने दिनहरू पनि सकिएका छन् । बाहिरिया आउनाले होटलदेखि पसल फस्टाएका छन् ।

चालु आयोजनाहरूमध्ये देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य सुरुवातसँगै क्रमिक रूपमा यस क्षेत्रको परिवर्तनको ढोका खुलेको हो । यस क्षेत्रको विकासको पहिलो खुड्किलो तामाकोसी आयोजनाले बनाएको सडक विस्तार सावित भएको छ । सडक नआएसम्म मानिसहरू ३२ कोस हिँड्दा जिल्ला सदरमुकाम पुग्थे ।

डोकाको भारी नाम्लाको सहारामा मानिसको थाप्लोले थेगेर यस क्षेत्रको भोक टथ्र्यो । बाटाहरू अप्ठयारा भएका कारण कयौं लडेर घाइते हुन्थे, ज्यान जान्थ्यो । तिब्बती सीमा गाउँ लामाबगरसम्म पुग्दा भोका, नाङ्गा, निरक्षर कुपोषणपीडित बालबालिकाहरू बाटा वरपरका गाउँबस्तीमा भेटिन्थे । अहिले परिस्थिति बदलिएको लामाबगरका अगुवा छयोतर शेर्पा बताउँछन् ।

‘निरक्षरले पनि मासिक २० हजारभन्दा माथिको जागिर पाएका छन्, पढेलेखेकाको थप कमाइ छ,’ उनले भने ।

आयोजनाले ल्याएको सडकले जनताका दु:ख आधा सकिएको छ । आयोजनाले सदरमुकामदेखि सडक सुधार गर्दै उत्तरी केन्द्र सिंगटीबाट लामाबगरसम्म मोटर चल्ने बनाएपछि यस क्षेत्रमा उज्याला दिन सुरु भएको हो । तामाकोसी आयोजनाले सडक र विद्युत् राजमार्ग (ट्रान्समिसन लाइन) विस्तार गरेपछि उत्तरी क्षेत्रका हरेक खोलाहरूमा निर्माणाधीन दर्जन हाराहारीको जलविद्युत् आयोजनाहरूले ग्रामीण बस्तीका भित्री कुनामा सडक सञ्जालमा पुर्‍याएका छन् ।

विस्तारित विद्युत् आयोजनाको सञ्जालले भित्री बस्तीहरू बजारीकरण भइरहेका छन् । बजारीकरणसँगै स्थानीय उत्पादन खपथ, रोजगारको सिर्जनाले मानिसहरूका कमाइ गर्ने आधार थपिँदै गएको छ । लामाबगरका वडाअध्यक्ष गुरुङको भनाइमा केही समयअघिसम्म यहाँका मानिसहरू तामाकोसीले स्थानीयलाई दिने भनिएको सेयर रकम हाल्न सक्दैनन् भन्ने ठानिन्थ्यो । त्यसैले यहाँका बासिन्दाले अधिकारले पाउने सेयरको कित्ता नै घटाइएको छ । उनी थप्छन्, ‘अब यहाँका मानिसहरू जति पनि पैसा लगानी गर्न सक्छन् भनेर

अधिकारअनुसारको सेयर दिइनुपर्ने माग गरिरहेका छन् ।’ यहाँका युवा कि त स्थानीयस्तरमा उद्यम गर्दै छन्, कि त नजिकका विकासको काममा रोजगार गर्दै छन् । वैदेशिक रोजगारमा न्यून संख्यामा छन्, गएकाहरू पनि फर्किएर घर नजिकै केही न केही पैसा कमाउने काममा सहभागी छन् ।

माथिल्लो तामाकोसीका अनुसार हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । हाल करिब एक हजार मानिस यहीँ आयोजनासँग गाँसिएर आयआर्जन गरिरहेका छन् । यस क्षेत्रका प्रदेशसभा सदस्य पशुपति चौलागाई हाइड्रोपावर कम्पनीको आगमनसँगै उत्तरी क्षेत्रको समृद्धिको ढोका खुलेको बताउँछन् । ६५० मेगावाटको तामाकोसी तेस्रो आयोजना सञ्चालनका लागि पहल थालिएको उनले बताए । ‘उक्त आयोजनाको सुरुवात र लामाबगरबाट चीनको सीमासम्म सडकले जोड्ने प्रयास सफल भए दोलखा जिल्लाले काँचुली फेर्छ,’ सांसद चौलागाईंले भने ।

उक्त आयोजनाको पछिपछि लागेर आएको अन्य निजी आयोजनाहरूका कारण स्थानीय र बाहिरिया गरेर हजारौं मानिसहरू काममा छन् । रोजगार र उद्यमका कारण यस क्षेत्रको लगभग शत प्रतिशत बालबालिकाहरू विद्यालय शिक्षामा भएको जिल्ला शिक्षा कार्यालयको प्रतिवेदनले बताउँछ । उच्च शिक्षा हासिल गर्नेहरूको संख्या भने अझै न्यून रहेको उनले बताए ।

जलविद्युत् नै प्रमुख आधार बनाएर दोलखाको समृद्धि हुन सक्ने प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ बताउँछन् । जलविद्युत् हबकै रूपमा रूपान्तर भइरहेको उत्तरी क्षेत्रबाट तिब्बत जोड्ने नाका खुलाउने तयारी भइरहेको उनले बताए । नाकासमेत खुलेर विद्युत् आयोजनाहरू सम्पन्न भएपछि पहिले दु:खले जेलिएको भनेर चिनिने दोलखाको उत्तरी क्षेत्र समृद्धिले भरिएको बस्तीहरूमा रूपान्तरित हुने उनले दाबी गरे ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?