कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लुम्बिनी आउने ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किन्छन्

घुमेर भारत फर्किने हुँदा सरकार र व्यावसायी दुवैले फाइदा लिन सकेका छैनन् 
अमृता अनमोल

लुम्बिनी (रूपन्देही) — गत वर्ष लुम्बिनीमा १५ लाख ५२ हजार पाहुना आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०१७ मा आएका पर्यटकमध्ये १ लाख ५५ हजार पर्यटक तेस्रो मुलुकबाट आएका हुन् । बुद्धस्थल भ्रमणका लागि दैनिक यहाँ सयौं आउने गर्छन् । 

लुम्बिनी आउने ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किन्छन्

प्रत्येक दिन आन्तरिक र बाहय पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरूमध्ये ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किने गरेका छन् । महत्त्व र प्रचारप्रसार बढ्दै जाँदा घुम्न आउनेको संख्या बर्सेनि बढेको देखिन्छ । पर्यटकको बसाइ अवधि भने बढेको छैन । यसले गर्दा यहाँको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । स्थानीय र व्यवसायीले फाइदा लिन सकेका छैनन्् । ‘स्थलमार्गबाट आउने प्राय: सार्क मुलुकका पर्यटकहरू भारतीय सवारी लिएर भारतीय बाटो भएर आउँछन् । लुम्बिनी भ्रमण गरेर त्यही बाटो उसै दिन फर्किन्छन्,’ स्थानीय व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का उपाध्यक्ष मिथुन श्रेष्ठले भने, ‘यसले

गर्दा पर्यटकको संख्या बढेसरह फाइदा लिन सकेका छैनौं ।’ भारतीयले खानासमेत उतैबाट बोकेर ल्याउने उनले बताए ।

लुम्बिनीसँगै आसपासमा बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान धेरै छन् । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, कुदान, मावली देवदह, अष्टधातु रहेको रामग्राम बौद्ध दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छन् । ती बौद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण ‘प्याकेज’ छैन । यसले गर्दा अधिकांश पर्यटक एकैछिन लुम्बिनी घुमेर उसैदिन फर्केका हुन् ।

एसोसिएसन महासचिव लीलामणि शर्माले पर्यटन बोर्ड र लुम्बिनी गुरुयोजनाले पर्यटन विकासमा सहकार्य नगर्दा पनि समस्या परेको बताए । ‘गुरुयोजनाले विकास योजना समयमा सक्ने र पर्यटन बोर्डले सहकार्य गरेर भ्रमण प्याकेज बनाइदिए मात्रै पनि लुम्बिनीमा धेरै पर्यटन विकास हुन्थ्यो,’ उनले भने, ‘सार्क मुलुकका पर्यटकलाई एक वर्षमा ३० दिनको भिसा शुल्क नलाग्ने नियम छ ।’ यो नियमका कारण पनि राज्यले पर्यटकबाट बर्सेनि करोडौंको राजस्व गुमाएको छ । व्यवसायीले समेत फाइदा लिन पाएका छैनन् । सिद्धार्थनगरका पर्यटन व्यवसायी सञ्जय बजिमयले फ्री भिसा नहटाउँदासम्म जेजस्ता पर्यटन योजना बने पनि बसाइ अवधि नबढ्ने बताए ।

सरकारले ४ वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको स्थान तिलौराकोट, मावली क्षेत्र देवदह र अष्टधातु रहेको नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर १ सय ५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र कायम गरेको छ । बृहत्तर लुम्बिनी क्षेत्र जोड्ने सडक कम्तीमा ४ लेनको पक्की हुनुपर्ने र सडक आसपासमा वर, पीपल, स्वामीलगायतका रूखहरू रोपेर हरित, शान्त र सुन्दर बनाउनुपर्ने त्यसमा उल्लेख छ । फिल्डमा भने धेरै आयोजना सुरु भएका छैनन् । सुरु आयोजना पनि निकै सुस्त छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी सुन्दरीकरण, पूर्वाधार विकासको अभाव र आसपासमा मन बहलाउने ठाउँ नभएकै कारण पर्यटक नबसेको तर्क गर्छन् । ‘लुम्बिनी भनेर लुम्बिनी विकास कोषले लगाएको पर्खालभित्र मात्रै गुम्बा बनाउने र सजाउने काम भयो ।’ मेयर चौधरीले भने, ‘लुम्बिनी नगरको विकास विकास नहुँदासम्म पर्यटक भुलाउन सकिँदैन ।’

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यो लक्ष्यलाई सार्थक तुल्याउन सरकारले सन् २०१५ मा लुम्बिनीलाई टुरिजम हबका रूपमा विकास गर्न १० वर्षे कार्यक्रमसहितको व्यवस्थित पर्यटन योजना तयार गरेको थियो । एसियाली विकास बैंकको दक्षिण एसियाली पर्यटन पूर्वाधार परियोजनामार्फत योजना बनाइएको थियो ।

पर्यटन योजना कार्यान्वयनका लागि उत्पादन, पहुँच, खानेबस्ने ब्यवस्था, बजार, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकास तथा सम्पदा र वातावरणको संरक्षणका कामलाई कार्ययोजनागत रूपमा उल्ललेख गरिएको थियो । बनाइएको उक्त योजनासमेत कार्यान्वयनमा नल्याउँदा पर्यटन व्यवसाय फस्टाउन नसकेको पर्यटनविदहरूको भनाइ छ । लुम्बिनी आसपास साना/ठूला गरेर २ सय ५० होटल रहेका छन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?