ग्यास पाइपको मापदण्ड निर्धारण

गुणस्तर मापदण्ड कार्यान्वयनले एलपी ग्याससम्बन्धी दुर्घटना कम हुने
राजु चौधरी

काठमाडौँ — खाना पकाउने एलपी ग्यास सिलिन्डरमा जडान हुने पाइपको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको गुणस्तर परिषद्को बैठकले कपडाको धागो र पाइपको मापदण्ड स्वीकृत गरेको हो ।

ग्यास पाइपको मापदण्ड निर्धारण

‘कपडाको धागो र ग्यासमा प्रयोग हुने पाइपमा मापदण्ड निर्धारण गरेका छांै,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘कार्यान्वयनपश्चात् उपभोक्तालाई धेरै फाइदा हुनेछ ।’ बैठकले टेक्स्टाइलको परीक्षण विधि एनएस/आईएसओ १८३३ : २००६ टेक्स्टाइल परिमाणात्मक रसायन विश्लेषणका विभिन्न भाग स्वीकृत गरेको उनले बताए । स्वीकृतपश्चात् टेक्स्टायल प्रयोग भएको सेन्थेटिक तथा प्राकृतिक फाइबरहरूको मिश्रणको विश्लेषण कार्यमा सहयोग पुग्ने विभागको दाबी छ ।

बैठकले ग्यासको सिलिन्डरमा जडान गरिने रबर होज पाइपको पनि गुणस्तर स्वीकृत गरेको छ । मापदण्डमा घरेलु र उद्योगका सम्बन्धी छुट्टाछुट्टै पाइप वर्गीकरण गरिएको छ । पाइपमा लेबल, साइज, मूल्य अनिवार्य तोक्नुपर्छ । ‘खाना पकाउने ग्यासमा प्रयोग हुने पाइपसम्बन्धी नयाँ गुणस्तर भएकाले एलपीसम्बन्धी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ,’ महानिर्देशक पुडासैनीले भने । हाल पाइपका कारण खाना पकाउने ग्यास लिक भई सिलिन्डर पड्कने, आगलागी दुर्घटना बढ्दै गएको छ । यी घटनाहरू न्यूनीकरण गर्न पाइपमा पनि मापदण्ड लागू गरेको विभागको दाबी छ । परिषद्बाट शुक्रबार स्वीकृत भएपछि अब पूर्ण रूपमा कार्यान्वय गरिने पुडासैनीले बताए ।

नयाँ मापदण्डअनुसार बिक्रेताहरूले ‘तारले जेलिएको रबर पाइप’ बिक्री गर्नुपर्नेछ । जानकाहरूका अनुसार हाल अधिकांश व्यवसायीले प्लास्टिक पाइप बिक्री गर्छन् । सर्वसाधरणले पनि सोही पाइप ग्यास सिलिन्डरमा प्रयोग गर्दै आएका छन् । प्लास्टिकको पाइप गुणस्तरहीन हुन्छ । जसले गर्दा ग्यास लिक हुने दुर्घटना हुन्छ । एनएस गुणस्तर चिह्नले प्लास्टिकको पाइप बिक्री निरुत्साहित हुने पुडासैनीले बताए । मापदण्ड राजपत्रमा प्रकाशित भएको तीन/चार महिनाभित्र अनिर्वाय कार्यान्वयन हुने उनले बताए ।

‘कार्यान्वयन गर्न व्यवसायीलाई तीन/ चार महिना समय दिन्छौं,’ उनले भने, ‘त्यसपश्चात् कडाइका साथ अनुगमन हुन्छ ।’ राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले एनएस प्रमाणित उत्पादन मात्रै आयात गर्न पाउने छन् । ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाका अनुसार अन्य मुलुकमा प्लास्टिक पाइपमा प्रतिबन्ध गरिएको छ । नेपाली व्यवसायीले खरिद गर्दा डिजेल पाइपको नाममा खरिद गर्छन् । ती पाइपहरू ग्यास सिलिन्डरमा प्रयोग हुँदा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । प्लास्टिकको पाइप लेबल पाइप हो । लेबल पाइप गुणस्तरहीन भएकाले उपभोक्ताले सस्तोमा खरिद गर्न सक्छन् । व्यवसायीले प्रतिमिटर २०/२५ रुपैयाँमा खरिद गरी उपभोक्तालाई एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । मापदण्डको आधारमा बनेको रबर पाइप तारले जेलिएको हुन्छ । प्लास्टिकको पाइपभन्दा केही महँगो पर्छ । ‘महँगो परे पनि रबरको पाइप प्रयोग गरौं । यी पाइपबाट हत्तपत्त ग्यास लिक हुँदैन । मुसाले काट्न सक्दैन,’ महासचिव थापाले भने, ‘आगोले पनि छिट्टै जल्दैन । थिचेर फुट्दैन । जसले गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग हुन्छ ।’ उनका अनुसार उपभोक्तामा चेतनाको कमीले गर्दा व्यवसायीले प्लास्टिक पाइप बिक्री गर्दै आएका छन् । महासंघका अनुसार प्लास्टिक पाइप नेपालमै उत्पादन हुन्छ । केही व्यवसायीले आयात पनि गर्छन् । हाल गुणस्तरहीन पाइप छ्यापछयाप्ती भेटिए पनि सम्बन्धित निकायले चासो दिएका छैनन् । पाइपसम्बन्धी अनुगमन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर विभागले गर्ने हो । अति संवेदनशील मानिने ग्यासको पाइप सम्बन्धमा भने अनुगमन हुन सकेको छैन । महानिर्देशक पुडासैनीले राजपत्रमा प्रकाशनपश्चात् अनुगमन तीव्र बनाइने बताए । ‘अनुगमनको क्रममा प्लास्टिक पाइप फेला गरे कारबाही गर्छौं,’ उनले भने ।

‘कपडाहरू पोलिस्टर, लाइलन, ऊनीलगायतले बनेका हुन्छन्,’ उनले भने, ‘अब टेक्स्टाइलमा प्रयोग भएको सिन्थेटिक तथा प्राकृतिक फाइबरहरूको मिश्रणको विश्लेषण हुनेछ ।’ परिषदबाट स्वीकृत भएसँगै यो गुणस्तर मापदण्डका रूपमा मात्रै लागू भएको उनले बताए ।

प्रकाशित : माघ १, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?