कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पुष्प मेलामा ७० लाखको कारोबार

धरान — यहाँको अमन बजारमा सञ्चालन भएको पाँचदिने पूर्वाञ्चल पुष्प व्यापार मेलामा ३० स्टलबाट करिब ६५ देखि ७० लाख रुपैयाँको कारोबार भएको छ । 

पुष्प मेलामा ७० लाखको कारोबार

आयोजक फ्लोरिकल्चर एसोसिएसनले ३० देखि ४० लाख रुपैयाँको मात्र कारोबार हुने अनुमान गरेको थियो । गत वर्ष २० स्टलबाट ४० लाख रुपैयाँको कारोबार भएको थियो । अधिकांश स्टलले कम्तीमा १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँको फूलको कारोबार गरे । एसोसिएसनका पूर्वाञ्चल संयोजक प्रेम पराजुलीलेले भने, ‘अपेक्षा गरेभन्दा बढी फूलको कारोबार भएको छ । अन्तिम दिनसम्ममा फूलका बिरुवाको बिक्री पनि उत्साहजनक रूपमा भएको थियो ।

मेलामा सहभागीमध्ये मोरङ विराटचोकबाट आएका दीपेश नर्सरीले करिब ५ लाख रुपैयाँ, धरानका पवित्र नर्सरीका कल्पना लिम्बुले ३ लाख रुपैयाँ, इटहरीका रितु नर्सरीले साढे ३ लाख रुपैयाँ, महादेव नर्सरीले ४ लाख रुपैयाँको कारोबार गरेको आयोजक समितिले जनाएको छ ।

मेलामा सबैभन्दा बढी रोजाइमा घरभित्र पनि सजाएर राख्न सकिने हरिया प्लान्ट र सदाबहार फूलका बिरुवाहरू रहेको देखिएको पराजुलीले बताए । मेलामा अवलोकन गर्न आएकामध्ये मौसमी फूलहरू, आलंकारिक बोटबिरुवा (ग्रिन प्लान्ट), सुनाखरी, फूलमा प्रयोग गरिने कम्पोस्ट मल, फूलको गानो, बीउबीजन, कृषि औजार, प्याकेजिङ सामग्री, डेलिया, सयपत्री, भवेना, गुलाफ, गजेनिया, साल्मिया, लिरियम, क्याक्टस, बोन्साईलगायत फूल–बिरुवाप्रति आकर्षित भएको पराजुलीले बताए ।

मेलाका संयोजक खगेन्द्र पोखरेलले भने, ‘अन्य उद्योगजस्तै फूलको पनि व्यावसायिक उद्योग भर्खरैदेखि सुरु भएको अवस्थामा सीमित प्रचारप्रसारको भरमा पाँच दिनमा यतिको कारोबार हुनु पुष्प व्यवसायीका लागि सकारात्मक पक्ष हो ।’ मेलामा

सजाएर राखिएकामध्ये उत्कृष्ट स्टल इटहरीको रितु नर्सरी प्रथम, मोरङको दीपेश नर्सरी दोस्रो र धरानको पवित्रा नर्सरीलाई तेस्रो पुरस्कार प्रदान गरिएको थियो । कृषि मन्त्रालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित पुष्प प्रदर्शनीमा २ लाखभन्दा बढीले अवलोकन अनुमान गरिएको छ ।

मुलुकका ३९ जिल्लामा करिब ६ सय ७८ जनाले १ सय ५३ हेक्टर जमिनमा पुष्प व्यवसाय गर्दै आएका छन् । उक्त व्यवसायबाट ४१ हजारभन्दा बढी मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जीविकोपार्जन गर्दै आएको फ्लोरोकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएनले गत वर्ष १ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबरको फूलको कारोबार गरेको जनाएको छ ।

प्रकाशित : माघ २, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?