१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ग्यास उद्योगलाई कारबाही गर्न प्रतिवेदन गृहमा बुझाइयो

सुपर ग्यासमा आगलागी
‘घटना प्राविधिक कारण नभई सामान्य मानवीय त्रुटिले हुन गएको र यसो हुनुमा उद्योग व्यवस्थापनको कमजोरी’
राजु चौधरी

काठमाडौँ — पर्सास्थित सुपर ग्यास उद्योगमा व्यवस्थापन पक्षको कमजोरीले आगलागी भएको ठहर गर्दै आपूर्ति मन्त्रालयले कारबाही गर्न गृहलाई प्रतिवेदन बुझाएको छ । आगलागीबाट तीनजनाको ज्यान गएपछि घटनाको सत्यतथ्य यकिन गर्न आपूर्ति विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन भएको थियो । 

उक्त कमिटीले ‘घटना प्राविधिक कारणबाट नभई सामान्य मानवीय त्रुटिले भएको र त्रुटि हुनुमा उद्योग व्यवस्थापनको कमजोरी देखिएको’ भन्ने निष्कर्षसहित प्रतिवेदन पेस गरेपछि कारबाहीका लागि गृह र प्रधानमन्त्री कार्यालयमा बुझाएको हो ।

‘कमिटीले बुझाएको प्रतिवेदनअनुसार उद्योग सञ्चालक नै दोषी देखिन्छन् । आगलागीबाट घाइते मान्छे मरेको अवस्था छ,’ आपूर्ति सचिव अनिल ठाकुरले भने, ‘रिपोर्ट बनाउने थन्काउने काम हुँदैन । रिपोर्टको आधरमा दोषीलाई कारबाही गर्न प्रतिवेदन गर्न गृहमा बुझाएका छांै ।’ गृहले स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने बताए । उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पनि पेस गरेको मन्त्रालयले जनाएको छ । ‘के गर्न सकिन्छ भनेर मन्त्रालय स्वयंले पनि अध्ययन गरिरहेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन पनि कुरेका छांै,’ उनले भने ।

विभागका महानिर्देशक एवम् कमिटी संयोजक कुमार दाहालका अनुसार टोलीले वीरगन्ज नगरपालिका दमकलका ड्राइभर बरुणकुमार महतो (२० प्रतिशत घाइते), नेपाल ग्यास उद्योग (नारायणी) प्रालि, टेक्निसियन शाहनेन शाह, माननीय प्रदीप यादव, बाराको

लियो ग्यास उद्योग, जिल्ला प्रहरी कार्यालय वीरगन्जका प्रहरी नायब उपरीक्षक राजन लिम्बुलगायतसँग सोधपुछ गरेको थियो ।

‘अध्ययन टोलीले स्थलगत अध्ययन गरी सम्पूर्ण पक्षसँगको बयानका आधारमा प्रतिवेदन बनाएका छौं,’ महानिर्देशक दाहालले भने, ‘प्रतिवेदन गत साता नै पेस गरेका छौं । अब कारबाहीको प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रालयको हो ।’ आपूर्तिमन्त्री जयन्त चन्दले घटनाको जिम्मेवारी उद्योगी स्वयंले लिनुपर्ने बताए । दोषी ठहर भए उद्योगीलाई कानुनअनुसार कारबाहीको दायरामा आउनुपर्ने बताए । ‘आपराधिक लापरबाही भएको छ । त्यसका लागि सोहीअनुसारको कानुन छ,’ मन्त्री चन्दले भने, ‘लापरबाहीअनुसार सम्बन्धित निकायले कारबाही गर्छ ।’

ग्यास उद्योग संवेदनशील क्षेत्र भए पनि कामदाहरूमा सचेतना देखिएको उनले बताए । घटनामा ठूलो धनजनको क्षति हुनु अति दु:खदायी रहेको र यस्ता घटनाहरू दोहोरिन नदिन सरोकारवाला सम्पूर्ण निकायहरू संवेदनशील तथा सचेत हुनु नितान्त आवश्यक भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

‘एलपी ग्यास उद्योगी तथा उपभोक्तालाई एलपी ग्यासको प्रयोगबाट हुने जोखिमका बारेमा आवश्यक सचेत गराउनु उपयुक्त विकल्प हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समितिका सिफारिसहरूबमोजिमका सुझावहरू पूर्ण कार्यान्वयन भएको खण्डमा ग्यास उद्योगहरूमा यस किसिमका दुर्घटनाहरू न्यून हुने देखिन्छ ।’

उच्चस्तरीय कमिटीले निगमका डिपोहरू, ग्यास उद्योग, पेट्रोलपम्पको भौतिक पूर्वाधार, अग्नि सुरक्षा अवस्थालगायत अन्य नियमित अनुगमनका लागि छट्टै निकाय गठन हुनुपर्ने सुझाव दिएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट एलपी ग्यास उद्योगका लागि जारी गरिएको र नेपाल सरकारबाट अनिर्वाय गरिएको मापदण्ड : एनएस ५३३/२०७० को अनिवार्य कार्यान्वयन गराउने, उद्योग परिसरमा रहँदाको अवस्थासम्म बुलेट (टैंक) ड्राइभरको लाइसेन्सलगायतका कागजपत्र उद्योगमा प्रवेश गर्दै लिई इन्ट्री पासको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

उद्योगमा प्रवेश गर्ने टैंकरलगायत अन्य सवारी साधनहरूको विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने, निषेधित क्षेत्रभित्र प्रज्ज्वलनशील पदार्थलगायत मोबाइल फोन आदि लिएर जान निषेध गर्ने, उद्योग परिसर आवजजावत गर्ने सबैको परिचयपत्र लिई प्रवेश पासको व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

स्टोरज बुलेट, टैंक लोडिङ/अनलोडिङ, सिलिन्डर फिलिङ स्टेसन, सिलिन्डर स्टोरेज सिडजस्ता संवेदनशी क्षेत्रहरूलाई निषेधित क्षेत्र कायम गरी कर्मचारी तथ अनुगमनमा आउने सरकारी निकायबाहेक अन्यलाई प्रवेश निषेध गराउने पनि प्रतिवेदनमा उल्लेख छ ।

कम्तीमा उद्योगका सुरक्षा गार्डलगायत प्राविधिक पक्ष हेर्ने, तथा सिलिन्डर भर्ने टंैकर खाली गर्ने, अग्नि सुरक्षाको काम गर्ने, मर्मत गर्नेजस्ता प्राविधिक काम गर्ने कर्मचारीहरूलाई डिपो सुरक्षा तथा अग्नि सुरक्षासम्बन्धी तालिमको नियमित व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

बुलेट खाली गर्ने, निर्देशन भएपश्चात् मात्र बुलेटलाई खाली गर्ने स्थान टीएल/यूजीमा लैजाने र प्राविधिक चेकजाँच गरेपश्चात् खाली गर्ने प्रक्रिया सुरु गर्ने, अग्नि समन उपकरणहरूको नियमित चेकजाँच गरी पर्याप्त संख्यामा राख्ने उल्लेख छ ।

सुक्खा केमिकल पाउडरको यथेष्ट व्यवस्था गर्ने, अग्नि नियन्त्रणका लागि पानीको यथेष्ट व्यवस्था मिलाउने, उद्योग सञ्चालनसम्बन्धी स्टयान्डर्ड अपरेसन म्यानुअलको व्यवस्था गरी सोहीअनुसार उद्योग सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा छ ।

इन्धन लिकेज भएको पत्ता लगाउने डिभाइस जडान गरी अर्लाम सिस्टमको व्यवस्था गर्नुपर्ने, एलपीजी सिलिन्डरमा एनएस : ३७४/२०५३ बमोजिम प्रयोग गरिएका भल्भ फिटिङ मर्मत गरी पुन: प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाउनुपर्ने, भण्डारण ग्यास बुलेटहरूको नियमित हाइड्रोस्टाटिक परीक्षण गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : माघ २, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?