२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोबाइल बैंकिङमा बढ्दो मोह 

वर्षमा सवा १२ लाख ग्राहक थपिए 

काठमाडौँ — एक वर्षमा मोबाइल बैंकिङ उपयोग गर्ने ग्राहक संख्या करिब सवा १२ लाखले बढेको छ । कारोबारका लागि बैंकसम्म पुग्नुनपर्ने, आफूलाई पायक पर्ने स्थान तथा समयमा बैंकिङ कारोबार गर्न सकिने, अनावश्यक झन्झट नहुनेलगायत कारण मोबाइल बैंकिङमा ग्राहकको आकर्षण बढेको हो । यही कारण दैनिक करिब एक लाखजनाका दरले मोबाइल बैंकिङका ग्राहक थपिँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

गत असोजसम्म २९ लाख ८६ हजार ६ सय ६९ जनाले मोबाइल बैंकिङ सेवा उपयोग गर्दै आएका छन् । ०७३ असोजको तुलनामा यो संख्या करिब ७० प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म मोबाइल बैंकिङ उपयोग गर्ने ग्राहकको संख्या १७ लाख ५४ हजार ५ सय ६६ थियो । एउटा व्यक्तिले एकभन्दा बढी बैंकमा बचत खाता खोलेजस्तै मोबाइल बैंकिङमा पनि ग्राहकहरूको ‘डुब्लिकेसन’ रहेको छ । यसकारण पनि यस्ता ग्राहक संख्या छोटो अवधिमा धेरैले बढेको देखिएको हो । पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङमा ग्राहकको आकर्षण उल्लेख्य रूपले बढेको बैंकरहरू बताउँछन् । ‘एन्ड्रोइड’ मोबाइलको प्रयोग बढेसँगै मोबाइल बैंकिङका ग्राहक पनि बढेको उनीहरूको तर्क छ ।

पछिल्ला ५/६ महिनायता बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय भुक्तानी (मोबाइल तथा कार्डमार्फत भुक्तानी आदि) लाई प्रोत्साहित गर्दै आएकाले पनि मोबाइल बैंकिङमा आकर्षण देखिएको हो । हाल केही बैंक तथा वित्तीय संस्थाले मोबाइल तथा कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई नगद छुटको ‘अफर’ पनि ल्याएका छन् । राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने नीति ल्याएकाले बैंकहरूमा उत्साह थपिएको बैंकरहरू बताउँछन् ।

मोबाइल बैंकिङमार्फत सपिङ मलमा सामान किन्न, टिकट बुकिङ गर्न, होटल रेस्टुरेन्ट खर्च तिर्नलगायत विभिन्न किसिमका शुल्क भुक्तानी गर्न पनि सकिन्छ । अहिले आफ्नो खाताको ब्यालेन्स चेक गर्न, कारोबारबारे जानकारी लिन, मोबाइल रिजार्च गर्न, एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गर्नलगायत धेरै प्रकारका भुक्तानीका लागि बैंकसम्म पुगिरहनुपर्ने बाध्यता छैन ।

राष्ट्र बैंकबाट सबै कारोबारमा ग्राहकलाई सूचना (अलर्ट) सुविधा दिन निर्देशन

दिएको छ । यसरी सूचना दिने माध्यम भनेकै एसएमएस हो । यो निर्देशनले मोबाइल बैंकिङ झनै विस्तार भएको हो । यद्यपि सबै बैंकहरूले उक्त निर्देशन पालना गरेका छैनन् ।

गएको १२ महिनामा इन्टरनेट बैंकिङका ग्राहक पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत असोजसम्म इन्टरनेट बैंकिङ उपयोग गर्ने ग्राहक संख्या करिब ६ लाख ६८ हजार छ । ०७३ असोजमा यस्तो संख्या ५ लाख १५ हजार ४ सय ६५ थियो । यसैगरी गत वर्षको असोजको तुलनामा यो वर्षको असोजसम्म एटीएम, डेबिट कार्ड, क्रेडिट कार्डलगायतको संख्या बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत असोजसम्म मुलुकभर सञ्चालनमा रहेका एटीएम संख्या २ हजार २ सय ८७ छ । सोही अवधिमा ५५ लाख ८३ हजार ९ सय डेबिट कार्ड र ७५ हजार ४ सय २५ क्रेडिट कार्ड जारी भएका छन् । ०७३ असोजसम्म १ हजार ९ सय एटीएम सञ्चालनमा थिए । सोही अवधिमा ४६ लाख ५७ हजार डेबिट कार्ड र ५२ हजार क्रेडिट कार्ड जारी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

गत असोजसम्म बैंक तथा वित्तीय संस्थामा २ करोड ५ लाख निक्षेप खाता खुलेका छन् । ०७३ असोजसम्म यस्तो संख्या १ करोड ७५ लाख थियो ।

प्रकाशित : माघ २, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?