१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिहान ११ बजे उत्पादक समय

दिनेश यादव

काठमाडौँ — तपाईलाई कसैले सोध्यो, ‘कार्य दक्षताका आधारमा व्यक्तिको सबैभन्दा उत्पादक समय कुन हो ?’ धेरैको जवाफ ‘बिहान’ भनेर आउन सक्छ । तर कति बजे भन्ने प्रश्नमा धेरैको जवाफ न आउन पनि सक्छ । केहीले कर्मचारीको कार्यालय पुग्ने समयलाई उपयुक्त भन्लान् । हालै कर्मचारी, पेसाकर्मी र व्यक्तिहरूको सबैभन्दा उत्पादक समयबारे गरिएको एउटा अनुसन्धानले बिहान ११ बजेलाई उपयुक्त भनेर ठम्याएको छ । 

बिहान ११ बजे उत्पादक समय

अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको ‘रेडबुथ’ ले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त समयलाई उपयुक्त भनी औंल्याएको हो । व्यक्तिको कार्यस्थलबारे अनुसन्धान गर्ने वेबमा आधारित संस्था ‘रेडबुथ’ ले अक्टोबर २०१६ देखि अक्टोबर २०१७ सम्म सयौं जनालाई सहभागी गराई अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सहभागीको सेवा, योजना तथा तिनको काम गराइलाई पछयाइएको थियो । रातिको १२ बजेदेखि अर्को रातिकै ११ सम्मको समयलाई अनुसन्धानका लागि छनोट गरिएको थियो । ‘बिहान ५ बजेदेखि उकालो लागेको काम गराइ क्षमता ११ बजे पिक प्वाइन्टमा पुग्ने र प्रभावकारी रूपमा काम गर्दा रहेछन्,’ रेडबुथको प्रतिवेदनमा छ, ‘त्यसपछि काम गराइको बक्ररेखा हवात्तै घटेर ओरालो लाग्ने, दिउँसो १ देखि ३ बजेसम्मा समान गतिमा अघि बढ्ने र ५ बजेपछि फेरि ओरालो लाग्दै राति ११ बजे पुग्दा काम गर्ने र पूरा गर्ने सोच सबैभन्दा न्यून विन्दुमा पुग्छ ।’ प्रतिदिनका आधारमा काम सिर्जना गर्ने र पूरा गर्ने प्रतिशत ११ बजे बिहानचाहिँ ९ दशमलव ८ प्रतिशतसम्म रहेको अनुसन्धानले देखाएको छ ।

यसैगरी प्रतिवेदनमा हरेक साताको सोमबारचाहिँ व्यक्तिले गरेको काम सबैभन्दा बढी उत्पादनशील हुने गरेको उल्लेख छ । ‘सोमबार २० दशमवलव ४, मंगलबार २० दशमलव २, बुधबार १९ दशमलव ३, बिहीबार १८ दशमलव ६, शुक्रबार १६ दशमलव ७, शनिबार २ दशमलव ३ र आइतबार २ दशमलव ४ प्रतिशत मात्रै व्यक्तिले गरेको काम उत्पादनशील हुने र काम पूरा हुने गर्छ,’ रेडबुथको प्रतिवेदनमा छ ।

त्यस्तै शरद ऋतु काम पूरा गर्ने सबैभन्दा राम्रो मौसम हो । यो मौसमलाई कामको उत्पादकत्वको हिसाबले सबैभन्दा उपयुक्त मौसमका रूपमा दिइएको छ । शरद ऋतुमा काम पूरा गराइको दर २७ दशमलव ३ प्रतिशत र त्यसपछि गर्मी ऋतु २५ दशमलव ४ प्रतिशत रहेको छ । वसन्तमा २४ दशमलव ५ प्रतिशत र जाडोमा २२ दशमलव ८ प्रतिशत काम पूरा गरिएको अध्ययनका क्रममा पाइएको थियो ।

उत्पादक (प्रडक्टिभ) को हिसाबले अक्टोबर महिना काम पूरा गर्ने सबैभन्दा राम्रो महिना भएको अनुसन्धानले देखाएको छ । ‘रेडबुथ’ का अनुसार अक्टोबरमा ९ दशमलव ५ प्रतिशत काम पूरा गर्ने सम्भावना रहेको हुन्छ । त्यसपछि नोभेम्बरमा ९ र सेप्टेम्बरमा ८ दशमलव ८ प्रतिशत रहेको रिपोर्टमा छ । अनुसन्धानअनुसार सबैभन्दा कम जनवरीमा ७ दशमलव २ रहेको छ । त्यसपछि व्यक्तिको काम पूरा गराइएको गति बिस्तारै–बिस्तारै उकालो लागेको देखिन्छ । अक्टोबरपछिको दुई महिनामा भने ओरालो लाग्ने गर्छ । रेडबुथको प्रतिवेदनमा फेब्रुअरीमा ७ दशमलव ६, मार्चमा ८ दशमलव ३, अप्रिलमा ८ दशमलव १, मेमा ८ दशमलव २, जुनमा ८ दशमलव ४, जुलाईमा ८ दशमलव ६ र अगस्टमा ८ दशमलव ४ प्रतिशत काम पूरा हुने गरेको उल्लेख छ । ‘डिसेम्बरमा भने ८ प्रतिशत मात्रै रहेको पाइयो,’ प्रतिवेदनमा छ ।(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ २, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?