१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्जमा पर्यटक तर्सिन्छन्

शंकर आचार्य

पर्सा — मुलुकको मुख्य स्थल नाका वीरगन्ज अव्यवस्थित र फोहोर हुँदा यहाँ भएर भित्रिने पर्यटक तर्सिने गरेको सरोकारवालाहरूले बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

वीरगन्जमा पर्यटक तर्सिन्छन्

उनीहरूले मुलुकको मुख्य स्थल नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटक यो नाकाको जाम, धूलो, धूवाँ, अव्यवस्थाले तर्सिने गरेको बताए । यहाँबाट भित्रिने पर्यटकहरू यसै कारण एक रात पनि वीरगन्जमा बिताउन नचाहने र सौराहा, काठमाडौं, पोखराजस्ता पर्यटकीय सहर पुग्ने गरेकाले वीरगन्जलाई पर्यटकमैत्री सहर बनाउन आवश्य रहेको सुझाए ।

पर्यटन कार्यालय वीरगन्जका प्रमुख गजेन्द्रप्रसाद यादवले वीरगन्ज नाकादेखि पर्यटकको नेपालबारेको छवि खराब हुने भएकाले यो नाकालाई नै व्यवस्थित बनाउन जरुरी भएको बताए । उनले वीरगन्ज र आसपासका क्षेत्रमा पर्सा निकुञ्ज, गढीमाई मन्दिर, सिम्रौनगढ, घडिअर्वा पोखरी आदि पर्यटनस्थल भए पनि तिनको प्रचारप्रसार नहुँदा यी स्थल ओझेलमा परेको बताए ।

प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्की, वीरगन्ज उद्योग वाणिज्य संघका सदस्य मोहनरञ्जन प्रधान, सञ्चारकर्मी सुरेश बिडारीलगायतले पर्यटक भित्रिने वीरगन्ज नाका फोहोर र अव्यवस्थित हुँदा पर्यटकको नकारात्मक मनस्थिति बन्ने गरेको बताए । प्रउ रेग्मीले भन्सार नाकामा ठूला गाडीलाई पार्किङ व्यवस्था तथा नाकाको मुख्य सडक विस्तारको आवश्यकता औंल्याएका थिए । यसबाट त्यहाँ लाग्ने जाममा कमी आउने उनीहरूको भनाइ थियो । विश्वविख्यात गढीमाई मन्दिरमा पर्यटकलाई लग्न सके उनीहरू कम्तीमा एक रात यहाँ बास बस्ने र यसबाट पर्यटन गतिविधि बढ्ने उनीहरूले बताए । पर्यटक प्रहरी इकाई भृकुटीमण्डप काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले वीरगन्जमै पर्यटक आकर्षित गर्ने र यहीँ रात बिताउने वातावरण बनाउन आवश्यक भइसकेको बताए । उनले यसका लागि वीरगन्जलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन जरुरी भएको बताए । वीरगन्ज मुलुककै पुरानो र सुविधा सम्पन्न सहर भएकाले यहाँका विकासका पूर्वाधारहरूलाई पनि ऐतिहासिक तथा पर्यटकीयस्थलका रूपमा विकास गरेर पर्यटकलाई ती ठाउँको अवलोकन गराउन सकिने उनले सुझाए । यहाँका अस्पताल, क्याम्पसजस्ता १ सय वर्षभन्दा पुराना पूर्वाधारबाट त्यसको सुरुवात गर्न सकिने उनको भनाइ थियो ।

पर्यटक प्रहरी इकाई वीरगन्जका प्रमुख प्रनानि यादव गौतमले गत ३ वर्षमा यो नाकाबाट ५ हजार ६ सय १२ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको बताए । पर्यटक प्रहरी इकाई भृकुटीमण्डपकी प्रमुख प्रहरी निरीक्षक रूपा थापाले गत वर्ष मुलुकमा ७ लाख ३० हजार पर्यटक भित्रिएको र उनीहरूको आगमनबाट कुल गार्हस्थ उत्पादनमा ४ दशमलव ५ प्रतिशत योगदान रहेको बताइन् ।

ठगी, चोरी, गहना चोरी, ल्यापटप, क्यामेरा, मनी ब्याग चोरी, यौन हिंसा आदि नेपाल भित्रिने पर्यटकविरुद्ध हुने अपराध रहेको उनले बताए । गत आवमा यस्ता ६ सय ८७ मुद्दा दर्ता भएकामा तीमध्ये १ दर्जन घटना पर्यटक प्रहरीले आफैं मिलाएको र बाँकी नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताइन्् ।

त्यसैगरी नेपाल भित्रिने पर्यटकले गैरकानुनी पथ प्रदर्शन, गैरकानुनी छायांकन, गलत प्रतिवेदन दिने, प्रहरीलाई आफ्नो मुद्दामा काम गर्न अनावश्यक दबाब दिने, जासुसी गर्ने, लागू औषध कारोबार तथा सेवन गर्ने, नक्कली मुद्रा कारोबारमा संलग्न हुने, यौन अपराध, मानव बेचबिखन तथा एटीएम ठगीजस्ता अपराध कार्य गर्ने गरेको रेकर्ड रहेकाले सबै पर्यटकको गतिविधि स्वच्छ हुने र उनीहरू घुम्ने उद्देश्यले मात्र यहाँ आउने गरेको भनी धारणा बनाउनु पनि गलत हुने उनको भनाइ थियो ।

प्रकाशित : माघ २, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?