३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बल्ल बल्यो चमेलियाको बिजुली

दोब्बर लागत र निर्धारित समयभन्दा ६ वर्ष ढिला 
तत्कालका लागि १५ मेगावाट क्षमताको एक युनिटबाट उत्पादन सुरु
पूरै बिजुली उत्पादन हुन एक महिना लाग्ने
मनोज बडु

दार्चुला — निर्माण सुरु भएको १० वर्षपछि चमेलिया जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । शैल्यशिखर नगरपालिका १ बलाचमा रहेको आयोजनाले शुक्रबारबाट १५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो । 

बल्ल बल्यो चमेलियाको बिजुली

३० मेगावाट क्षमताको उक्त आयोजनाको एक युनिटबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

पिक लोडमा १५ मेगावाट विद्युत् छोडिरहेको र दिउँसो विद्युतको माग कम हुने हुँदा ५ देखि ८ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिएको उनले बताए । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयको समन्वयमा चमेलियाको बिजुली प्रसारण लाइनमा जोडिरहेका छौं । बिहान–बेलुकाको पिक आवरमा बिजुलीको माग अत्यधिक भएकाले १५ मेगावाट नै छोडिएको हो ।’

‘राष्ट्रिय प्रसारण लाइनमा बेलुकी ६ बजेदेखि ८ बजेसम्म चमेलियाबाट उत्पादित बिजुली जोडिएको छ,’ आयोजना प्रमुख दाहालले भने, ‘जनवरी १२ मा ४ मेगावाट पिक आवरमा प्रसारण लाइन जोडिएको थियो । जनवरी १६ बाट १५ मेगावाट बिजुली पठाइरहेका छांै ।’

अत्तरियाबाट चमेलियाको बिजुली कोहलपुरसम्म पठाइरहेको आयोजनाले जनाएको छ । प्राधिकरणको तालिकाअनुसार माघ ४ देखि पिक आवरमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् प्रवाह गर्ने समयतालिका तोकिएको भए पनि करिब साता दिनअघिदेखि नै थोरै बिजुली पठाउन थालिएको आयोजनाले जनाएको छ ।

१५ मेगावाट क्षमताको दोस्रो युनिटको परीक्षण भइरहेको हुनाले आयोजनाले पूर्ण उत्पादन गर्न अझ करिब एक महिना लाग्ने आयोजनाले जनाएको छ । पूर्ण क्षमतामा आयोजना सञ्चालनमा आएपछि वार्षिक १८ करोड ४० लाख युनिट बिजुली उत्पादन गर्नेछ ।

यो पानीको बहाव (रन अफ रिभर) का आधारमा विद्युत् उत्पादन हुने आयोजना हो । यस्ता आयोजनामा हिउँदको समय नदीमा पानी कम हुँदा जडित क्षमताभन्दा कम बिजुली उत्पादन हुन्छ ।

४ वर्षमा सक्ने लक्ष्यसहित निर्माण सुरु भएको सरकारी लगानीको आयोजनामा लागत दोब्बर लागेको छ भने बिजुली उत्पादन सुरु हुन एक दशक लाग्यो । निर्धारित समयभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना पूरै सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

कहिले ठेकेदार त कहिले सरकारी पक्षबाट नै काम रोकिएकाले निर्माणमा ढिलाइ भएको आयोजनाको दाबी छ । ‘आयोजनाको काम अझै ६ प्रतिशत बाँकी छ,’ आयोजना प्रमुख राजेन्द्र मानन्धरले भने, ‘कहिले अनियमितता छानबिन त कहिले भुक्तानी मागका

कारण काम रोकिँदा ढिलो हुँदै आएको छ ।’

आयोजनाको मुख्य काम सिभिलको ठेक्का चाइना गेजुवा कम्पनीले पाएको थियो । इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मेमा सुरु गरिएको थियो । मुख्यतया गेजुवाको लापरबाहीले ढिलाइ भएको हो ।

यससँगै भ्रष्टाचारको आशंकामा संसदीय समितिले पनि काम रोकेको थियो । लेखा समितिले २०७१ असार ६ गते नयाँ काम (भेरिएसन) मा भ्रष्टाचार भएको भन्दै भुक्तानीमा रोक लगाएको थियो । समितिले २०७१ असार १७ गते आयोजनाको खुम्चिएको सुरुङ (८ सय ४३ मिटर) सिधा पार्ने काममा ५४ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरी प्राधिकरणलाई सम्पूर्ण भुक्तानी रोक्का गर्न निर्देश दिएको थियो । प्राधिकरण सञ्चालक समितिले असार ६ गते खुम्चिएको सुरुङ मर्मत गर्न १ अर्ब ९ करोड रुपैयाँ दिन स्वीकृत गरेपछि समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो ।

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको अग्राधिकार स्थानीयको भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयले बिजुली उपभोग गर्न पाउने अवस्था छैन ।

विद्युत् प्राधिकरणको ढिला सुस्तीका कारण चमेलियाको बिजुली यहाँका स्थानीयले तत्काल उपभोग गर्न नपाउने भएका हुन् । प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लाबासी नै वञ्चित भएका छन् । महाकाली नगरपालिका ७ थालीगाडमा चमेलियाको विद्युत् दार्चुलाका विभिन्न ठाउँमा वितरण गर्नका लागि सबस्टेसन निर्माण हुँदै छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?