२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वीरगन्जमा संस्थानले महँगोमा धान खरिद गर्दै

यस वर्ष सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ५ सय २५ र जिरा मसिनोको ३ हजार २ सय
शंकर अाचार्य

पर्सा — यस वर्ष खाद्य संस्थान वीरगन्ज शाखाले गत वर्षभन्दा बढी धानको खरिद मूल्य निर्धारण गरेको छ । मंगलबारदेखि धान खरिद खुला गरेको शाखाले यस सिजनका लागि सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ५ सय २५ र जिरा मसिनोको ३ हजार २ सय रुपैयाँ निर्धारण गरेको हो । 

शाखा प्रमुख पवित्र गौतमका अनुसार गत वर्ष शाखाले सोना मन्सुली प्रतिक्विन्टल २ हजार ३ सय र जिरा मसिनो २ हजार ८ सय ७५ रुपैयाँमा खरिद गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्लास्तरीय प्राथमिक खरिद समितिको पुस ३० मा धानको खरिद मूल्य निर्धारण गरेको गौतमले जानकारी दिए । यस वर्ष शाखाले फागुन मसान्तसम्म धान खरिद गर्ने भएको छ । यस वर्ष निर्वाचनका कारण शाखाले ढिलो गरी धान खरिद खोलेको थियो ।

प्रमुख जिल्ला अधिकारी तथा समितिका अन्य सदस्यको स्थानीय तह, तथा प्रतिनिध एवम् प्रदेश सभा निर्वाचनको कारण व्यस्तता बढेपछि समितिको बैठक नै बस्न सकेको थिएन । समितिले धानको खरिद मूल्य निर्धारण नगरी शाखाले धान खरिद प्रक्रिया सुरु गर्न मिल्थेन ।

समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक, जिल्ला कृषि विकास कार्यालय प्रमुख, स्थानीय खाद्य संस्थान शाखा प्रमुख र एकजना किसान प्रतिनिधि गरी ४ सदस्य हुन्छन् । यसै समितिले निर्धारण गरेको मूल्य संस्थानले धान खरिदका लागि आधिकारिक हुन्छ । मूल्यमा थपघट गर्न समितिको निर्णय नै आवश्यक हुन्छ । मूल्य निर्धारण गर्दा धानको उत्पादन, उपलब्ध हुने क्षेत्र र उपलब्धताको आधारमा सीमावर्ती तथा स्थानीय बजारको गहन विश्लेषण गर्नुपर्ने प्रावधान छ ।

यस सिजनमा शाखाले केन्द्रबाट ४ हजार टन धान खरिदको कोटा पाएको छ । जसमा ३ हजार टन सोना मन्सुली र १ हजार टन जिरा मसिनो धान रहेको छ । गत वर्ष शाखाले ३ हजार ५ टन धान खरिदको कोटा पाएकामा २८ हजार टन धान मात्र खरिद गर्न सकेको थियो । खरिद भएको सबै धान सोना मन्सुली मात्र थियो । जिरा मसिनो धान किसानले बिक्री गर्न ल्याएका थिएनन् । गत वर्ष पुस १७ देखि वैशाख ३१ सम्म शाखाले धान खरिद गरेको थियो ।

यस वर्ष धानको खरिद मूल्य बढी तोक्नुमा धानको उत्पादन कम भएको र पूर्वको लाहान क्षेत्रमा गत वर्षको भन्दा धानको मूल्य बढी रहेकाले सुरुमै खरिद मूल्य बढी निर्धारण गरिएको गौतम बताउँछन् । कम मूल्य हुँदा किसानले संस्थानलाई धान बिक्री गर्न नआउन सक्छन् ।

संस्थानले निजी क्षेत्रका व्यवसायीसँग धानको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा शाखाले गत वर्ष लक्ष्यअनुरूप धान खरिद गर्न सकेको थिएन ।

निजी क्षेत्रले संस्थानले निर्धारण गरेको मूल्यभन्दा सुरुमै केही बढी मूल्य दिने र त्यसपछि क्रमश: बढाउँदै लग्ने गरेकाले संस्थानले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

शाखाले गत वर्ष सुरु खरिद मूल्य प्रतिक्विन्टल २ हजार ३ सय ५० रुपैयाँमै सिजनभरि धान खरिद गरेको थियो । संस्थानले धानको खरिद मूल्य आफैं पुनरावलोकन गर्न नसक्ने र त्यसका लागि स्थानीय प्राथमिक खरिद समितिको बैठकबाटै पारित गर्नुपर्ने भएकाले मूल्य थप घट गर्न अप्ठयारो हुन्छ ।

यस वर्ष पनि संस्थानलाई निजी क्षेत्रले कडा प्रतिस्पर्धा दिने सम्भावना छ । हाल शाखाले निर्धारण गरेको खरिद मूल्यभन्दा निजी क्षेत्रका गल्ला व्यवसायीको धान खरिद मूल्य बढी नै रहेको छ ।

बजारमा हाल सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ५ सय ५० देखि २ हजार ५ सय ७५ रुपैयाँ र जिरा मसिनोको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सयदेखि ३ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?