कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुलुक सवा ९ अर्ब घाटामा

राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौँ — वस्तु व्यापार अनुकूल नभएको र बाहिरबाट आउने रेमिटयान्सको वृद्धि पनि घट्दो क्रममा रहेकाले मुलुक पछिल्लो समय सवा ९ अर्ब घाटामा छ । 

मुलुक सवा ९ अर्ब घाटामा

गत मंसिरमा मुलुकको शोधनान्तर सवा ९ अर्ब रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको हो । बाहय अवस्था सन्तुलित रूपमा अघि बढ्न नसक्नुका साथै रेमिटयान्स वृद्धिदर लगातार घटेपछि शोधनान्तर घाटामा गएको हो । पछिल्ला दुई महिनायता रेमिटयान्स वृद्धिदर ऋणात्मक छ । कात्तिकमा १.५ प्रतिशतले ऋणात्मक रहेको रेमिटयान्स वृद्धिदर मंसिरमा ०.८ प्रतिशतले ह्रास आएको छ । यसकारण मंसिरमा शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २८ अर्ब ७८ करोडले बचतमा थियो ।

आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त रेमिटयान्स आप्रवाहमा कमी आएकाले चालु खाता र शोधनान्तर घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार सार्वजनिक चालु आर्थिक वर्षको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ ।

मुलुकको अर्थतन्त्र धान्ने मुख्य स्रोत रेमिटयान्स वृद्धिदर ऋणात्मक रहेको, निर्यात, पर्यटनलगायत बाहय क्षेत्रमा अपेक्षित सुधार हुन नसेकेकोलगायत कारण शोधनान्तर घाटा रहेको विज्ञहरूको भनाइ छ । शोधनान्तर घाटामा रहँदा खासगरी, विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।

शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो । तर, मंसिरमा शोधनान्तर सवा ९ अर्ब रुपैयाँले ऋणात्मक छ ।

रेमिटयान्स वृद्धिदर घटयो

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरसम्म २ खर्ब ८५ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा रेमिटयानस वृद्धिदर ०.८ प्रतिशतले ऋणात्मक रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स वृद्धिदर ६ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा कमी आएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि पछिल्ला महिनाहरूमा विदेशबाट मुद्रा ओसारपसारमा संलग्न हुन्डीलगायत अन्य गैरकानुनी माध्यमहरू सक्रिया बन्दै गएकाले वैधानिक बाटोबाट आउने रेमिटयान्स आप्रवाह घटेको विज्ञहरू बताउँछन् ।

बजार भाउ बढयो

अघिल्लो महिनाको तुलनामा मंसिरमा बजार भाउ पनि उकालो लागेको छ । कात्तिकमा ३.९ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर मंसिरमा केही प्रतिशत विन्दुले बढेर ४.२ प्रतिशत पुगेको छ । ०७३ मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्य बढेकाले समग्र बजार भाउ उकालो लागेको राष्ट्र बैंकले बताएको छ ।

व्यापार घाटा करिब ४ खर्ब

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै उच्च अंकले बढेको व्यापार घाटा मंसिरमा करिब ४ खर्ब नजिक पुगेको छ । गत वर्षको तुलनामा गत मंसिरमा मुलुकको व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत थियो ।

गएको पाँच महिनामा ३३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले बढेको हो । सो अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । जसमध्ये पशु आहार, वनस्पति घिउ, धागो, जिंक सिट, तयारी पोसाकलगायतको निर्यात बढेको छ । तर, जुस, अलैंची, जीआई पाइप, उनी गलैंचा, तामाका तारलगायतको निर्यात घटेको जनाइएको छ ।

गएको पाँच महिनामा ४ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा आयात १२.८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ ।

जसमध्ये पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनियुल्सलगायतको आयात बढेको छ । तर, कृषि औजार तथा पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्रीलगायतको आयात घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

वित्तीय अवस्था सामान्य

रेमिटयान्स आप्रवाह ऋणात्मक रहेको, व्यापार घाटा अकासिएको, शोधनान्तर घटेकोलगायत अवस्थामा पनि वित्तीय अवस्था सामान्य रहेको राष्ट्र बैंकले दाबी गरेको छ । ‘आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए पनि समग्र वित्तीय अवस्था सामान्य नै छ,’ राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा/निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा राष्ट्र बैंकले लिएको अडान, खुला बजार कारोबार र ब्याजदर करिडोरमार्फत नियमित रूपमा तरलता व्यवस्थापन गरिरहेकाले ब्याजदरमा स्थायित्व देखिन थालेको राष्ट्र बैंकको दाबी छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?