१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डन्डी उद्योगका कच्चा पदार्थ आयातमा अवरोध

भारतीयले रेल्वेले डन्डी उद्योगका कच्चा पदार्थ बोक्न र्‍याक दिएन
शंकर आचार्य

पर्सा — भारतीय रेल्वेले नेपाल आउने छड डन्डी उद्योगका कच्चा पदार्थ आयातमा अप्रत्यक्ष अवरोध खडा गरेको छ । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भारतबाट आयात हुने एमएस बिलेट, एचआर तथा सीआर क्वायल, वायर, रड, प्लेट, एंगल आदिको आयातका लागि भारतीय रेल्वेले र्‍याक कम दिन थालेको हो । 

डन्डीका कच्चा पदार्थ ल्याउन समस्या भएपछि पर्सा–बारा औद्योगिक करिडोरका छड डन्डी उद्योगलाई मार परेको छ । यस कारण करिडोरका जगदम्बा स्टिल, हामा आइरन, हिमाल स्टिलजस्ता उद्योगले विराटनरतर्फको भारतीय रेल्वे स्टेसनबाट यस्ता कच्चा पदार्थ आयात गर्न सुरु गरिसकेका छन् । उनीहरूले त्यहाँबाट करिडोरका उद्योगसम्म ट्रकमा लोड गरेर कच्चा पदार्थ ल्याउन थालेका हुन् । तीन सातायता ७ रेल्वे र्‍याकमा उनीहरूले कच्चा पदार्थ आयात गरिसकेको स्रोतले बताएको छ । भारतीय रेल्वेले डिसेम्बरको तेस्रो सातादेखि नेपाल आउने क्लिंकर लोड अनलोड पनि बन्द गरेको थियो ।


भारतीय रेल्वे एकतर्फी रूपमा करिडोरका सिमेन्ट उद्योगको क्लिंकर लोडअनलोड नगर्ने निर्णय गरी सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर ल्याउने असफल प्रयाससँग जोडिएको छ । नेपाली पक्षको मन्जुरी नमिलेर सुक्खा बन्दरगाहमा क्लिंकर ल्याउने भारतीय रेल्वेको प्रयास असफल भएपछि उसले नेपाली पक्षलाई यस विषयमा गलाउन र मोलतोल गर्न फलाम उद्योगका कच्चा पदार्थको आयातमा कडाइ गरेको अनुमान गरिएको छ ।


हाल भारतीय रेल्वेले करिडोरका फलाम उद्योगका कच्चा पदार्थ बोकेर सुक्खा बन्दरगाह आउने रेल्वे र्‍याक उपलब्ध हुन नसकको भन्दै यहाँका फलाम उद्योगको यस्ता कच्चा पदार्थ ढुवानीको बुकिङ गर्न मानिरहेको छैन । बन्दरगाहमा सन् २००९ देखि फलाम उद्योगका कच्चा पदार्थ आयात हुन थालेकामा यस अवधिमा हालसम्म यस्तो खाले समस्या आएको थिएन । २ वर्षअघिको ६ महिना लामो बन्दहडतालमा पनि यो समस्या नआएकामा हाल भने अचानक समस्या सिर्जना गरिएको छ । डन्डी उद्योगका कच्चा पदार्थमा ६० प्रतिशत एमएस बिलेट, २५ देखि ३० प्रतिशत एचआर क्वायल र सीआर क्वायल र १० प्रतिशत वायर, रड, प्लेट, एंगल हुन्छ ।


करिडोरका एरोटेक, अशोक स्टिल, भगवती रोलिङ, भगवती स्टिल, हिमाल आइरन, हामा आइरनजस्ता कम्पनीले भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । त्यसैगरी हुलास स्टिल, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा स्टिल, नारायणी रोलिङ, नेपाल सिलिन्डर, शालिमार स्टिल, श्रीकृष्ण स्टिल इन्डस्ट्रिज तथा भैरहवाका केही गरी झन्डै डेढ दर्जन उद्योगले पनि बन्दरगाहबाट आफ्ना कच्चा पदार्थ आयात गर्दै आएका छन् । सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको वार्षिक आम्दानीमै यी उद्योगका कच्चा पदार्थको आयातले करिब ४० प्रतिशतसम्म योगदान गरिरहेको छ । यहाँस्थित भन्सार कार्यालयको राजस्वमा पनि यिनै वस्तुले सर्वाधिक योगदान गर्दै आएका छन् । यी वस्तुको आयात घटे टर्मिनल्स आम्दानी र भन्सारको राजस्वमा पनि ठूलो गिरावट आउने सम्भावना छ ।


ठूलो परिमाणमा छड डन्डी उत्पादन गर्ने जगदम्बा स्टिलजस्तो उद्योगले लामो समय रेल्वे र्‍याकको अभावले उत्पादन घटाउन वा रोक्न नसक्ने भएकाले उनीहरूलाई नाका परिवर्तन गरी कच्चा पदार्थ ल्याउनु बाध्यता परेको छ ।


हिमालयन टर्मिनल्सका वित्त प्रमुख एवम् सूचना अधिकारी अनिमेश कुमार पनि भारतीय रेल्वेको र्‍याक नपाउँदा करिडोरका केही फलाम उद्योगले विराटनगरको सीमावर्ती भारतीय सहर जोगबनीबाट आफ्ना कच्चा पदार्थ ल्याउन सुरु गरिसकेको जानकारी दिए । फलाम ढुवानी गर्न भारतीय रेल्वेले हाल सुक्खा बन्दरगाहलाई साविकभन्दा कम रेल्वे र्‍याक दिइरहेको उनले बताए । ‘ठ्याक्कै बन्द त गरेको छैन तर साविकभन्दा कम र्‍याक दिइरहेको छ, पुसमा जम्मा २० वटा र्‍याक आयो, यो साविकभन्दा झन्डै आधाले कम हो, हामीले सोध्दा सुक्खा बन्दरगाहलाई दिने र्‍याकमा समस्या छ मात्र भन्छन्, भारतीय रेल्वेले अहिले नेपालमा निर्माणको सिजन छ, उद्योगहरूले बढीभन्दा बढी डन्डी उत्पादन गर्ने बेला हो यो,’ उनले भने, ‘यस्तो अवस्थामा उद्योग चलाउनै समस्या भएपछि उद्योगहरूले वैकल्पिक नाकातर्फ जानु उनीहरूको बाध्यता हुन्छ ।’ भारतको बंगाल तथा उडिसाबाट यस्तो कच्चा पदार्थ आयात गरिन्छ ।


जगदम्बा स्टिलका डाइरेक्टर अनुराग शर्माले भारतीय रेल्वेले नयाँ नियम बनाउँदै नेपालतर्फको रेल्वे र्‍याक दिन कन्जुस्याइँ गरिरहेको आरोप लगाए । नियमित र सहज कच्चा पदार्थ ल्याउन नसक्दा आफ्नो मात्र नभई करिडोरका अधिकांश छड डन्डी उद्योग सञ्चालनमा ठूलो समस्या आइपरेको उनले बताए । ‘उद्योग बन्द हुने अवस्था आइसक्यो, जोगबनीबाट कच्चा पदार्थ ढुवानी गरी ल्याउन प्रतिकिलो २ रुपैयाँ महगो पर्दै छ,’ शर्माले भने, ‘हामी दोहोरो मारमा परेका छौं, यो समस्या समाधान गर्न नेपाल सरकारले अविलम्ब राजधानीस्थित भारतीय दूतावास र भारतीय रेल्वेसँग वार्ता गर्नुपर्छ ।’

प्रकाशित : माघ ५, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?