३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जाजरकोट–डोल्पा सडक अन्तिम चरणमा

दसैंमा सदरमुकाम र पाँच वर्षभित्र तिब्बती नाका तिन्जे र क्याटोसम्म ट्रयाक खोल्ने जनतासँग प्रतिबद्धता जनाएर हामीले चुनाव जितेका छौं : प्रदेशसभा सदस्य 
जनक नेपाल

नेपालगन्ज — डोल्पालीको भाग्य र भविष्यसँग जोडिएको जाजरकोट–दुनै सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डोल्पा सिमाना खदाङदेखि त्रिपुराकोटबीचको चार किलोमिटर भीर खण्ड मात्र ट्रयाक खोल्न बाँकी छ । 

चालु आर्थिक वर्षभित्रै ट्रयाक खोल्ने लक्ष्य लिइएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । ‘अब ४२ सय मिटर ट्रयाक खोल्नुपर्ने छ । यो कडा चट्टाने भीर खण्ड हो,’ कार्यदल प्रमुख विश्वबन्धु पहाडीले भने, ‘कुनै व्यवधान नआए असार मसान्तभित्र ट्रयाक खोलिसक्ने लक्ष्य लिएका छौं ।’


उक्त खण्डमा सिउडिनी, कालो जाब्ला, बेरुझारे, तपतपे, फुलपाने, यरीपतन, धाउन्ने र चुगाड भीर रहेको समयभित्रै ट्रयाक खोल्न चुनौती भने रहेको महासेनानी पहाडीले बताए ।

उत्तरी सीमा जोड्ने भेरी करिडोरअन्तर्गतको जाजरकोट–दुनै सडक खण्ड ट्रयाक खुलेपछि पनि सहज मोटर चल्ने अवस्था भने छैन । उक्त खण्डमा ६ वटा ठूला पुल निर्माण गर्नुपर्नेमा रिम्ना पुल मात्र बनिसकेको छ । ट्रयाक खुलेपछि नलसिंहगाड, भेरी नदीमा चिसापानी, तल्लुबगर र रुपाने–त्रिपुराकोट पुल निर्माणका लागि सडक विभागले बोलपत्र आह्वान गर्नेछ ।


छिन्चु–जाजरकोट सडक निर्माण पूरा भएसँगै सरकारले ०६४ सालमा सेनालाई दुनै सडक निर्माणको जिम्मा दिएको थियो । जाजरकोट पासागाडबाट दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक खोल्न सुरु गरिएकै आठ वर्ष पुगिसकेको छ । सुरुमै उक्त सडक जाजरकोट हुँदै लैजाने कि रुकुमबाट भन्ने विवाद र राजनीतिक तानातानले दुई वर्ष काम अवरुद्ध भएको थियो । दुवै जिल्ला हुँदै भेरी नदीको वारिपारि गर्दै लैजाने सहमतिपछि आर्थिक वर्ष ०६६/०६७ देखि मात्र सडक निर्माण प्रारम्भ गरिएको थियो । उक्त सडकमा हालसम्म झन्डै ८० करोड रुपैयाँ खर्च भइसकेको छ ।


बर्सेनि बजेट भाषणमा दुई वर्षभित्र निर्माण पूरा गर्ने प्रतिबद्धता गर्ने तर पर्याप्त बजेट नछुटयाउने समस्याले पनि सडक निर्माण ढिलो भएको डोल्पा (ख) प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । पछिल्ला वर्षमा बजेट अभाव नभएपछि सडक निर्माणमा सेनाको कार्यदलले तीव्रता दिएको हो ।


‘सुरुमै जाजरकोट र रुकुमको विवादले दुई वर्ष रोकियो । त्यसपछि केही वर्ष पर्याप्त बजेट आएन,’ उनले भने, ‘हाल बल्ल सडक निर्माणले गति लिएको छ । अब बिनाअवरोध ट्रयाक खुल्ने आशा जागेको छ ।’ सेनाको सडक निर्माण कार्यदलले असार मसान्तभित्र निर्माण पूरा गर्ने बताइहेका बेला शाही भने दसैंसम्म मोटर पुगे खुसी हुने बताउँछन् ।


जाजरकोट–दुनै सडकमा झन्डै ४७ किलोमिटर जाजरकोट खण्ड छ । त्यस्तै त्रिवेणीबाट ३० किलोमिटर रुकुम खण्ड छ भने खदाङदेखि ४१ किलोमिटर डोल्पा खण्ड पर्छ । त्यसमध्ये पासागाड, मन्माई–राडीज्युला, तल्लुबगर, त्रिवेणी बजारसम्म सवारी साधन चल्न थालेका छन् । खदाङसम्म पनि ट्रयाक्टर चल्ने गरेको छ ।


विश्व बैंकको सहयोगमा छिन्चु–जाजरकोट सडक स्तरोन्नति तथा कालोपत्रे भइरहेको छ । उक्त खण्डलाई जाजरकोट–पासागाड हुँदै भेरी करिडोरसम्मै विस्तार गर्न सहजताका लागि ७८ किलोमिटर खण्ड सडक विभागलाई गत वर्षै हस्तान्तरणसमेत गरिएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गत वर्ष साउन २७ मा डोल्पा प्रवेश उद्घाटनलगत्तै सडक हस्तान्तरण गरी स्तरोन्नति तथा कालोपत्रे र पुल निर्माणका लागि बाटो खुलेको महासेनानी पहाडी बताउँछन् ।


सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालले जोडिएपछि भेरी करिडोरको काम उत्तरी सीमातर्फ अघि बढ्ने उनले बताए ।

प्रकाशित : माघ ५, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?