दृष्टिविहीन बोसेल्ली गीत गाएरै अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — एन्ड्रिया बोसेल्ली एकजना इटालेली गायक, गीतकार र गीत रेकर्डर हुन् । सन् १९५८ सेप्टेम्बर २२ मा इटालीको ल्याजाटिकोमा जन्मेका यिनको दृष्टि जन्मजात नै कमजोर थियो । १२ वर्ष उमेरमा फुटबल खेल्ने क्रममा भएको दुर्घटनाका कारण यिनले आफ्नो पूरै दृष्टि गुमाए । तर, यिनको सफलताको कथा सपांगता भएका धेरैलाई मात गर्ने खालको छ ।

दृष्टिविहीन बोसेल्ली गीत गाएरै अर्बपति

यिनले पोप र शास्त्रीय संगीतलाई निकै माथि पुर्‍याउन सफल भए । अझ यिनले रोजेको शास्त्रीय संगीत धेरैका लागि मनोरञ्जनको सामग्री बन्यो । यिनले पोप र शास्त्रीय संगीत दुवै गरी १५ वटा सोलो स्टुडियो एल्बमको सिर्जना गरे, जुन आफैंमा एउटा रेकर्ड हो । तीमध्ये तीनवटा त सर्वाधिक चर्चित रहे । यिनले नौवटा जति ओपेराज पूरा गरे, जसको बिक्री आठ करोडभन्दा बढी भएको थियो, यो पनि विश्वव्यापी रूपमा एउटा रेकर्ड नै हो । बोसेल्लीले अन्तर्राष्ट्रिय पोप चार्टसमा शास्त्रीय संगीतलाई निकै माथि पुर्‍याए । सन् १९८० मा यिनको नाम विश्वका ‘५० सबैभन्दा सुन्दर व्यक्ति’ मा समेत मनोनयनमा परेको थियो । अमेरिकी क्लासिकल एल्बम चार्टमा लगातार तीन वर्षसम्म ‘टप थ्री’ मा परेर बोसेल्लीले आफ्नो नाम ‘गिनिस बुक अफ वल्र्ड’ मा समेत दर्ज गराउन सफल भए ।

बोसेल्ली गर्भमा रहेका बेला चिकित्सकले उनकी आमाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै गर्भ तुहाउन आग्रह गरेका थिए । तर, आमा इडीले त्यो ठाडै अस्वीकार गरेकी थिइन्, शिशुको जन्म जसरी पनि दिने अठोट लिएकी थिइन् । आज त्यही बालक विश्वमा गीतसंगीतबाटै आफ्नो परिचय मात्रै स्थापित गरेको छैनन्, अर्बपतिसमेत बनेका छन् ।

बोसेल्लीको परिवार इटलीको एउटा सानो गाउँ लास्टेर्जास्थित कृषि फार्ममा सानो झुपडीमा बस्थे । उक्त गाउँ इटालीको चर्चित सहर पिसाबाट करिब ४५ किलोमिटर दक्षिणमा अवस्थित छ । सन् २००० मा बोसेल्लीका बुबाको निधन भएपछि परिवारमा बज्रपात नै भयो । यिनकी आमा साहसी थिइन्, पीडालाई ऊर्जामा परिणत गरिन् । साना लालाबालालाई राम्ररी हुर्काइन् । परिवारको दुई छाक टार्नका लागि आमाले कृषिसँग सम्बन्धित यन्त्रहरूको व्यापार थालिन् । त्यसले पनि नपुगेपछि घरमै रक्सी उत्पादन गरी बेच्ने थालिन् । बोसेल्लीका लागि आज पनि त्यो सानो झुपडी प्रिय छ । अझै पनि बोसेल्ली आफ्ना भाइ र आमासँगै त्यही कृषि फर्मस्थित घरमा बस्छन् ।

बोसेल्ली जन्मजात मोतियाबिन्दुबाट पीडित थिए । तर, यिनीमाथि त्यसबेला थप ब्रजपात भयो, जब फुटबल खेलिरहेको बेला आँखामा दुर्घटनाबस चोट लाग्यो र त्यो चोटले यिनको दृष्टि गुम्यो । फुटबल खेल्ने बेला यिनी गोलकिपर बसेका थिए । विपक्षका खेलाडीले हानेको बलले यिनको आँखामा लागेको थियो । चोटले ‘ब्रेन हयाम्रेज’ समेत भएको थियो, यिनलाई । चिकित्सकले बोसेल्लीको दृष्टि बचाउन धेरै प्रयास गरे तर सफल हुन सकेनन् ।

सानै उमेरदेखि यिनको सोख संगीतमा थियो । त्यसैले यिनी कलिलै उमेरमा पियानो, बाँसुरी, स्याक्सोफोन, गिटार र ड्रम सिकिसकेका थिए । सात वर्षकै उमेरमा विश्वका महान् गायकहरूको आवाजलाई सजिलै पहिचान गर्ने समेत भइसकेका थिए । यति मात्रै हैन, ती गायकहरूजस्तै आवाजमा गाउने प्रयास पनि गरेका थिए । त्यही उमेरमा यिनी संगीत प्रतियोगिताहरूमा सहभागी हुँदै आफ्नो गायन र संगीत क्षेत्रमा प्रभावकारी उपस्थिति दर्ज गराउन थालेका थिए । कलिलै उमेरमा बोसेल्लीले ठूल्ठूला संगीत कार्यक्रमहरूको आयोजना गर्न पनि भ्याइसकेका थिए । सन् १९८० मा यिनले आफ्नो स्कुले शिक्षा पूरा गरी पिसा विश्वविद्यालयबाट कानुनको अध्ययन गरे । कानुनमा स्नातकपछि यिनी एक वर्षजति स्थानीय एउटा अदालतमा कानुन व्यवसायीका रूपमा काम गरे । सन् १९८७ मा यिनको भेट इन्ड्रिकासँग भयो, जसलाई मनमनै यिनले आफ्नो जीवनसंगिनी बनाउने सोच बनाए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले पकेट खर्च जुटाउन यिनले साँझको समयमा पियानो बारमा आफ्नो संगीतको प्रस्तुति दिने गरेका थिए ।

बोसेल्लीकी आमाले छोराबारे भन्ने गर्छिन्, ‘यिनलाई संगीतले मात्रै आनन्द दिन्छ, जुन बेला पनि यसैमा झुमिने सानैदेखि यिनको बानी छ ।’ यिनी ६ वर्षको छँदा पियानो सिकेका हुन् । त्यसपछि बाँसुरी, स्याक्सोफोन,

ट्रम्पेट, ट्रम्बोन, गिटार र ड्रम बजाउन सिके । हजुरआमा ओरियानाले ‘फ्रयान्को कोरेली’ को एउटा क्यासेट सुनका लागि दिएपछि त यिनी आफ्नो करियर यसैलाई बनाउने निर्णय गर्न पुगे । बाल्यकालको सबैभन्दा बढी समय यिनले गीतसंगीतमै खर्चेको प्रभावले पहिलो कन्सर्ट आफू जन्मेको गाउँ नजिकै गर्न सफल भए । १४ वर्षको उमेरमा यिनले पहिलो गीति प्रयोगितासमेत जिते । त्यसपछि त यिनको चर्चा झनै हुन थाल्यो ।

सन् १९९२ मा इटालेली ‘रक स्टार’ जुछेरोले एउटा ‘डेमो टेप’ का लागि सुहाउँदो आवाजको खोजीमा थिए, त्यसैक्रममा आयोजित अडियन्समा बोसेल्लीले सहभागी जनाए । यिनको आवाज गायक लुसिआनो पाभारोटीलाई छनोटका लागि पढाइयो । जुछेरोको छनोटमा पाभारोटी परिसकेका थिए । तिनले बोसेल्लीको आवाज सुनेपछि आफ्नो साटो उनलाई छनोट गर्न आग्रह गरेका थिए ।

क्याटेरिना क्यासेल्लीको लगानीमा निर्मित त्यो टेप बोसेल्लीको जीवनमा कोसेढुंगा सावित भयो । बोसेल्लीको हालको प्रबन्धक र उत्पादक पनि हुन्, क्यासेल्ली । एउटा अर्को प्रसंग, जुछेरोले संजोगबस पाभारोटीलाई बोसेल्लीको गीत रेकर्ड गर्न अनुरोध गरेका थिए, जुन बजारमा पठाएपछि पूरै युरोपमा हिट हुन पुग्यो । यसले बोसेल्लीका लागि युरोपियन कन्सर्टको बाटो खोलिदियो । सन १९९३ मा यिनी युरोपेली कन्सर्टका एउटा महत्त्वपूर्ण हिस्सा बन्न पुगे । त्यसपछि यिनको सोलो गीतसंगीतको कन्सर्टको रेकर्डिङको काम सुरु भयो, त्यो पनि चर्चित र लोकप्रिय बन्दै गयो । पछि यिनले मिलानमा आयोजित ठूलो कार्यक्रमका लागि सम्झौता गरे । सन् १९९४ मा बोसेल्लीले चर्चित पोप गायक गेरार्डिना ट्रोभाटोसँगै कन्सर्टहरूमा सहभागी हुने अवसर पाए, त्यसले पनि उनको गायन क्षेत्रलाई थप उचाइमा पुर्‍याइदियो । त्यसपछि यिनी ‘स्यानरेमो म्युजिक फेस्टिभल’ मा प्रवेश गरे, त्यसमा यिनले नवआगन्तुक गायकका रूपमा पुरस्कारसमेत हात पार्न सफल भए । सन् १९९४ मा ‘मारे काल्मो डेला सेरा’ एल्बम निकाले । त्यो पनि चर्चित भयो । सन् १९९९ मा बोसेल्लीले ‘सोङ्गो’ एल्बम निकाले, यो पोप एल्बम चार्टमा विश्वभरि निकै रुचाइयो । यसको एक करोड जति कपी बिक्री भयो । यो एल्बमले उनलाई ‘ग्रयार्मी अवार्ड’ का लागि ‘बेस्ट न्यु आर्टिस्ट’ को रूपमा मनोनयन गराउन सफल भयो ।

सन् १९६१ यता शास्त्रीय संगीत विधामा मनोयन भएको त्यो पहिलो ‘इभेन्ट’ बन्न पुग्यो । सन् २००२ मा यिनको ‘सेन्टिमेन्टो’ एल्बम बजारमा आयो । लोरिन माजेलका साथ लन्डन सिम्फोनी आर्केस्ट्राले त्यो एल्बम निकालेको थियो । यो एल्बमको चर्चा उत्कर्षमा पुगेसँगै उनले विभिन्न अवार्डहरू जित्न सफल भए । सन् २००६ को जनवरीमा भ्यालेन्टाइन दिवस मौसमका लागि ‘एमोरे’ एल्बम निकालेका थिए । सन् २००९ मा यिनले पहिलोपटक क्रिसमस एल्बम ‘माई क्रिसमस’ निकाले । यसमा अंग्रेजी, इटालेली, फ्रेन्च र जर्मन भाषामा कम्पाइलेसन गरिएको थियो । त्यसले त झनै बोसेल्लीको माग श्रोता र दर्शकदीर्घामा हुन थाल्यो । सन् २०१३ मा मेडिटेरियन प्रेमगीतहरू समेटेर ‘प्यासने’ एल्बम निकाले । यो एल्बममा अंग्रेजी, इटालेली, फ्रेन्च र स्पेनिस भाषामा गीतहरूसमेत समावेश

गरिएको छ ।

५९ वर्षीय बोसेल्लीले चारवटा ‘बेस्ट सेलिङ क्लासिकल आर्टिस्ट’ र तीनवटा ‘वेस्ट सेलिङ इटालियन सिंगर’ अवार्डसहित सातवटा विश्व संगीत अवार्ड पाइसकेका छन् । ६ वटाजति क्लासिकल ब्रिस्ट्स अवार्डसमेत यिनले जितिसकेका छन् । सन् १९९२ मा बोसेल्लीले एनरिका केन्जाटीसँग विवाह गरेका थिए । तिनीबाट यिनका दुई सन्तान जन्मे ।

सन् २००२ मा यिनले एन्ड्रिकासँग सम्बन्ध विच्छेद गरे । त्यही वर्ष भेरोनिका बेर्टीसँग सम्बन्ध बनाए, तिनीबाट एउटी छोरी जन्मेकी छिन् । बोसेल्लीले नियमित रूपमा परोपकारी संस्थाहरूका लागि पनि आफ्नो कन्सर्ट गर्दै आएका छन् । तीमध्ये चर्चित कन्सर्टहरूमा न्युयोर्क सहरमा मेमोरियल ‘ग्राउन्ड जिरो’ र इन्डियन सुनामी अपिलका लागि ‘म्युजिक अफ एसिया फेस्टिभल’ पनि हुन् । ‘दि फेमस पिपल’ का अनुसार बोसेल्लीको कुल सम्पत्ति १५ मे २०१७ सम्म १४ करोड ५० लाख अमेरिकी डलर (१४ अर्ब ८२ करोड ६९ लाख ७५ हजार रुपैयाँ) रहेको छ । यिनका सम्पत्तिका स्रोत गीतसंगीतका एल्बम र सांगीतिक कन्सर्टहरू नै हुन् ।

(एजेन्सीहरू)

प्रकाशित : माघ ६, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?