२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मिलेमतोमा बालुवा उत्खनन

सुदीप कैनी

गोरखा — मापदण्ड नै पुरा नगरी अनुमति लिएर सहिद लखन गाउँपालिका–३ को कन्टार बगरमा भइरहेको अनधिकृत बालुवा संकलनमा स्थानीय विकास अधिकारी(एलडीओ) नारायण आचार्यको मिलेमतो रहेको खुलेको छ ।

कन्टार बगरबाट डीएसएन कन्स्ट्रक्सनले जथाभावी बालुवा खोस्रने काम गरिरहेको छ । उक्त फर्म एमालेका स्थानीय कार्यकर्ता आशिष पोखरेल र दीपेश गुरूङको हो । एमाले नेता तथा वडाध्यक्ष गणेश थापाको सिफारिसमा मापदण्ड नै पुरा नगरी एलडीओ आचार्यले बालुवा झिक्ने अनुमति दिएको जिल्ला समन्वय समिति स्रोतले जनाएको छ । स्थानीय तह निर्वाचनमा एमालेबाट प्रमुखको उम्मेदवार भएर पराजित मनोज जोशीको दबाबमा उनले नियम विपरित अनुमति दिएको जिसस स्रोतको दाबी छ ।


‘एमाले नेताहरूले प्रदेश कार्यालयमा सरुवा गरेर लैजाने प्रलोभन देखाएपछि अनुमति दिएको बुझिएको छ,’ जिससका एक कर्मचारीले भने, ‘पैसा लिएर यस्ता काम भएको हुनपनि सक्छ ।’ नदिजन्य पदार्थ उत्खनन गर्न कम्तिमा प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ । ठेक्का आहान नै नगरी स्थानीय विकास अधिकारीको तोकका भरमा अनुमति दिइएको कुनै पनि ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन भएको छैन । स्थानीयबासीले अवरोध गर्दा पनि बालुवा झिक्न अनुमति पाएकाहरूले शक्ति प्रदर्शन गर्दै उत्खनन जारी राखेका छन् । ‘स्काभेटर लगाएर, दिनरात बालुवा झिकेर बेचिएको छ’, स्थानीय एक महिलाले भनिन, ‘हामी हेरेको हेर्‍यै भयौं, बोल्न सक्ने अवस्था छैन ।’


जिल्लास्थित ढुंगागिटी र बालुवा उत्खनन अनुगमन समितिमा समेत छलफल नै नगरी आचार्यले कन्टार बगरमा अनुमति दिएको खुलेको छ । ‘वडाध्यक्षकै सिफारिसमा स्थानीय विकास अधिकारीले बालुवा झिक्ने अनुमति दिन मिल्दैन,’ अनुगमनमा गएका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘वडा अध्यक्षकै सिफारिसका आधारमा अनुमति पाउने भए, जसले जताजता दिएपनि हुन्छ ।’ आचार्यले मापदण्ड मिचेरै सहिद लखन– ४ मा पनि बालुवा झिक्ने अनुमति दिएको खुलेको छ । एलडीओले जनप्रतिनिधि र नेता रिझाउन जथाभावी अनुमति दिने गरेको कर्मचारीहरूले बताए ।


प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने बालुवा झिक्न अनुमति दिएको बारे आफूलाई जानकारी नै नभएको बताएका छन् । ‘केही छलफल पनि भएको छैन,’ उनले भने, ‘कसरी अनुमति दिइएको रहेछ बुझने क्रममा छु ।’ चालु आर्थिक वर्षमा जिल्लाभित्र १ करोड ४७ लाख ३० हजार ७५ रुपैयाँ राजश्व संकलन हुने गरि नदिजन्य पदार्थ संकलनका लागि १७ वटा ठेक्का स्वीकृत भएर सम्झौता भएको छ । यी बाहेक पनि स्थानीय विकास अधिकारीले ठेक्काको सार्वजनिक आहानबिनै स्वेच्छाले व्यक्ति–व्यक्तिलाई अनुमति दिन थालेका हुन् । मस्र्याङदी नदिको कन्टारतालमा २ सय १५ घनमिटर र ठेउवाटार बगरमा ३ सय ७५ घनमिटर बालुवा संकलन गर्न टेण्डरबिनै राजनितिक दबावमा व्यक्तिलाई जिम्मा दिएको खुलेको हो ।


प्रक्रिया पुरा गरेर लाग्ने ठेक्कामा नदिजन्य पदार्थको उत्खनन र निकासीमा समेत उनले असहयोग गर्ने गरेको अनुगमन समिति स्रोतले जनाएको छ । स्थानीयको सूचनापछि जिसस प्रमुख अशोक गुरुङ, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी बेला–बेला घाटहरूको अनुगमनमा जाने गरेका छन् । यसरी जाने टोलीमा एलडीओ आचार्य अनुपस्थित हुने गरेका छन् । अनुगमनमा जाने टोलीमा जिससबाट प्राविधिक समेत नपठाएर असहयोग गरेको नगर प्रमुख पन्तले बताए ।

प्रकाशित : माघ ७, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?