१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अलैंचीको भाउ बढ्यो

लमजुङ — अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य बढेको छ । मूल्य बढ्नुअघि नै यहाँका किसानले अलैंची बेचिसकेका छन् । 

अलैंचीको भाउ बढ्यो

मर्स्याङ्दी–७ छिनखोलाका लालबहादुर तामाङले ६ सय ८० रुपैयाँ प्रतिकिलोमा करिब ६ क्विन्टल अलैंची गत कात्तिकमा बेचेका थिए । पुसयता अलैंचीको मूल्य बढेर १ हजारदेखि १ हजार १ सय रुपैयाँसम्म पुगेको छ ।


‘आफ्नो बेचिसिकियो, अहिले भाउ बढेर आएछ,’ उनले भने, ‘भाउ पनि कहिले घट्ने र कहिले बढ्ने गर्नाले समस्यामा पो परियो ।’ भाउ घट्न सक्छ भन्दै ठेकेदारले छिटो बेच्न भनेपछि किसानले हतार–हतारमा बेचेको क्व्होलासोंथर–८ घाम्राङका ईश्वर गुरुङले बताए । उनका अनुसार भाउ लगातार घट्दै गएपछि चिन्ताले पनि धेरै किसान हतारमा बेच्न बाध्य भएका थिए । ‘भाउको घटबढ थाहा नहुँदा बढेको मूल्य पाइएन । झन्डै आधा घाटा बेहोर्नुपर्‍यो,’ उनले भने, ‘अहिले भाउ बढेको छ । ठेकेदारसँग अलैंची छ, किसानसँग छैन ।’


अलैंची व्यवसायी महासंघका अनुसार जिल्लाका ९० प्रतिशत अलैंची बिक्री भइसकेको छ । यसमा ५ प्रतिशत किसानले मात्रै बढ्दो मूल्य पाएका छन् । ८५ प्रतिशत किसान पुरानै मूल्यमा अलैंची बिक्री गर्न बाध्य भए । अहिले अलैंचीको मूल्य वृद्धिसँगै माग पनि बढेको छ । ६ सय ५० देखि ६ सय ७० रुपैयाँमा बिक्री गरिएको मझौला दाना अलैंचीको मूल्य अहिले १ हजार ५० रुपैयाँ र ६ सय रुपैयाँमा बिक्री भएको चलनचल्तीका अलैंचीको मूल्य बढेर हजार रुपैयाँ पुगेको छ ।


महासंघ जिल्ला शाखा अध्यक्ष अजय तामाङका अनुसार भारतीय एकाधिकार तोड्न नसक्दा किसानले बढ्दो अलैंचीको मूल्य पाउन नसकेका हुन् । ‘भारतीय बजार हेरेर अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य निर्धारण हुने गरेको छ । हामी सीधै तेस्रो मुलुकमा अलैंची बिक्री गर्न चहान्छौं,’ उनले भने । यसअघि ठूलो दानाको २९ हजार, मझौलाको २७ हजार र चलनचल्ती सानो दानाको २७ हजार रुपैयाँ प्रतिमन बिक्री हुँदै आएको थियो । अहिले ठूलो दानाको प्रतिमन ४५ हजार, मझौलाको ४३ हजार र सानो दानाको ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यस वर्ष घटेर ६ सय क्विन्टल अलैंची उत्पादन हुने प्रक्षेपण गरिएको छ । अलैंचीको घट्दो उत्पादन र घट्दो मूल्यले किसानमा निराश छाएको छ । तर, पछिल्लो समयको मूल्यवृद्धि आगामी वर्ष पनि स्थिर राख्न किसानले माग गरेका छन् । कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले अन्तर्राष्ट्रिय बजारमा भारतको अलैंचीको मूल्य कायम हुने र त्यसको मार नेपालका अलैंची कृषकले बेहोर्नुपरेको बताए ।


‘अलैंची विकास बोर्ड गठन गर’

तेह्रथुम– यहाँका किसानले अलैंची विकास बोर्ड गठन गर्न सरोकारवालासँग माग गरेका छन् । अलैंची खेतीमा थुप्रै सम्भावना भए पनि समस्यासमेत उत्तिकै देखा परेको भन्दै किसानले समस्या समाधानका लागि छुट्टै स्वायत्त निकाय गठनको माग गरेका हुन् ।


अलैंची किसान, व्यवसायी र सरोकारवालाबीच ‘विश्व परिदृश्य वकालत मञ्च’ ले गरेको अन्तक्र्रियामा सहभागीले अलैंची खेतीका समस्या समाधानका लागि सरकारीस्तरबाट अलैंची विकास बोर्ड गठनको माग गरेका हुन् । यसैबीच, अलैंचीको बजार मूल्यमा सातायता केही सुधार आएपछि यहाँका किसान खुसी भएका छ । सातायता स्थानीय बजारमा अलैंचीको मूल्य प्रतिमन ४४ हजार रुपैयाँ पुगेको छ । यो साता एकै पटक १६ हजार रुपैयाँले अलैंचीको मूल्य बढेको हो ।


साताअघि जिल्लाका मुख्य बजारहरूमा प्रतिमन २८ हजार रुपैयाँमा अलैंची किनबेच भैरहेको थियो । विगतका वर्षमा प्रतिमन १ लाख १० हजार रुपैयाँमा अलैंची बिक्री भएको थियो । तीन वर्षयता अलैंचीको मूल्यमा निरन्तर गिरावट भैरहेको छ । सातायता अलैंचीको मूल्य निरन्तर बढिरहेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । पूर्वका जिल्लामा उत्पादन भएको अलैंची व्यापारीले झापाको विर्तामोडमा संकलन गरी भारतीय बजारतर्फ पठाउने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालमा उत्पादीत अलैंचीको मूल्य थोरबहुत बढेको व्यापारीको भनाइ छ । मागमा आधारित बजार भएकाले उत्पादन बढी, माग कम भए मूल्य घट्ने र उत्पादन कम भई माग बढी हुँदा मूल्य बढ्ने गरेको महासंघका अध्यक्ष भट्टराईले बताए ।


अलैंची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैंची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीले सुझाव दिएका छन् । अलैंची खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अलैंची नीति ल्याउने तयारी गरे पनि नीति लागू नभएको प्रति व्यवसायीले सरकारलेको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित : माघ ७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?