कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजस्व उठ्तीको तरलतामा असर देखिएन

-अन्तर बैंकदर फेरि ३ प्रतिशत तल-आइतबार बजारबाट २ अर्ब रुपैयाँ उठाइँदै 
यज्ञ बञ्जाडे

काठमाडौँ — राजस्वका रूपमा ठूलो रकम सरकारी खातामा गए पनि बजारमा सूचकहरूले तरलता अभाव नभएको देखाइरहेका छन । पुस मसान्तमा आयकर र अन्य नियमित राजस्वका स्रोतमार्फत करिब ९० अर्बभन्दा बढी रकम सरकारी ढुकुटीमा जम्मा भए पनि तरलताको अवस्था देखाउने एक मुख्य सूचक अन्तरबैंक ब्याजदर शुक्रबार फेरि ३ प्रतिशत तल झरेको छ ।

बैंकहरूले एकअर्कासँग कारोबार गर्दा लाग्ने अन्तरबैंक ब्याजदर दोस्रो पटक ३ प्रतिशत तल झरेको हो । औसत अन्तरबैंक दर शुक्रबार २.८ प्रतिशतमा झरेपछि बजारबाट पैसा उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।


तरलता उचित व्यवस्थापन गरी ब्याजदर वाञ्छित सीमामा राख्ने उद्देश्यले ल्याइएको ब्याजदर करिडोर लागू भएपछि अन्तर बैंक ब्याजदर न्यूनतम ३ प्रतिशत तल जाँदा तरलता प्रशोचन गर्ने प्रचलन थालिएको छ । यसैगरी अधिकतम ५ प्रतिशत नाघे बजारमा रकम पठाइन्छ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेकाले आइतबार बजारबाट २ अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘ब्याजदर करिडोरप्रति इमानदार हुनका लागि पनि निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट पैसा उठाउन लागिएको हो,’ उनले भने, ‘आइतबार ३ प्रतिशत ब्याजदरमा बजारबाट पैसा उठाउँदै छौं ।’ बजारमा तरलता सहज बन्दै गएकाले अन्तरबैंक दर घटेको उनले बताए ।


राष्ट्र बैंकले सूक्ष्म रूपमा बजारको नियमन तथा सुपरिवेक्षण गरिरहेको जनाउँदै उनले भने, ‘अहिले बजारमा अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेक पनि पर्याप्त तरलता छ,’ उनले भने, ‘यसकारण भुक्तानी प्रणालीमा कुनै समस्या हुँदैन ।’ यद्यपि अन्तरबैंक दर ३ प्रतिशत तल झरेकाले सांकेतिक रूपमा बजारबाट पैसा झिक्न लागिएको हो । राष्ट्र बैंकले आइतबार ३ प्रतिशत ब्याजदरमा बजारबाट उक्त रकम उठाउनेछ । शुक्रबारसम्म बैंकिङ प्रणालीमा २४ अर्ब रुपैयाँ अधिक तरलता रहेको थापाले बताए ।


बजारमा पैस पठाउने उद्देश्यले राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र खरिद गर्न चाहे पनि बैंकहरूले ४० करोड रुपैयाँ मात्र लगेको थापाले बताए । ‘१० अर्ब रुपैयाँमा बैंकहरूले ४० करोड रुपैयाँ मात्र लगेका छन्, यसले बजारमा पर्याप्त तरलता रहेको संकेत गर्छ,’ उनले भने । चालु आर्थिक वर्षको हालसम्म पटकपटक गरी २५ अर्ब ६७ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गरेको उनले बताए ।


बैंकहरूले निक्षेप वृद्धिका लागि कुनै पहल नगरी कर्जा विस्तारमा मात्र ध्यान दिएकाले वित्तीय प्रणालीमा असन्तुलन देखिएको उनको भनाइ छ । उनले भने, ‘बैंकहरू ग्रामीण क्षेत्रमा पनि जानुपर्‍यो, निक्षेप संकलनका लागि नयाँनयाँ योजना ल्याउनुपर्‍यो, बैंकमा आफैं निक्षेप आउला र लगानी गरौंला भन्ने प्रवृति देखाउन भएन ।’


उता बैंकहरूले निर्देशित सीआरआर कायम गर्न (तरलता कायम गर्न) पैसा भए पनि लगानी विस्तारमा समस्या भएको बताएका छन् । ‘सीआरआर कायम गर्न पर्याप्त स्रोत छ, बैंकहरूसँग थप लगानी विस्तार गर्न पैसा नभएको हो,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यसकारण अझै केही दिन केही बैंकहरूले कर्जा प्रवाह रोक्ने देखिन्छ ।’ यही कारण दीर्घकालीन रूपमा बजारमा तरलताको दीर्घकालीन स्रोत व्यवस्था सरकार र राष्ट्रसमक्ष आग्रह गरिएको बैंकहरूले बताएका छन् ।


बजारमा ऋणको माग निरन्तर रूपमा बढी रहेको तर, सो अनुपातमा निक्षेप बढ्न नसकेपछि सरकारले निक्षेप वृद्धिका दीर्घकालीन स्रोतहरू खोजी गरिरहेको छ । यसका लागि विभिन्न उपाएहरू खोजी भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताएका छन् ।


लामो समयदेखि रोकिएको ऐनसेलको लाभांश लैजान अदालतले बाटो खोलिदिएपछि पुस अन्तिम साता करिब ७ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । सोही समयमा राजस्वमार्फत ठूलो रकम सरकारी ढुकुटीमा गएकाले बैंकहरू तरलता अभाव हुने डरले आत्तिएका थिए । सोही कारण बैंकहरूको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा पनि चाप पुगेको थियो । यसकारण राष्ट्र बैंकले आक्रामक रूपमा कर्जा विस्तार नगर्न बैंकहरूलाइ नैतिक दबाब दिइरहेको छ । यसकारण केही बैंकहरूले थप कर्जा विस्तार रोकेका छन ।


राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.७ प्रतिशतले बढेको थियो । यस्तै, मंसिरसम्म कुल आन्तरिक कर्जा २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा प्रवाह १६.२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।


गत पुस २४ गते अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि २५ गते राष्ट्र बैंकले निक्षेप संकलनमार्फत बजारबाट २ अर्ब रुपैयाँ झिकेको थियो । त्यतिबेला बैंकहरूले करिब ४ अर्ब रुपैयाँ प्रस्ताव गरेका थिए । १४ दिनका लागि उठाइएको उक्त रकमको परिपक्को अवधि यही साता सकिँदै छ । त्यसपछि त्यो रकम फेरि बैंकिङ प्रणालीमा आउनेछ ।

प्रकाशित : माघ ७, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?