कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पक्की पुलले जोडियो राडी–रिम्ना

हरि गौतम

रुकुम (पश्चिम) — ठूली भेरी नदीमा बनेको पुलले रुकुम पश्चिमको राडी र जाजरकोटको रिम्नालाई सडक सञ्जालले जोडेको छ । पुलबाट मालबाहक मात्रै होइन यात्रुबाहक सवारी साधनसमेत निर्वाध रूपमा चल्न थालेका छन् । स्थानीय व्यापारीलाई सामान ओसारपोसार गर्न र सर्वसाधारणलाई आवतजावतमा सजिलो भएको छ । 

पक्की पुलले जोडियो राडी–रिम्ना

नेपाल खाद्य संस्थानको शाखा कार्यालय दुनै र डिपो कार्यालय जुफाल डोल्पामा पुर्‍याउनुपर्ने मध्ये अधिकांश चामल यो वर्ष ट्रकमार्फत राडी पुगेको छ । सुर्खेत तथा नेपालगन्जबाट चामल लोड गरिएका ट्रक सिधै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ को राडीसम्म पुगे । यसअघि ट्रक, ट्रयाक्टर वा अन्य ढुवानीका साधनमार्फत जाजरकोटको रिम्नासम्म मात्रै पुग्ने गरेको थियो । रिम्नासम्म मालबाहक साधनले पुर्‍याएको चामल वा अन्य सामग्री रुकुम पश्चिम तार्न मानिसले पिठयुँमा बोक्नुपर्ने बाध्यता थियो । पुलले रिम्नाबाट ठूली भेरी तार्न मात्रै होइन राडीसम्म पुर्‍याउन पनि पिठयुँमै बोक्नुपर्ने बाध्यता

हटेको छ ।

उक्त पुल बनेपछि राडी र रिम्ना मात्रै जोडिएका छैनन् । राडीदेखि जाजरकोट, नेपालगन्ज र सुर्खेतसम्मको यात्रा पनि सहज भएको छ । आठबिसकोट नगरपालिका हँुदै नेपालगन्ज, सुर्खेत जाने डोल्पालीलाई सजिलो भएको छ । नेपालगन्ज, सुर्खेत जानलाई रुकुम पश्चिमको मुसीकोट वा पैदलै रिम्ना पुग्नुपर्ने बाध्यता अब टरेको डोल्पाको त्रिपुराकोट नगरपालिका ८ पहाडाखालीका धनप्रसाद गिरीले बताए । ‘गाडी चढेरै नेपालगन्ज, सुर्खेत जानुपरे रुकुमको सदरमुकाम मुसीकोट जानुपर्ने र रिम्नाबाट गाडी चढ्नुपरे राडीदेखि रिम्नासम्म पैदलै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने । जाजरकोटको भेरी नगरपालिका १ रिम्नादेखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ जोडिएपछि राडी–रिम्ना झन्डै २० किमि लामो सडक खण्डमा सवारीका साधन निर्वाध चलेका छन् । सोझै राडीबाट जाजरकोट, नेपालगन्ज र सुर्खेत सवारीका साधन पनि चल्न थालेका छन् । दिवा र रात्रि सेवाका सवारी साधनहरू राडीबाट चल्न थालेका हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, डोल्पाका दक्षिण भेग तथा जाजरकोटका नलगाड नगरपालिकाका अधिकांश सर्वसाधारणको पैदल यात्रा अब २० किलोमिटर छोटो भएको छ ।


उक्त सडकको राडीभन्दा माथिको खण्डमा पनि गाडी त चलेका छन् तर पुल नहुँदा धेरै ठाउँमा पैदलै हिँड्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडीबाट नलगाड नगरपालिका ८ जाजरकोटको बगराम्म पुग्न झोलुंगे पुल तर्नुपर्छ । जाजरकोट नलगाड नगरपालिका १२ तल्लुबगरदेखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ चिन्नेबगर पुग्न अर्को झोलुंगे पुल पैदल तर्नुपर्छ । दुई ठाउँमा ठूली भेरी तर्न ३ वटा गाडी फेरेर चढ्नुपर्ने बाध्यतामा सर्वसाधारण छन् । यति गर्दा पनि गाडी फेर्नुपर्ने तथा झोलुंगे पुल तर्नुपर्ने बाध्यता सकिँदैन । आठबिसकोट नगरपालिका ६ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको करबगार तर्न पनि झोलुंगे पुल तर्नैपर्छ । करबगार ठूली भेरी नदी होइन यो सहायक खोला मात्रै हो । यसैगरी डोल्पाकै भू भागमा पनि दुईवटा झोलुंगे पुल तर्नुपर्छ । ठूली भेरी तर्न खदाङदेखि खदाङ एउटा र त्रिपुराको सुपपानी अर्को झोलुंगे पुल तर्नुपर्ने बाध्यता छ । स्थानीय चौगार तर्नलाई त्रिपुराकोट–सुपपानी झोलुंगे पुल तर्नुपर्छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने ७ पुलमध्ये रुकुम पश्चिमको आठबिसकोट १४ र जाजरकोटको भेरी नगरपालिका १ जोड्ने एउटा मात्रै पुल बनेको छ । उक्त सडक खण्डमा पर्ने राडी–मन्मै वा बगरा, तल्लुबगर–चिन्नेबगर, त्रिवेणी–करबगार, डोल्पाको खदाङ–खदाङ र डोल्पाकै त्रिपुराकोट–सुपपानीमा मोटरेबल पुल बनेपछि मात्रै गाडी परिवर्तन नगरी सिधै जाजरकोटदेखि डोल्पाको दुनै पुग्न सम्भव छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?