१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

परिसूचक र कारोबार दुवै घटे

काठमाडौँ — सोमबार सेयर बजार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा गिरावट दरमा भने कमी आएको छ । सोमबार नेप्से परिसूचक ०.५८ अंकले घटयो । अघिल्लो दिन नेप्से करिब ४ अंकले घटेको थियो ।

अघिल्लो दिनको तुलनामा सोमबार बजारमा निकै उतारचढाव देखियो । सुरुदेखि नै उतारचढावपूर्ण रहेको बजार अन्तत: ०.०४ प्रतिशतले घटेर १ हजार ४ सय २.०९ विन्दुमा बन्द भएको हो । परिसूचक ऋणात्मक देखिए पनि सामान्य अंकको मात्र गिरावट रहेकाले यसलाई नेप्से स्थिर रहेको रूपमा पनि विश्लेषण गर्न सकिने विज्ञहरू बताउँछन् ।


उक्त दिन विकास बैंक, वित्त कम्पनी, बिमा, ‘अन्य’ र लघुवित्त समूहको परिसूचक घटे । तर, बैंकिङ, व्यापार, होटल, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढे ।


सोमबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । करिब ४ हजार कारोबारबाट १ सय ६३ कम्पनीका ९ लाख ५४ हजार ६ सय ३० कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । आइतबार ५० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) सामान्य घटेर १६ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।


केवाईसीमा कडाइ

काठमाडौं– धितोपत्र बोर्डले सेयर कारोबार गर्दा खुलाउनुपर्ने ग्राहकको विवरण (केवाईसी) परिमार्जित गरी केही कडा बनाएको छ । ‘धितोपत्रसम्बन्धी ऐन नियम तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनहरूको व्यवस्थालाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जाने क्रममा सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीले राख्नुपर्ने केवाईसी परिमार्जित एवं विस्तृत रूप समयसापेक्ष बनाइएको छ,’ सोमबार बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले सेयर ब्रोकरहरूलाई कारोबारमा सहज हुनुका साथै जोखिम पनि कम हुने बोर्डले दाबी गरेको छ ।


परिमार्जित केवाईसीमा ग्राहकको परिवारका सदस्यहरूको विवरण, पेसागत विवरण, ग्राहकको बसोबास गर्ने स्थानको नक्सा, इन्भेस्टमेन्ट कम्पनीमा संग्लन भएनभएको विवरण, धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनविपरीत आर्जन नगरेको उद्घोषण,. कम्पनी/संस्थाको हकमा दर्तासम्बन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तीनपुस्तेलगायत थप गरिएको छ ।

प्रकाशित : माघ ९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?