दशकमा सेयरबाट सवा ८ अर्ब लाभकर

यज्ञ बञ्जाडे

काठमाडौँ — गएको एक दशकमा सेयर लगानीकर्ताले सरकारलाई पुँजीगत लाभकरबापत करिब सवा ८ अर्ब रुपैयाँ बुझाएका छन् । आर्थिक वर्ष ०६४/६५ देखि ०७३/७४ सम्म कर पुँजीगत लाभकरबापत लगानीकर्ताले कुल ८ अर्ब ३० करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेका हुन् । यसका आधारमा सेयर लगानीकर्ताले हरेक वर्ष औसत ८३ करोड रुपैयाँका दरले पुँजीगत लाभकर बुझाउँदै आएको देखिन्छ ।

दशकमा सेयरबाट सवा ८ अर्ब लाभकर

यो सेयर बेच्दा भएको नाफामा लगानीकर्तालाई लाग्ने कर हो । यसकारण लगानीकर्ताले पुँजीगत लाभ भएको अवस्थामा मात्र यस्तो कर तिर्नुपर्छ । लगानीकर्ताले खरिद गरेको भन्दा कम मूल्यमा सेयर बिक्री गरेको अवस्थामा उसलाई पुँजीगत लाभ भएको हुँदैन । यसकारण त्यस्तो अवस्थामा पुँजीगत कर तिर्नुपर्दैन । विद्यमान कानुनी व्यवस्थाअनुसार सेयर कारोबारमा संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत पुँजीगत कर तिर्नुपर्छ । यस्तो कर बुझाउन लगानीकर्ता कर कार्यालय जानुपर्दैन । नेपाल स्टक एक्सचेन्जले यस्तो कर संकलन गरी सरकारलाई बुझाउँछ ।


एक दशकमा पुँजीगत लाभकरको वृद्धि ६६.६६ प्रतिशतले भएको देखिन्छ । आर्थिक वर्ष ०६४/६५ मा पुँजीगत लाभकरबापत ८७ करोड रुपैयाँ संकलन भएकामा गत आर्थिक वर्षसम्म आइपुग्दा यो बढेर १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । उक्त अवधिमा दुई–पटक (आर्थिक वर्ष ०६६/६७ र ०६९/७० मा) पुँजीगत लाभकरको रकम घटेर क्रमश: २६ करोड र १६ करोड रुपैयाँमा झरेको छ । ती वर्षहरूमा नेप्से परिसूचक घटेर तल झरेकाले पुँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । अन्य कुरा यथावत् रहेको अवस्थामा लाभकर र नेप्से परिसूचकबीच सकारात्मक सम्बन्ध देखिन्छ । यसको अर्थ नेप्से परिसूचक बढ्दा पुँजीगत लाभकर पनि बढने र घटदा घट्ने भन्ने हो ।


गत एक दशकमा नेप्से परिसूचक करिब ६४ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष ०६४/६५ को अन्त्यमा ९ सय ६३ अंकमा रहेको नेप्से गत असारसम्म १ हजार ५ सय ८२ विन्दुमा पुगेको छ । यसले पनि एक दशकको अवधिमा नेप्से परिसूचकको वृद्धि र पुँजीगत लाभकरको वृद्धिदर लगभग समान रहेको देखाउँछ । यसकारण सेयर बजार बढदा लगानीकर्ता सरकार धितोपत्र व्यवसायी सबैलाई फाइदा पुग्ने विज्ञहरू बताउँछन् । यो अवधिमा नेप्सेमा तीव्र उतारचढाव भएको छ भने तुलनात्मक रूपमा पुँजीगत लाभकर संकलन स्थिर छ ।


‘सेयर बजार बढ्दा चक्रीय रूपमा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हुन्छ,’ इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने । यसकारण सरकारले सेयर बजार वृद्धिका लागि विशेष पहल गर्नुपर्ने उनको आग्रह छ । अहिले सरकारले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन लागेको प्रसंग स्मरण गर्दै उनले भने, ‘सरकारले सेयर कारोबारमा भ्याट लगाएर पुँजीगत लाभकरबापत आउने अर्बौं रकम गुमाउन खोज्दै छ ।’


नेपाली सेयर बजार पूर्ण रूपमा परिपक्वको नभएको अवस्थामा भ्याट लगाएर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको उनको भनाइ छ । ‘गत वर्ष मात्र पुँजीगत लाभकरमार्फत करिब साढे १ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा गएको छ,’ पौडेलले भने, ‘आउँदा दिनमा यो अझै बढ्ने निश्चित छ तर भ्याट लागू भएमा यस्तो लाभकर उच्च दरले घट्छ ।’


सरकारले हाल प्रत्येक कारोबारमा नाफा भए लाभ कर उठाउँछ । ‘अन्तर्राष्ट्रिय स्तरमा कारोबारलाई अल्पकालीन र दीर्घकालीन भनेर छुटयाइन्छ अनि अल्पकालीन लाभमा मात्र कर लगाइन्छ । हाल लाभ कर संकलन गर्ने पद्धतिमैत्री नभएको गुनासो लगानीकर्ताले गर्दै आएका छन् ।


पछिल्ला वर्षहरूमा सेयर बजारमा केही राम्रा काम पनि भएका छन् । आउँदा दिनमा विकास प्रक्रियामा झन् तीव्रता आउने भएकाले पुँजीगत लाभकरमार्फत सरकारलाई ठूलो आम्दानी प्राप्त हुने जानकारहरू बताउँछन् ।

प्रकाशित : माघ ९, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?