कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ठगिँदै उखु किसान

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको चिनी उद्योगले बिचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएको गुनासो बढेको हो । 

ठगिँदै उखु किसान

सुस्ता नगरपालिका ४ की सोनिया राजभरलाई छोरीको बिहे गर्दा लागेको ऋण तिर्न रकम अत्यावश्यक थियो । तौल केन्द्रमा जाँदा नगद लिने भए प्रतिक्विन्टल ४ सय ३० र उधारो बेच्ने भए सरकारले निर्धारण गरेपछि भुक्तानी दिने भन्दै तौल केन्द्रका बिचौलियाले पुर्जी काट्न थाले । चर्को ब्याजदरमा ऋण लिएकी उनले मूल्य कुरेर बस्नुभन्दा सस्तोमा नै भए पनि बेचेर ऋण घटाउन बिचौलियाकै मूल्यमा उखु बेचिन् । पुरानो मूल्य ५ सय ३१ रुपैयाँ यसपालि बढ्नुपर्नेमा किसानले चार वर्ष पहिलेको मूल्यमा भुक्तानी बुझ्नुपर्ने बाध्यता छ ।


उखुको पकड क्षेत्र जिल्लाको दक्षिणी भेगका अधिकांश किसानले बिचौलियालाई अघिल्लो वर्षको मूल्यभन्दा प्रतिक्विन्टल १ सय देखि १ सय ५० रुपैयाँसम्म घाटा खाएर उखु बेचिरहेका छन् । त्रिवेणी नर्सहीका भगवान् दासको मुख्य आम्दानी भनेकै उखु खेती हो ।


वर्षौंदेखि उखुको भरमा परिवार पाल्दै आएका छन् । पहिले धेरै क्षेत्रफलमा उखु भए पनि बिस्तारै घटदो अवस्थामा छ । उद्योगलाई आफ्नो क्षमताअनुसार क्रसिङ गर्न उखुको अभाव हुँदासमेत उचित मूल्य नपाउँदा पिरलोमा छन् । ‘उखु अभाव हुँदासमेत उद्योगी आफैंले बिचौलिया लगाएर सस्तोमा खरिद गरिरहेका छन् ।’ उनले भने, ‘किसानलाई तौलमा ठग्ने, बिक्री पुर्जी सस्तोमा खरिद गरी ३ वटै चिनी मिल नै एक भएर ठगिरहेका छन् ।’ उत्पादन कम हुने भएपछि मूल्य पाउने आशामा बसेका किसानलाई उद्योग आफैंले भित्री रूपमा तौल केन्द्र राखेर सस्तोमा उखु खरिद गर्न बिचौलिया लगाएको दासले बताए ।


लुम्बिनी चिनी मिल सुनवलका प्रबन्धक बाबुलाल अग्रवालले भने उद्योग आफैंले कहीँ पनि त्यस्तो नगरेको बताए । ‘गाउँमा नै कसैले किसानको दु:खको फाइदा उठायो होला, उद्योगबाट त्यस्तो काम भएको छैन,’ उनले भने, ‘कसैले आफ्नो उद्योगको नाममा त्यस्तो गरेको भए प्रशासनले कारबाही गरे हुन्छ ।’ उखु उत्पादन कम हुँदा उद्योगले आफ्नो क्षमताअनुसार चल्न नसकेको बताए ।


मासिँदै उखु खेती

समयमा मूल्य निर्धारण नहुनु र मूल्यसमेत सस्तो भएपछि पश्चिम नवलपरासीमा उखु खेती मासिँदै गएका छन् । हिजोआज किसान उखु खेती छाड्दै छन् । उखु उत्पादनमा अग्रणी जिल्लामा पछिल्लो समय उखु मासेर मकै, कोदो, धान तथा अन्य बाली लगाउन थालेका छन् । जिल्लामा कुल २५ देखि ३० लाख क्विन्टलसम्म वार्षिक उखु उत्पादन हुने गरेको भए पनि हाल २० लाख क्विन्टको मात्रै हुन थालेको उखु उत्पादक कृषक समूह नवलपरासीका अध्यक्ष उमेश यादवले बताए । केही वर्ष पहिले १२ हजार हेक्टरमा गरिने उखु खेती हाल ५ हजार हेक्टरमा झरेको छ । बिचौलिया र उद्योग व्यवस्थापनले समयमा भुक्तानी नदिँदा किसान थप मर्कामा परेका हुन् ।

प्रकाशित : माघ ९, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?