२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सेयर भर्न झन् सजिलो

काठमाडौँ — सेयरमा लगानीका लागि फारम भर्न घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्था अहिले छैन । आस्बा (एप्लिकेसन सर्पोटेड बाई ब्लकेड एमाउन्ट) लागू भएदेखि लगानीकर्ताले लाइन बस्नुपर्ने झन्झटबाट छुटकरा पाएका छन् ।

यो प्रक्रियालाई झनै सजिलो बनाउन सीडीएस एन्ड क्लियरिङले नयाँ प्रणाली लागू गरेको छ । सी–आस्बा (सेन्ट्रलाइस्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स) नामक उक्त प्रणालीले सेयर लगानीकर्ताले घरमै बसिबसी आफूले चाहेको कम्पनीको प्राथमिक निष्कासन (आईपीओ/एफपीओ), हकप्रद सेयर र बोनस सेयर भर्न सक्नेछन् । सीडीएसले मंगलबारदेखि लागू गरेको ‘धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका ०७४’ मार्फत उक्त व्यवस्था ल्याइएको हो ।


सी–आस्बा आस्बाकै परिस्कृत रूप हो । बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको खातामा नै सेयरमा आवेदन दिए बराबरको रकम रोक्का राखेर आवेदन दिन सकिने व्यवस्था आस्बा प्रणाली हो । तर, सी–आस्बामा धितोपत्र खरिदसम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा डिम्याट खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्कासन प्रक्रियामा संलग्न निकायलाई एकै स्थानबाट केन्द्रीकृत रूपमा निष्कासनसम्बन्धी आवश्यक सेवा प्रदान गरिन्छ । आस्बामा ती सबै विशेषता हुँदैन । यो प्रणाली लागू भएपछि अब लगानीकर्ताले आस्बामा जस्तो बैंक नै पुगेर सेयरमा आवेदन दिनुपर्ने अवस्था अन्त्य भएको सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए । ‘मंगलबार (माघ ९ गतेदेखि सबै प्रकारको निष्कासनमा सी आस्बा अनिवार्य भएको छ,’ उनले भने, ‘अब कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारणले बाँडफाँडबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’


सि–आस्बा लागू भएपछि फाराम भर्न नमिलेको कारणले लगानीकर्ता बाँडफाँटबाट वञ्चित हुनुनपर्ने, सी–आस्बामा एकपटक दर्ता भइसकेका लगानिकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सकिने, निष्कासन बन्द भएको छोटो समयमा नै बाँडफाँट गर्न सकिने गुप्ताले बताए । यो प्रणाली लामो समय परीक्षणपछि लागू गरिएको हो । यसअघि हिमालयन पावर पार्टनरको आईपीओ निष्कासनमा यस्तो परीक्षण गरिएको थियो । हालसम्म २५ वटा बैंक तथा वित्तीय संस्था सी–आस्बा प्रणालीमा आबद्घ भई सेवा दिइरहेको सीडीएसले जनाएको छ ।


सीआरएन नम्बरमार्फत लगानीकर्ताको सम्पूर्ण विवरण थाहा हुने भएकाले एउटै कम्पनीको सेयरमा एकजना लगानीकर्ताले एकभन्दा बढी फारम भर्न नमिल्ने सीडीएसले बताएको छ । ‘यो प्रणालीमार्फत सेयर फारम भर्दा डुब्लिकेसन पूर्ण रूपमा नियन्त्रण हुन्छ,’ गुप्ताले भने ।


सी–आस्बा के हो ?

सी–अस्बा आस्बाकै परिष्कृत रूप हो । बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको खातामा नै सेयरमा आवेदन दिए बराबरको रकम रोक्का राखेर आवेदन दिन सकिने व्यवस्था आस्बा प्रणाली हो । तर, सी–अस्वामा धितोपत्र खरिदसम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा डिम्याट खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्कासन प्रक्रियामा संलग्न निकायलाई एकै स्थानबाट केन्द्रीकृत रूपमा निष्कासनसम्बन्धी आवश्यक सेवा प्रदान गरिन्छ । यो प्रणाली लागू भएपछि लगानीकर्ताले आस्बामा जस्तो बैंक नै पुगेर सेयरमा आवेदन दिनुपर्ने अनिवार्य हुँदैन । लगानीकर्ताले आफू रहेको स्थानबाटै इन्टरनेटमार्फत आवेदन दिन सक्नेछन् ।


कसरी फाराम भर्ने ?

सी–आस्बामार्फत सेयर फारम भर्दा लगानीकर्ताले सुरुमा आफ्नो खाता रहेको बैंकमा गएर ‘सी आस्बा रजिष्ट्रेसन नम्बर’ (सीआरएन) लिनुपर्छ । यो नम्बर लिँदा बैंकले तपाईसँग डिम्याट खाता नम्बरलगायत केही विवरण माग्छ । यी सबै विवरणहरू लगानीकर्ताको सीआरएन नम्बरमा रजिस्ट्रेसन हुन्छ । त्यसपछि लगानीकर्ताले त्यही सीआरएन नम्बरका आधारमा सधैंभरि सेयर फारम भर्न सक्छन् । अरू कुनै विवरण आवश्यक पर्दैन । यो नम्बर सोही बैंकमा रहेको खातामार्फत सेयर भर्नका लागि मात्र हो । यदि लगानीकर्ताले अर्को बैंकमा रहेको खातामा रहेको पैसाले सेयर भर्न चाहेमा पुन: सम्बन्धित बैंकमा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरका आधारमा लगानीकर्ता आफैंले सीडीएसको ‘मेरो सेयर’ नामक एप्लिकेसनबाट पनि फाराम भर्न सक्छन् । यसका लागि सीडीएसको वेबसाइटमा गएर ‘मेरो सेयर’ खोल्नुपर्छ । त्यसमा डिम्याट र सीआरएन नम्बर हालेर सेयरमा फाराम भर्न सक्छन् । यदि कुनै लगानीकर्ता आस्बामा जस्तै अहिले पनि बैंकमार्फ लगानी गर्न चाहेमा बैंकमा गएर सीआरएन नम्बर र खरिद गर्न चाहेको कित्ता मात्र उल्लेख गरे पुग्छ । यसकारण यो प्रणालीमार्फत सेयर भर्न सजिलो, छिटो र पारदर्शी हुने देखिएको हो ।


नेप्से १४ सय तल

काठमाडौं (कास)– पछिल्ला दिनहरूमा लगातार घटिरहेको नेप्से मंगलबार १ हजार ४ सय तल ओर्लेको छ । उक्त दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९.०५ अंकले घटेर १ हजार ३ सय ९३.०४ विन्दुमा ओर्लेको छ । योसँगै नेप्से २३ दिन अघिको तहमा ओर्लेको हो । गत पुस १६ गते नेप्से परिसूचक १ हजार ३ सय ९०.५८ विन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से पुस अन्तिम सातासम्म १ हजार ४ सय ५६.०७ विन्दुको उच्च तहमा पुगेको थियो । त्यो (पछिल्लो उच्च तह) विन्दुबाट ओरालो लागेको नेप्से मंगलबारसम्म आइपुग्दा १ हजार ३ सय ९० नजिक झरेको हो ।


उक्त दिन कारोबार सुरु भएदेखि ओरालो लागेको बजार अन्त्यसम्म थामिएको थिएन । यद्यपि कारोबार सुरु भएको एक घण्टापछि गिरावटको दर भने साँघुरिएको थियो । त्यसपछि सम्हालिँदै अघि बढेको नेप्से अन्तिम समयमा उच्च दरले बढेर बन्द भएको थियो । करिब ३ हजार ८ सय कारोबारबाट १ सय ५५ कम्पनीका ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३२ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ । योसँगै बजार पुँजीकरण पनि घटेर १६ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।


कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से करिब दोहोरो अंकले घटेको हो । उक्त दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने स्थिर छ । बैंकिङ समूहको परिसूचक ०.५५, व्यापारको ०.२५, होटलको १.७४, विकास बैंकको ०.२२, जलविद्युतको १.५७, वित्त कम्पनीको ०.५३, बिमाको १.२२, ‘अन्य’ को ०.०५ र लघुवित्त समूहका परिसूचक ०.५५ प्रतिशले घटे ।

प्रकाशित : माघ १०, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?