१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यालयमा नि:शुल्क कम्प्युटर शिक्षाको तयारी

क्यान इन्फोटेक सुरु

काठमाडौँ — सरकारले ३ वर्षभित्र सबै विद्यायलमा नि:शुल्क कम्प्युटर शिक्षा दिने तयारी गरेको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको सूचना प्रविधि मेला (क्यान इन्फोटेक) बिहीबारबाट उद्घाटनपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका हुन् ।

विद्यालयमा नि:शुल्क कम्प्युटर शिक्षाको तयारी

उद्घाटन कार्यक्रममा उनले २०१८ लाई डिजिटल वर्षका रूपमा मनाउन व्यवसायीहरूलाई प्रस्ताव गरेका छन् । उनले सूचना प्रविधिका क्षेत्रमा सरकारले गरिरहेको कामबारे जानकारीसमेत गराएका थिए । ‘सबै विद्यालयमा अनिवार्य नि:शुल्क कम्प्युटर शिक्षाका लागि काम गरिरहेको छ,’ उनले भने, ‘तीन वर्षभित्र यो काम पूरा गर्नका लागि तपाईहरूको सहयोग आवश्यक छ ।’ हाल उक्त कार्यक्रममा १४ जिल्लामा चलिरहेको उनले बताए ।


सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित २ सय २२ स्टल रहेको मेला आगामी १६ गतेसम्म चल्नेछ । क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीका उत्पादन, स्टार्ट अप र स्वदेशी प्रविधिका लागि छुट्टाछुट्टै स्टलहरू राखिएका छन् । ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ नाम दिइएको मेलाका लागि हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू रहेका छन् । ट्रसमा १४४, खाली ठाउँहरूमा १४ र फुड स्टलहरू १० गरी २ सय २२ स्टलहरू रहेका छन् । उक्त स्टलमा १ सय ५५ कम्पनीहरूको सहभागिता रहेको महासंघले जनाएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयहरूबाट अग्रिम रूपमा लिखित अनुरोध गरी उनीहरूले पठाएको नामावलीका आधारमा विद्यार्थीलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको छ । क्यान महासंघले अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटको अफर ल्याएको छ । उक्त टिकटको भुक्तानी ई–सेवामार्फत हुने व्यवस्था मिलाइएको छ । उद्घाटन भएकै दिनबाट मेलामा अवलोकनकर्ताको भीड लाग्न थालेको छ ।


सूचना प्रविधिको क्षेत्रमा क्यान महासंघले ठूलो योगदान पुर्‍याएको भए पनि सरकारको दृष्टिकोणमा परिवर्तन नआएको महासंघका अध्यक्ष हेमन्त चौरसियाले बताए । ‘यो क्षेत्रलाई कहिले विज्ञान प्रविधि, कहिले सूचना तथा सञ्चार मन्त्रालय मातहत राख्ने गरिएको छ,’ उद्घाटन कार्यक्रममा उनले भने, ‘सूचना प्रविधिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएन भने नेपाल अझै पछि धकेलिने निश्चितप्राय: छ ।’ सरकारको साथ भएमा आगामी तीन वर्षभित्र ई–नेपाल (सूचना तथा सञ्चारयुक्त मुलुक) बनाउन सकिने उनले बताए । सन् १९९२ देखि क्यान महासंघले क्यान इन्फोटेक गर्दै आएको छ । इन्फोटेकमा एक दिन बिजनेस डेका रूपमा कार्यक्रम गर्ने गरेको छ ।


प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स्बारे जानकारी लिन सकिनेछ । यस वर्षको इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्ट अप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले छुट्टै सफ्टवेयर प्याविलोन निर्माण गरेको जनाएको छ । सफ्टवेयर प्याविलोनका लागि ४४ वटा स्टल सहभागी भएका छन् ।

प्रकाशित : माघ १२, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?