कोरलाको विशाल फाँट उपयोगविहीन

विनोद त्रिपाठी

मुस्ताङ — चीनसँग जोडिएको कोरला नाका नपुग्ने जो– कोहीलाई लाग्न सक्छ, यो नाका हिमालको टुप्पोमा छ, भीरैभीर होला, डरलाग्दो छाँगो होला । कतिलाई अनुमान यो पनि होला कि मान्छे बस्नै नमिल्ने खण्डहर होला । 


तर, कोरला फाँट काठमाडौं उपत्यकाजस्तै विशाल समथर जमिनमा फैलिएको छ । कोरलासँग जोडिएको नेपालको भूभाग उपत्यकाको संरचनामा छ । चीनतर्फको भूभाग त्यहाँको सरकारले विभिन्न संरचना निर्माण गरी उपयोग गरिसकेको छ । तर, नेपालले आफ्नो तर्फको यो विशाल फाँट उपयोग गर्ने कुनै योजनै अघि सारेको छैन ।

Yamaha


वरिपरि स–साना हिमालले घेरिएको कोरला फाँट पोखरा र काठमाडौं उपत्यकाको समथर भागभन्दा ठूलो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल जंगलको भाग छाडेर ३ सय हेक्टर छ । तर, कोरलाको समथर भूभाग ३ हजार ५ सय हेक्टरमा फैलिएको छ । यहाँ कुनै अग्ला डाँडा र ठूला हिमाल छैनन् । साना थुम्काजस्ता हिमालले घेरिएको छ ।

चीनले आफ्नो समथर भूमिमा ठूला भवनहरू, अन्डरग्राउन्ड सडक, बाहिरी सडक, सुरक्षा क्याम्पका विभिन्न संरचना बनाइसकेको छ । तारबार क्षेत्र र सिमानामै चीनका सुरक्षाकर्मीहरू चौबीसै घण्टा खटिएका हुन्छन् । रातमा चीनतर्फ बिजुलीको झिलिमिली हुन्छ । नेपालतर्फको जमिनमा कुनै संरचना नबनेकाले शून्य देखिन्छ । २०७२ मंसिरमा तत्कालीन सार्वजनिक लेखा समिति सभापति रवीन्द्र अधिकारी कोरला भ्रमणमा आउँदा यो फाँटको उपयोग गर्न सकिने बताएका थिए । त्यसयता सरकारले कोरलाको समथर भूभाग प्रयोग गर्ने कुनै योजना ल्याएको छैन ।

यसअघिका सरकारले यहाँ राख्ने भनिएका सेनाको ब्यारेक, सशस्त्र प्रहरी क्याम्प (बीओपी) यो फाँटभन्दा तल भिरालो जमिनमा राख्ने निर्णय गरिसकेको छ । सेनाको ब्यारेक २५ किमि तल लोमान्थाङ र सशस्त्रको १४ किमि तल नेचुङ भन्सार कार्यालयसँगै राख्नेगरी लालपुर्जा वितरण गरिसकेको छ ।

भविष्यमा कोरला नाका खुल्यो भने हुनुपर्ने सम्भावित संरचना बन्दरगाह, ठूला गोदाम भन्सार कार्यालयमै राख्ने प्रारम्भिक निर्णय गरिएको छ । तर, कोरलाको विशाल फाँटलाई यी सबै संरचनाका लागि उपयोग गर्न सकिने यहाँका जानकारहरू बताउँछन् ।

प्रदेश सांसद तथा मुस्ताङबाट नेपाल–चीन व्यापार गर्दै आएका इन्द्रधारा विष्टले कोरलाको समथर जमिनमा लाखौं कन्टेनर अट्ने भएकाले दक्षिण एसियाकै ठूलो सुक्खा बन्दरगाह बन्न सक्ने तर्क सुनाउँछन् । ‘अबको २/४ वर्षमा पोखराबाट सोझै पक्की सडक कोरला आउने भएकाले यो नाकाको विशेष महत्त्व हुन्छ, सडक निर्माणसँगै यो विशाल फाँटको उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्छ,’ उनले भने, सडक बनेपछि त कुनै न कुनै दिन कोरला नाका खुल्ला । नाका खुल्नुअघि नै हामीले यो समथर जमिनको उपयोग गर्नेबारे गम्भीर बन्नुपर्छ ।’ कोरलाको जमिनमा बन्दरगाह र सरकारी कार्यालयहरू राख्न उपयुक्त भएको उनी बताउँछन् ।

यो जमिनमा ओरालो भिरालो कहीं छैन । हिउँ नपर्दा बाक्लो घाँसे मैदानजस्तो देखिन्छ । वर्षको ३ महिना हिउँ पर्ने भएकाले चीनले हिउँमा निर्माण गरिरहेको संरचनालाई नेपालले पछयाउनुपर्ने सिमानाका बासिन्दाको भनाइ छ । चिनिया जनता बस्न सक्छन् भने हामी किन बस्न सक्दैनौं, सरकारले चाहनुपर्छ, यो नेपालकै मानव निर्मित ठूलो उपत्यका बन्ने आँकलन स्थानीयको छ । ‘बिजुली पुर्‍याएर ताता घरहरू निर्माण गर्न सकियो भने कोरलाको जमिन उपयोग गर्न कठिन छैन,’ नेचुङका समाजसेवी कर्मा सन्तुक गुरुङ भन्छन्, ‘यत्रो ठूलो मिलेको जमिनलाई सरकारले अब प्रयोगमा ल्याउनुपर्छ । हामी यहींनजिकै बसिरहेका छौं भने त्यति ठूलो फराकिलो जमिनमा बस्न नमिल्ने कुरै छैन ।’ यो सम्भावना बोकेको कोरला उपत्यका हुने उनले सुनाए ।

कोरलाको जमिन मुस्ताङको तल्लो भेकभन्दा फरक छ । तलतिर बालुवा मिश्रित सुक्खा जमिन छ । तर, कोरलाको जमिनमा माटो अधिक छ । माटो भएकाले यहाँ प्राकृतिक घाँस उम्रिएर हरियो देखिन्छ । हिउँदमा हिउँपर्ने भएकाले सुक्खा तर निर्मल हावा बहन्छ । जमिनको सतह र यसको नक्साको आकार मिलेको अध्ययनकर्ताको बुझाइ छ । मुस्ताङमै रहेर ३ वर्ष नापीमा काम गरेका र कोरला नाका सिमानामा राख्ने सुरक्षा अड्डाहरूको नापनक्सामा खटिएका नापी अधिकृत खिमलाल गौतम भन्छन्, ‘कोरलाको समथर जमिन प्राकृतिक दृष्टिकोणले मानिस बस्न उपयुक्त जमिन हो । सेनाको ब्यारेक र सशस्त्रको क्याम्प राख्ने काममा म २ वर्ष खटिएँ, तल्लो भेकभन्दा कोरला फाँट निकै राम्रो जमिन हो ।’

नक्सामा पनि कोरला फाँट ३५ वर्ग किमिमा फैलिएको समथर भूभाग उल्लेख रहेको उनले बताए । ‘तल्लो भेकमा ठूला हिमाल र अग्ला डाँडा छन्,’ उनी भन्छन्, ‘तर कोरला तराईजस्तो मिलेको जमिन छ, यसको प्राकृतिक संरचनै उपत्यकाजस्तो भएकाले बस्ती राख्न सकिन्छ ।’

यहाँको जमिन सरकारी भएकाले निजी क्षेत्रको संरचना निर्माण गर्न सरकारले स्वीकृति दिनुपर्ने हुन्छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय व्यापारका लागि यो भूमि उपयोग गर्न सक्ने अनुमान चीनतर्फ व्यापार गर्नेहरूले बताउँदै आएका छन् । सरकारी बन्दरगाह, गोदाम घरहरू, कार्यालयबाहेक पनि निजी क्षेत्रले व्यापारिक प्रयोजनका लागि स्वीकृत दिने प्रावधान भए जमिन उपयोग गर्न सकिन्छ । केरुङ, तातोपानीलगायत उत्तरतिरका नाका मध्ये यति ठूलो जमिन कोरलाबाहेक अन्त छैन ।

Esewa Pasal

प्रकाशित : माघ १४, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हिउँ परेपछि मुस्ताङ सेताम्मे

विनोद त्रिपाठी

मुस्ताङ — मंगलबार राति एक्कासी बढेको चिसोले मुस्ताङका अधिकांश बस्तीमा हिमपात भएको छ । तल्लो भेगमा पानी परेको छ भने उपल्लो क्षेत्रका भू-भागमा हिमपात भइरहेको छ। 

सदरमुकाम जोमसोम बजार लगायत वरपर क्षेत्रमा बुधबार आज बिहानीदेखि नै हिमपात भएको हो। हिउँ घाँसा, टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनी लगायतका क्षेत्रमा धेरै परेको छ। अग्ला डाँडाहरु सेताम्मे देखिएका छन्। जोमसोम बजार सेतै देखिएको छ। मुक्तिनाथ मन्दिर र यो क्षेत्र वरपर हिउँले पुरै डाँडाहरु हिउँले सेता बनेका छन्।

बजारमा भन्दा अन्य गाउँवस्ती र उच्च पहाडमा अत्यधिक परेको जोमसोम विमानस्थल तापमापन केन्द्रले जनाएको छ। मंगलबार रातिदेखि नै जोमसोमको न्युनतम तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेडमा झरेको छ।

हिउँ परेपछि घर बाहिरको जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि घर बाहिर कोहि निस्कन सकेका छैनन्। पसलहरु बन्द छन्। आन्तरिक पर्यटक आएका छैनन्। चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरु होटलमा बसेका छन्। साना होटलहरु बन्द छन्। सरकारी कार्यालयमा कर्मचारी निकै कम छन्। कार्यालय कुर्न बसेका कर्मचारी कोठा भित्रै बस्न बाध्य छन्।

चार वर्षपछि जोमसोममा हिउँ देखिएको निर्वाचन कार्यालयका कर्मचारी छत्रदास बैरागीले बताए। 'खेतीपातीलाई पुग्नेगरी अझै हिउँ परेको छैन,' उनले भने। धेरै सरकारी कार्यालयमा कर्मचारी बसेका छैनन्। सेवाग्राही कोही पनि नआउने भएकोले अधिकांश कर्मचारी बिदा मिलाएर घर गएका छन्।
हिउँ जोमसोम बजारमा भन्दा वरपरका डाँडामा धेरै परेको छ। जोमसोममा भन्दा तल लेते र कोवाङमा धेरै हिउँ परेको स्थानीयको भनाइ छ। उपल्लो मुस्ताङमा हिउँ नपरेपनि अत्यधिक चिसो बढेको छ। यो मौसममा मुस्ताङका घरहरुमा अधिकांश स्थानीय बसेका छैनन्। चिसो छल्न सबैजसो पोखरा, काठमाडौं, चितवन, वुटवल र भारत तर्फका विभिन्न सहरमा पुगेका छन्।

जोमसोम विमानस्थल तापमापन शाखाका अनुसार, चिसो बढेकोले हवाइयात्रुको चाप निकै कम भएको छ। नेपालीहरुको ओहोरदोहोर शुन्य जस्तै छ। तेस्रो मुलुकका पर्यटकहरु चिसोमा खेल्न आउने भएकोले अहिले दैनिक १/२ उडान मात्र भएको छ।

जोमसोमको अधिकतम तापक्रम माइनस २ र न्युनतम तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको बिमानस्थल कार्यालयले जनाएको छ। ‘न्युनतम तापक्रम कम भएकोले हिउँ परेको हो,’ बिमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले भने, 'हिउँ परेपनि तुवाँलो नलागेकोले उडानमा समस्या भएको छैन।’ हिउँसँगै पानी परेकोले आकाश खुलेको उनले जानकारी दिए।

प्रकाशित : माघ १०, २०७४ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT