१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेश राजधानीको विमानस्थल साँघुरो

सुर्खेत — एउटै प्रदेशमा सम्भवत: सबैभन्दा धेरै विमानस्थल प्रदेश ६ मै छन् । मोटरबाटो नपुगेका हुम्ला र डोल्पासहित १० जिल्ला रहेको प्रदेशमा १० वटा विमानस्थल छन् । तर, सर्वसाधारणले भने भरपर्दो र सहुलियत दरमा हवाई सेवा लिन पाएका छैनन् । 

प्रदेश राजधानीको विमानस्थल साँघुरो

सुर्खेतस्थित विमानस्थल साँघुरो हुँदा ठूला जहाजको अवतरण कठिन भई सुर्खेत–काठमाडौं सीधा हवाई सम्पर्कसमेत छैन । त्यसैले प्रदेश ६ को प्रस्तावित राजधानी सुर्खेतले छिमेकी प्रदेशको नेपालगन्ज विमानस्थलमा भर पर्नुपरेको छ । साँघुरो विमानस्थलका कारण ठूला जहाजले उडान भर्न सकेका छैनन् । त्यसैले सुर्खेत विमानस्थलबाट हेलिकप्टर, सिंगल इन्जिन र टीनेटर जहाजको मात्र उडान भइरहेका छन् । ‘विमानस्थल विस्तार गर्नसमेत नमिल्ने अवस्थामा छ,’ नागरिक उड्डयन प्राधिकरणका प्रमुख विनोद पन्तले कान्तिपुरसित भने, ‘त्यसैले साना जहाजले मात्र सेवा दिइरहेका छन् ।’

सुर्खेत विमानस्थलबाट हुम्ला सिमकोट, डोल्पा, मुगु ताल्चा र जुम्लामा उडान हुँदै आएका छन् । कालिकोट विमानस्थल परीक्षणपछि उडान भरिएको छैन । मुगुको रारा विमानस्थल प्रयोगविहीन छ । त्यस्तै चौरजहारी विमानस्थलमा पनि फाट्टफुट्ट मात्र उडान हुने गरेको छ । यात्रु र कार्गोको चाप हुने विमानस्थलमा पनि विमान कम्पनीहरूले सुर्खेतबाट नियमित उडान भर्दैनन् । उडानहरू यात्रुभन्दा कार्गो ओसार्न धेरै हुने गरेका छन् । गत महिना शीतलहर र कुहिराको मौसमी प्रतिकूलताले नेपालगन्जबाट उडान नभएपछि जहाजहरूले सुर्खेतबाट उडान भरेका थिए । एकैदिन ५२ वटासम्म उडान भएको पन्त बताउ‘छन् । अरू दिन दैनिक आधा दर्जन उडान मात्र नियमित हुने गरेका छन् ।

पर्याप्त धावनमार्ग अभावका कारण सुर्खेत विमानस्थलले उड्डयन सेवा दिन नसकेको हो । विमानस्थलमा उडान तथा अवतरमा भौगोलिक रोकावट (एप्रोच प्याटर्न) ले कर्णाली क्षेत्रका जिल्लामा समेत नियमित उडानसमेत प्रभावित हुने गरेको छ ।

विमानस्थल वरिपरि नजिकै अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या उत्पन्न हुने गरेको छ । विमानस्थलको उत्तर–दक्षिण रनवेका कारण विमानलाई उडान र अवतरणमा कठिनाइ भएको पन्त बताउँछन् । उनले भने, ‘अग्लाअग्ला पहाडले ठूला जहाजलाई उडानमा प्राविधिक समस्या भयो । एप्रोच प्याटर्नका कारण धावनमार्ग बढाउनसमेत नसकिने स्थिति छ ।’

विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण दिशामा हुँदा विस्तार गर्न कठिनाइ भएको हो । अहिले धावनमार्गको लम्बाइ १२ सय ५५ र चौडाइ ३० मिटर छ । पर्याप्त धावनमार्ग नहुँदा ठूला विमान कम्पनीले सुर्खेत–काठमाडौं उडान भर्न नसकेका हुन् । नागरिक उड्डयन कार्यालयले ठूला जहाज ल्याउन निजी वायु सेवा कम्पनीलाई पत्राचार गरेको थियो । आग्रहअनुसार बुद्ध एयरले ०७० सालमा १८ सिटे जहाजबाट साताको तीन दिन सुर्खेत–काठमाडौं उडान भरेको पनि हो । तर, रन वेको समस्या देखाउँदै उसले आठ महिनामै सेवा बन्द गर्‍यो । बुद्ध एयरका ४२ सिटे र यतीको २९ सिटे जहाजले पनि रनवे र अवतरणकै समस्या देखाएर नमानेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यात्रुबाहक हवाई सेवा कम भएपछि सुर्खेत कार्गो बेस विमानस्थल बन्न पुगेको छ । सिम्रिक, काष्ठमण्डप, गोमा, मकालु, तारा, सीता एयरले सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान भर्दै आएका छन् । विमानस्थल समस्याकै कारण यस प्रदेशको प्रशासनिक सेवा र पर्यटन व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो छ । सिद्धार्थ बिजनेस गु्रपका प्रदेश ६ प्रबन्धक कृष्ण भण्डारी विमानस्थलको समस्याले पर्यटक र पर्यटन व्यवसायी दुवैलाई समस्या भएको बताउँछन् । उनले भने, ‘प्रदेश राजधानीमा राम्रो एयरपोर्ट नहुँदा काठमाडौंबाट सीधै पर्यटक आउने स्थिति छैन । त्यसले समय र खर्च दुवै बढेको छ ।’

मानसरोवर तीर्थयात्रु, रारा र से फोक्सुन्डो जाने यात्रुलाई सीधै काठमाडौं–सुर्खेत ल्याउन सके पर्यटन व्यवसायले उत्साहजनक फडको मार्ने उनी बताउँछन् । यो प्रदेशको पर्यटन प्रवद्र्धन र तीव्र आर्थिक वृद्धिका लागि नयाँ विमानस्थल पहिलो प्राथमिकतामा पर्नुपर्ने भण्डारीले बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विमानस्थल साँघुरो हुँदा समग्र आर्थिक गतिविधि प्रभावित भएको बताए । ‘प्रादेशिक संरचनामा ठूलो विमानस्थलकै खाँचो छ । हामीसँग मध्यममस्तरको पनि भएन,’ उनले भने, ‘छिटो नयाँ विमानस्थल निर्माण गर्न बारम्बार ध्यानाकर्षण गराइरहेका छौं ।’


अन्तर्राष्ट्रिय विमानस्थलको तयारी

वीरेन्द्रनगर विमानस्थल साँघुरो भई ठूला जहाजका लागि प्रयोगविहीन बनेपछि

पूर्वी सुर्खेतको मदानेचौरलाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गरिने भएको छ ।

गत आर्थिक वर्षमा भूगर्भविद्हरूका साथै तीनवटा कन्सल्टेन्सीले टेक इन्जिनियरिङ, इन्जिनियरिङ एन्ड एजुकेसनल सर्भिसेस प्रालि र ओनट एन्ड आर्किटेकले सर्भे गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन टोलीले पनि मदानेचौरमा विमानस्थल निर्माण गर्न सकिने प्रतिवेदन पेस गरेको थियो । विमानस्थल निर्माणमा करिब सात अर्ब रुपैयाँ लागत लाग्ने टोलीको अनुमान छ ।

उक्त स्थानमा लम्बाइ १२ किमि र चौडाइ ४ किमि रहेको क्षेत्रफल छ । तर, विमानस्थल निर्माणका लागि १ हजार ६ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइ भए पुग्छ । नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको सर्भेसमेत गरिसकेको छ ।

प्रकाशित : माघ २५, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?