२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतीय मालबाहक साधन निर्बाध सञ्चालन

ट्राफिक प्रहरीद्वारा केही साधन नियन्त्रणमा लिएर कारबाही
माधव घिमिरे

विराटनगर — निर्धारित क्षमताभन्दा तेब्बरसम्म बढी भार बोकेका भारतीय ढुवानीका साधन नेपाली सडकमा निर्बाध सञ्चालन भइरहेका छन् । उद्योगका सामान लिएर सीमा नाकाभन्दा १५ किलोमिटर भित्रसम्म मात्र आउन दिने नियम भए पनि त्यस्ता साधन देशभरका औद्योगिक क्षेत्रमा पुग्ने गरेको पाइएको छ ।

भारतीय मालबाहक साधन निर्बाध सञ्चालन

केही दिनयता त्यसरी नियमिविपरीत आएका ११ वटा साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ७ वटा साधनलाई जरिवाना गरी छाडिएको छ । बाँकी चारवटालाई प्रहरीले थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको छ ।


खासगरी औद्योगिक कच्चापदार्थ बोकेर आउने त्यस्ता साधनका कारण दुर्घटनाको जोखिम हुनुका साथै

जताततै पार्किङ गर्दा सडक क्षतिग्रस्त भइरहेको भन्दै नेपाली ढुवानी व्यवसायीले यो तत्काल रोक्न स्थानीय प्रशासनलगायत निकायको ध्यानाकर्षण गराएका छन् । भारतीय साधनको निर्वाध प्रवेश र सञ्चालनले स्वदेशी ढुवानी व्यवसायी मर्कामा परेको उनीहरूको भनाइ छ ।


यसैबीच भारतको बथनाहाबाट सिमेन्टको कच्चा पदार्थ क्लिंकर बोकेका ट्रिपरलाई नियन्त्रणमा लिइएको छ । विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देल, नेपाल ट्रक व्यवसायी महासंघ पूर्वाञ्चल उपाध्यक्ष विनोद खड्कासहितको टोलीले ती ट्रकलाई प्रहरीको जिम्मा लगाएको छ । ट्राफिक प्रहरीका अनुसार २८ टन बोक्नुपर्ने १८ चक्के ट्रिपरमा ६० टनभन्दा बढी क्लिंकर ल्याइएको थियो । नियन्त्रणमा लिइएका ओडी १४–ई–९५८०, ९५८१, ९५८२ र ९५८३ नम्बरका ट्रिपर मोरङको नेमुवास्थित प्रहरीको नियन्त्रणमा छन् ।

यसैगरी जोगबनी नाका हुँदै आएका सातवटा टेलरलाई प्रहरीले कारबाही गरेको छ । हेटौंडास्थित शिवम् सिमेन्टका लागि क्लिंकर लैजाँदै गरेका ‘ओभरलोड’ ती साधनलाई ट्राफिक प्रहरीले प्रतिटेलर १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर छाडेको छ । नेपाल ल्याइने क्लिंकर भारतको बथनाहासम्म आउने गरेको छ । त्यहाँबाट जोगबनी नाका हुँदै आयात हुने गरेको छ । नियन्त्रणमा लिइएका ट्रिपरमा लोड भएको क्लिंकर विराटनगरका व्यवसायी आशिष जाटियाले आयात गरेको भन्सार कार्यालयले जनाएको छ ।


ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्सालले नियमविपरीत आएका भारतीय ट्रकका सम्बन्धमा अनुसन्धान गरी थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको बताए । प्रहरीले गाडीको कागजात, आयात गरिएको सामानको भन्सार अभिलेखलगायत समेटेर यातायात कार्यालयमा कारबाहीका लागि पठाएको हो ।


ट्रक व्यवसायी संघका अध्यक्ष सिग्देलका अनुसार ती भारतीय ट्रिपरमा मापदण्डभन्दा बढी पछाडिको क्यारियरमा करिब दुई फिटसम्म भाग थपेर क्षमताभन्दा बढी सामान ल्याइने गरेको छ । नेपालमै त्यसरी अतिरिक्त भाग थपेर सञ्चालनमा ल्याइएका ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएर मापदण्डविपरीत थापिएको भाग काटेर कारबाही गर्ने गरेको छ ।


सिग्देलका अनुसार भारतीय मालबाहक साधन भने मापदण्डविपरीत निर्वाध सञ्चालनमा छन् । नियमअनुसार भारतीय नम्बर प्लेटका औद्योगिक कच्चा पदार्थ बोकेका साधन सीमा क्षेत्रभन्दा १५ किलोमिटर वरसम्म मात्रै आउनुपर्ने हो । तर, जोगबनी नाका भएर भित्रने मापदण्डविपरीतका साधन कोसी पश्चिमका औद्योगिक सहरसम्म पुग्ने गरेको संघका अध्यक्ष सिग्देलको भनाइ छ ।


भारतीय साधन निर्वाध सञ्चालमा आउँदा नेपाली ढुवानी व्यवसायी मर्कामा परेको भन्दै यसअघि सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यसपछि उच्चस्तरीय टोलीको बैठकले यसबारे निर्णय गरेको थियो । २०७४ कात्तिक २४ गते गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा बसेको बैठकले विभिन्न नाकाबाट भारबहन क्षमताभन्दा बढी सामान ढुवानी गर्ने साधनलाई व्यवस्थापन गर्ने भन्दै मातहत निकायमा निर्देशनसमेत दिएको थियो ।


बैठकले तौलको आधारमा भन्सार लाग्ने मालवस्तु बोक्ने कन्टेनरको हकमा सम्बन्धित भन्सार कार्यालयले भार बहन क्षमता मिलान गरी मात्र पठाउन व्यवस्था गर्ने निर्णय गरेको थियो । भन्सार विन्दुमै तौल यकिन गरेर बढीमा १५ किलोमिटरभित्रको औद्योगिक कोरिडोरसम्म मात्र कच्चा पदार्थ बोकेका साधन आउन दिने निर्णय बैठकले गरेको थियो । बैठकमा संयोजक राउतबाहेक त्यसबेला प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य, यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंह, वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, भन्सार विभागका निर्देशक लावण्यकुमार ढकाल र गृह मन्त्रालयका उपसचिव झंकनाथ ढकालको सहभागिता थियो ।


निर्देशनविपरीत साधन छाडिँदै

गत साउन अन्तिम साताको बाढीले भारतको मिरगन्ज पुल क्षतिग्रस्त भएपछि बढी भार क्षमताका ढुवानी साधन चल्न भारतीय प्रशासनले रोक लगाएको थियो । सामान्य मर्मतपछि बढीमा २० टन क्षमताका साधनलाई मात्र पुल भएर आउजाउ गर्न दिइएको छ ।


तर ६० टनभन्दा बढी तौलका सामान लिएर त्यही पुलबाट ट्रिपरहरू आउन दिनुलाई नेपाली व्यवसायीले शंकास्पद रूपमा हेरेका छन् । भारतीय प्रहरीले अवैध रकम लिएर ठूला साधन छाड्ने गरेको तर औपचारिक रूपमा भने २० टन क्षमताका साधनलाई मात्र चल्न दिने गरेको एक उद्योगीले बताए ।


निश्चित रकम लिए भारतीय प्रहरी–प्रशासनले २० टनभन्दा बढी सामान बोकेका साधन आउने दिने गरेको आरोप यसअघि पनि उद्योगीहरूले लगाउँदै आएका थिए । यो घटनाले यसलाई पुष्टि गरेको एक उद्योगीले बताए । ‘जोगबनी प्रहरी थाना र भारतीय कस्टमका अधिकारीलाई खुसी पारे जति क्षमताका साधन भए पनि छाडिदिने गरेको पुष्टि भएको छ,’ उनले भने, ‘तर, पुलबाट २० टन क्षमताभन्दा बढीका साधन ल्याउन नदिने भारतीय प्रशासनले निर्देशन जारी गरेको छ ।’ विराटनगर भन्सार कार्यालयका एजेन्टहरूले पनि नेपाल आउने मालबाहक साधनलाई अनावश्यक झन्झट लगाउने गरेको भन्दै यसअघि ध्यानाकर्षण गराएका थिए ।


पुल क्षतिग्रस्त बनेपछि नेपाली उद्योगी–व्यापारीले करिब ९० किलोमिटर टाढा भन्टाबारी नाकाबाट रिरुट गरी सामान ल्याइरहेका छन् । यसरी अर्को नाका प्रयोग गर्दा एउटा साधनलाई करिब ५० हजार रुपैयाँ भाडा बढी पर्ने गरेको छ ।

प्रकाशित : माघ २६, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?