१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतीय गाडीलाई कारबाही

माधव घिमिरे

विराटनगर — मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भारतबाट भित्रिएका थप ३३ वटा मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सवारी साधनको ब्लुबुकमा उल्लेखित भार क्षमताभन्दा बढी सामान बोकेर गुड्ने अनि निश्चित दूरीभन्दा अन्यत्रसम्म ढुवानी गर्ने साधन कारबाहीमा परेका हुन् ।

भारतीय गाडीलाई कारबाही

६ महिनायता ट्राफिक प्रहरीले नियमविपरीत सञ्चालित ६ सय २३ साधनमाथि कारबाही गरेको जनाएको छ । तीमध्ये कोसीमा बढी भार बोकेका १७ र रुट पर्मिट नभएका ४ सय ५१ साधन कारबाहीमा परेका छन् । यसैगरी मेचीमा ९ वटा साधनलाई बढी भार बोकेकामा कारबाही गरिएको छ । यस्तै सगरमाथामा बढी भारका ७ र रुट पर्मिट नभएका १ सय ३९ साधनलाई कारबाही गरिएको छ । यीमध्ये रुट पर्मिट नभएका केही नेपाली सवारी साधन छन् । अधिकांश भने भारतीय रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सोमबार मात्रै विराटनगरमा तीनवटा, झापाको बिर्तामोडमा १० वटा त्यस्ता साधन प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरमा तीनवटा टेलरलाई विराटनगर ट्रक व्यवसायी संघको पहलमा नियन्त्रणमा लिई प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ । जोगबनी भन्सार हुँदै प्रवेश गरेका ती टेलरमा वीरगन्जका लागि मकै लोड गरिएको थियो ।

१५ टन भार क्षमता भएको एउटा टेलरमा ५० टन र २१ टन क्षमताको अर्को टेलरमा ५५ टन मकै बोकेको पाइएको विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलले बताए । बढी क्षमता बोकेका ती टेलर कोसी राजमार्गको विराटनगर, भृकुटी चोकमा निर्माणाधीन सडकमा केही भाग भास्सिएका छन् ।

यसैगरी काँकडभिट्टास्थित मेची भन्सार कार्यालय हुँदै प्रवेश गरेका १० वटा टेलर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोइला लोड भएका ती टेलरलाई आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । थप अनुसन्धान गर्नुपरे यातायात व्यवस्था कार्यालय बुझाइने प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी राजकुमार लम्सालले बताए ।

उनका अनुसार जोगबनी भन्सार हुँदै औद्योगिक सामग्री लिएर आउने साधन कोसी राजमार्गको नेमुवासम्म मात्र आउन रुट अनुमति छ । तर, यो दूरीभन्दा टाढा पुग्ने र भार बहन क्षमताभन्दा बढी बोकेका साधनलाई धमाधम कारबाही भइरहेको लम्सालले बताए । शंका लागेमा साधनको ब्लुुुबुकमा उल्लेखित अधिकतम भारबहन क्षमता र भन्सारको कागजातमा उल्लेख गरिएको सामानको तौल फरक पाइए कारबाही गरिने लम्सालले बताए । ‘हाम्रो क्षेत्राधिकारभित्र पर्नेलाई त्यसैअनुसारको जरिवाना र कारबाही गर्छौं,’ उनले भने, ‘थप अनुसन्धान गर्नुपरे यातायात व्यवस्था कार्यालयमा बुझाउने गरेका छौं ।

भन्सार नाकाभन्दा १५ किलोमिटर वरसम्म मात्र आउने नियम भएकामा जोगबनी र मेची भन्सारबाट भित्रने मालबाहक साधन वीरगन्जलगायत सहरसम्म पुग्ने गरेको सिग्देलको भनाइ छ । यसैबीच तीन दिनअघि नियन्त्रणमा लिइएका ६ वटा साधन प्रत्येकलाई यातायात व्यवस्था कार्यालयले २४ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । सुनसरीको त्रित्रिबनमा नियन्त्रणमा लिइएका ती साधनमा क्षमताभन्दा २०/२० टन बढी सामान लोड भएको थियो । यसअघि मोरङको नेमुवास्थित प्रहरी कार्यालेले नियन्त्रणमा लिएका चारवटा साधनलाई ६ हजार ३ सय रुपैयाँका दरले जरिवाना गरी तीन दिनपछि छाडिएको छ ।

निर्वाध रुपमा नियमविपरीत भारतीय मालबाहक साधन नेपाली भूमिमा सञ्चालन हुँदा स्थानीय ढुवानी व्यवसायी मर्कामा परेको भन्दै ट्राफिक प्रहरीसँग मिलेर व्यवसायीले नियन्त्रण अभियानै चलाएका छन् । औद्योगिक कच्चापदार्थ बोकेर आउने त्यस्ता साधनका कारण दुर्घटनाको जोखिम हुनुका साथै जताततै पार्किङ गर्दा सडक क्षतिग्रस्त भइरहेको भन्दै नेपाली ढुवानी व्यवसायीले यो तत्काल रोक्न स्थानीय प्रशासनलगायत निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । भारतीय साधनको निर्वाध प्रवेश र सञ्चालनले स्वदेशी ढुवानी व्यवसायी मर्कामा परेको उनीहरूको भनाइ छ ।

ट्रक व्यवसायी संघका अध्यक्ष सिग्देलका अनुसार ती भारतीय ट्रिपरमा मापदण्डभन्दा बढी पछाडिको क्यारियर (डाला) मा करिब दुई फिटसम्म भाग थपेर क्षमताभन्दा बढी सामान ल्याइने गरेको छ । नेपालमै त्यसरी अतिरिक्त भाग थपेर सञ्चालनमा ल्याइएका ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएर मापदण्डविपरीत थापिएको भाग काटेर कारबाही गर्ने गरेको छ । सिग्देलका अनुसार भारतीय मालबाहक साधन भने मापदण्डविपरीत निर्वाध सञ्चालनमा छन् ।

भारतीय साधन निर्वाध सञ्चालमा आउँदा नेपाली ढुवानी व्यवसायी मर्कामा परेको भन्दै यसअघि सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यसपछि उच्चस्तरीय टोलीको बैठकले यसबारे निर्णय गरेको थियो । २०७४ कात्तिक २४ गते गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा बसेको बैठकले विभिन्न नाकाबाट भारबहन क्षमताभन्दा बढी सामान ढुवानी गर्ने साधनलाई व्यवस्थापन गर्ने भन्दै मातहत निकायमा निर्देशनसमेत दिएको थियो ।

वैठकले तौलको आधारमा भन्सार लाग्ने मालवस्तु बोक्ने कन्टेनरको हकमा सम्बन्धित भन्सार कार्यालयले भार बहन क्षमता मिलान गरी मात्र पठाउन व्यवस्था गर्ने निर्णय गरेको थियो । भन्सार विन्दुमै तौल यकिन गरेर बढीमा १५ किलोमिटरभित्रको औद्योगिक कोरिडोरसम्म मात्र कच्चा पदार्थ बोकेका साधन आउन दिने बैठकले निर्णय गरेको थियो । बैठकमा संयोजक राउतबाहेक त्यसबेला प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य, यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंह, वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, भन्सार विभागका निर्देशक लावण्यकुमार ढकाल र गृह मन्त्रालयका उपसचिव झंकनाथ ढकालको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन २, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?