स्थानीय तह केन्द्रित बैंक खुल्दै

कान्तिपुर संवाददाता

धनकुटा — जिल्लाका अधिकांश स्थानीय तहमा बैंकिङ सुविधा सुरु भएको छ । जिल्लाका ७ मध्ये ५ स्थानीय तहमा बैंक सञ्चालनमा छन् । सरकारले हरेक स्थानीय तहमा एक बैंक खोल्ने भने पनि दुई स्थानीय तहमा भने बैंकिङ सुविधा पुग्न सकेको छैन ।

सबैभन्दा बढी धनकुटा नगरपालिका क्षेत्रमा बैंक सञ्चालित छन् । जसमा क र ख वर्गका ६ वटा बैंक सञ्चालनमा छन् । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, लक्ष्मी, हिमालय, एनआईसी एसिया, काबेली विकासलगायत बैंक यहाँ छन् । बैंक खुल्ने क्रम बढेको धनकुटा नगरपालिका १ वडाध्यक्ष निरन तामाङले बताए । उनले हिले तथा आसपासका क्षेत्रलाई मध्यनजर राख्दै बैंक खुल्नु सकारात्मक भएको जनाए ।

यसैगरी धनकुटा बजारमा पनि राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, काबेली विकासलगायतका बैंक यसअघि नै सञ्चालनमा छन् । महालक्ष्मी नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, पाख्रिबास नगरपालिकामा जनता बैंक, चौबिसे गाउँपालिकामा काबेली विकास, छथर जोरपाटी गाउँपालिकामा एनबी, प्राइम, काबेली बैंक सञ्चालनमा छन् ।

साँगुरीगढी र सहिदभूमि गाउँपालिकामा भने हालसम्म बैंक खुल्न सकेको छैन । साँगुरीगढीमा बंगलादेश बैंक खोल्ने तयारीमा रहेको जनाइएको छ । अधिकांश स्थानीय तहमा क वर्गका बैंक भने कमै मात्र खुलेका छन् । सहिदभूमि गाउँपालिकामा हालसम्म कुनै बैंक खुल्न नसक्नु दु:खद पक्ष रहेको गाउँपालिकाका प्रमुख मनोज राईले गुनासो पोखे । ‘कतिपय स्थानमा वर्षौदेखि बैंक सञ्चालन भइरहेका थिए,’ राईले भने, ‘तर, सरकारले एक स्थानीय तह एक बैंक अवधारणाअनुसार अझै पनि बैंकिङ सुविधा उपलब्ध गराउन नसक्नु दु:खद हो ।’

स्थानीयबासीले बैंकिङ सुविधा लिन घन्टौं टाढाको धनकुटा तथा हिले बजार धाउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?