कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अलैंची सुकाउन समस्या

दीपेन्द्र शाक्य

संखुवासभा — नुमका अलैंची कृषक दुर्गाबहादुर पराजुलीको परिवारले अलैंची खेती गर्न थालेको चार दशक बित्यो । उनलाई हिजोआज अलैंची टिप्नुभन्दा पनि सुकाउन झन्झटिलो लाग्छ ।

अलैंची टिप्न सहज भए पनि सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उनलाई असजिलो भएको हो । गाउँमा कृषकले ढुंगामाटोले बनेको परम्परागत भट्टीमा अलैंची सुकाउँछन् । उनले पनि बगानमा पुरानै परम्परागत भट्टी बनाएर अलैंची सुकाइरहेका छन् ।

परम्परागत भट्टीमा अलैंची सुकाउँदा डढेर कालो हुने र बिग्रिने गरेकाले बिक्री नभएको उनले बताए । ‘पुरानो शैलीमा अलैंची पनि राम्ररी सुक्दैन र हाम्रो स्वास्थ्यमा असर पुग्ने गरेको छ,’ उनले भने, ‘भट्टीमा आगो धेरै भएमा अलैंची डढछ ।

‘कृषकलाई अलैंची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान छैन,’ उनले भने, ‘प्राविधिक ज्ञान नभएकै कारण आधुनिक भट्टीको प्रयोग पनि शून्यजस्तै छ ।’ कृषकलाई हिमाली आयोजना, उन्नतिजस्ता कार्यक्रमले अलैंची सुकाउने आधुनिक भट्टी उपलब्ध गराए पनि सदुपयोग गरेको पाइँदैन । ‘अहिलेसम्म कृषकले खासै आधुनिक भट्टी प्रयोगमा ल्याएका छैनन्,’ उनले भने, ‘जसका कारण उचित मूल्य पनि पाएका छैनन् ।’

प्राय: कृषकलाई परम्परागत भट्टीको प्रयोग गर्नु अलैंची गुणस्तरको हिसाबले गलत हो भन्ने नै थाहा छैन । परम्परागत भट्टीका कारण अलैंची कालो हुने, राम्ररी नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धूवाँ र आगाले स्वास्थ्यमा असर गर्ने जस्ता समस्या कृषकले व्यहोर्दै आएका छन् । ‘कृषक आधुनिक भट्टीको प्रयोगबारे अनविज्ञ छन्,’ उनले भने, ‘अनुदानमा पाएका भट्टी पनि प्रयोगमा छैनन् ।’

अनुदानमा पाएको भट्टी जडान गर्न पहिलो वर्ष प्राविधिक सहयोग पाए पनि दोस्रो वर्षबाट जडान गर्नै समस्या भएको कृषकको भनाइ छ । ‘भट्टी त पाइयो तर प्राविधिक ज्ञान पाइएन, त्यसैले प्रयोगमा ल्याउन सकेनौं,’ पराजुली भन्छन्, ‘आधुनिक भट्टीले अलैंचीको गुणस्तरमा सुधार हुन्छ तर कसरी चलाउने कृषकलाई थाहा नै छैन ।’ परम्परागत भट्टीमा अलैंची छिटो सुक्छ र यसको मूल्य पनि कम छ ।

आधुनिक भट्टीमा सुकाउँदा बढीमा बिक्री भए पनि धेरै समय लाग्ने गरेको कृषकको अनुभव छ । आगाका झिल्का उडेर गए घरमै आगलागी भएका घटना पनि छन् । ‘भट्टी लगाउँदा कृषक अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने, ‘नसुकुन्जेल रातदिन नभनी कुरेर बस्नुपर्छ ।’

आधुनिक भट्टी प्रयोगमा पहुँच नहुँदा समस्या व्यहोर्नुपरेको धर्मदेवी नगरपालिका ३ का कृषक देवराज सुवेदीले बताए । उनका अनुसार परम्परागत भट्टीको सबैभन्दा जोखिमको पक्ष भनेकै आगाबाट अलैंची जोगाउनु हो । धेरै कृषकको अलैंची बेच्न लिएर गए पनि धेरै कालो भएको र धूवाँ बढी भएको भन्दै व्यापारीले फर्काइदिएको उनले बताए ।

अलैंचीको गुणस्तर वृद्धि गर्न पहल सुरु भए पनि कृषकलाई गुणस्तरीय अलैंची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको उनको भनाइ छ । सिजनमा अलैंचीको बगानबाट टिपेर ल्याएपछि अलैंची छोडाउनुपर्छ । छोडाएपछि कृषकले भट्टीमा सुकाउँछन्, त्यसपछि मात्रै अलैंची बेच्नका लागि तयार हुन्छ । परम्परागत भट्टीमा सुकाउनुपर्दा १० केजी अलैंची सुक्न करिब १५ घण्टासम्म लाग्ने गरेको छ ।

परम्परागत भट्टी आफैंले बनाउन सकिने, आधुनिक भट्टीभन्दा कम खर्चिलो र एकपटक बनाएपछि वर्षौंसम्म प्रयोग गर्न सकिने उनले बताए । अब स्थानीय सरकारको पहलमा अलैंची खेतीको विकास तथा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्मा वर्षौंदेखि अलैंची खेती, प्रविधि र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि गुणस्तरीय उत्पादन तथा आधुनिक भट्टीको प्रयोगतर्फ किसानको ध्यान तान्न नसकेको बताउँछन् । यो जिल्लामा २ हजार ७ सय हेक्टर जमिनमा ९ सय टन अलैंची उत्पादन हुने गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?