१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भन्सार राजस्वको १० करोड हिनामिना

वाणिज्य बैंकको केन्द्रीय टोलीद्वारा अनुसन्धान
बैंक कर्मचारी पक्राउ, दुई भन्सार एजेन्ट फरार
माधव घिमिरे

विराटनगर — भन्सार महसुलबापतको करोडौं रकम बैंकमा जम्मा नगरी हिनामिना गरेको खुलेपछि कारबाही थालिएको छ । दुई भन्सार एजेन्टले महसुलबापत दिनुपर्ने रकम बराबरको चेक बुझाए पनि सम्बन्धित बैंक खातामा पर्याप्त रकम उपलब्ध नभएपछि अनियमितता खुलेको हो ।

आयातित सामानको ‘क्लियरिङ’ गर्दा बैंकमा जम्मा गर्नुपर्ने करोडौं रकम जम्मा नगरी हिनामिना गरेको आरोपमा प्रहरीले विराटनगर भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ‘सुक्खा बन्दरगाह शाखा’ का वरिष्ठ सहायक अधिकृत तोर्ण राउतलाई पक्राउ गरेको छ । राजस्व हिनामिना गर्ने काममा सघाएको आरोपमा उनलाई रानीमा रहेको बैंकको क्षेत्रीय कार्यालयबाट बुधबार पक्राउ गरिएको हो ।


उनीमाथि करिब १० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । मोरङका प्रहरी नायब उपरीक्षक अरुणकुमार बीसीका अनुसार राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । उजुरीका आधारमा थप अनुुसन्धान भइरहेको उनले बताए ।


भन्सार राजस्वबापत विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा र सहयोगी ललित बोहोराले बुझाएको ‘एकाउन्टपेयी’ चेकको सम्बन्धित खातामा पर्याप्त रकम नभएको पाइएको बैंकका क्षेत्रीय प्रबन्धक राजेन्द्र कट्टेलले बताए । एजेन्ट र उनका सहयोगी बोहोरा दाजुभाइलाई नियन्त्रणमा लिन प्रहरीले खोजी गरिरहेको छ । रकम हिनामिना भएको सार्वजनिक भएसँगै दुवै फरार भएका छन् । उनीहरूले सुनसरी–मोरङ औद्योगिक क्षेत्रका व्यावसायिक प्रतिष्ठानले आयात गर्ने सामानको भन्सार क्लियरिङ गर्दै आएका थिए ।


एजेन्ट र तिनका प्रतिनिधि मुख्य रूपमा संलग्न यो घटनामा वाणिज्य बैंकका कर्मचारीको भूमिका पनि शंकास्पद देखिएको छ । ‘गुड फर पेमेन्ट’ चेक लिनुपर्नेमा ‘एकाउन्टपेयी’ चेकमार्फत कारोबार सहज बनाइएको भन्दै वाणिज्य बैंकको काममा पनि शंका गरिएको हो ।


विभिन्न वस्तु आयात गरेबापतको महसुल करिब १० करोड रकम बैंकमा जम्मा गर्नुपर्ने थियो । बोहोराद्वयले आयातित सामान भन्सार पास गर्नका लागि ‘क्लियरिङ’ गर्ने क्रममा भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ‘सुक्खा बन्दरगाह शाखा’ मा प्रस्तुत गरेको चेक ‘बाउन्स’ भएको थियो ।


बैंकका एक अधिकृतका अनुसार उनीहरूले रकमबापत जम्मा गरेको चेक सम्बन्धित प्रक्रियाबाट क्लियरिङ गर्न खोज्दा बैंक खातामा पर्याप्त रकम नभएको पाइएको थियो । बैंक स्रोतका अनुसार एजेन्टहरूले बुझाउनुपर्ने रकम सम्बन्धित खातामा जम्मा नभएको पाइएपछि पटकपटक रकम दाखिला गर्न ताकेता गरिएको थियो । तर, आलटाल गर्दै आएका उनीहरूले केही दिनमै रकम बुझाउने बताउँदै आएको स्रोतले जनायो ।


घटनाको जानकारी बैंकको केन्द्रीय कार्यालयसम्म पुगेपछि त्यहाँबाट खटेर आएका तीनजना वरिष्ठ कर्मचारीले अनुसन्धान गरिरहेका छन् । केन्द्रीय कार्यालयका अपरेसन विभाग उपप्रमुख नारायण सुवेदीको नेतृत्वमा तीनजनाको छानबिन टोली आएको हो ।


बुधबार दिनभर विराटनगरको रानीस्थित बैंकको क्षेत्रीय कार्यालयमा बसेर उनीहरूले सम्बन्धित कागजात अध्ययन गरेका थिए । यो घटनासँग सम्बन्धित भन्सारका कागजात, बैंक अभिलेखलगायत झिकाएर टोलीले अध्ययन गरेको हो । अध्ययनपछि बुधबारै यसबारे मोरङ प्रहरीमा मुद्दा दर्ता गरेको छ ।


विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बैंक र सम्बन्धित पक्षबीच हुने नगद जम्माको प्रक्रियामा भन्सारको संलग्नता नहुने बताए । ‘आवश्यक रकम बैंकमा जम्मा भएपछि हामीलाई त्यसको अभिलेख दिनुपर्छ,’ उनले भने, ‘रकम कसरी जम्मा भयो वा भएन भन्ने कुरा बैंक र एजेन्टहरूले नै जान्ने कुरा हो ।’ जम्मा गरिएको अभिलेख आएपछि आयातित सामान ‘क्लियरेन्स’ गरिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?