१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोलियोले छेकेन ज्याकलाई अर्बपति बन्न

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — ‘मेरा सबैभन्दा असल मित्रले मलाई राम्रो सल्लाह दिए । ती मित्रले भने– प्रत्येक दिन हाम्रा लागि एउटा उपहार हो, त्यसैले आफ्नो दायित्व पूरा गर्न कहिल्यै नछाड, तिमीमाथि ढुंगा हान्ने अवस्थाको सिर्जना पनि नगर र आफ्नो डरलाई सधैं पछाडि छाड्ने गर ।’ 

पोलियोले छेकेन ज्याकलाई अर्बपति बन्न

यी भनाइ एकजना व्यावसायिक अमेरिकी गल्फ खेलाडी ज्याक विलियम निकउलसका हुन् । कुनै पनि दर्शनमाथि फिटिकै विश्वास नगर्ने उनी मौलिकतालाई आफ्नो आदर्श ठान्छन् । त्यसैले उनले भनेका पनि छन्, ‘म दर्शनमाथि विश्वास गर्दिनँ, मौलिकतामाथि म विश्वास गर्छु ।’ ‘द गोल्डेन बियर’ (सुनौलो भालु) को नामले समेत चिनिने उनलाई सानो उमेरमा पोलियो रोगले गाँजेको थियो । सन् १९४० जनवरी २१ मा अमेरिकाको ओहियोस्थित अपर अर्लिङटोनमा जन्मेका उनलाई १३ वर्षको उमेरमा पोलियो रोग लागेको थियो । तर, सही समयमा उपचारपछि उनीनी उक्त रोगबाट चंगा भएका थिए । उनका बुबा पेसाले फर्मासिस्ट थिए । बुबाले ‘निकउलस ड्र्ग स्टोर’ का रूपमा धेरै ठाउँमा व्यापार सञ्चालन गरेका थिए । घरको वातावरण व्यापारमय भएकाले सुरुमा उनी ठूलो व्यापारी बन्ने सोच बनाएका थिए । तर, बने उनी विश्वकै चर्चित गल्फ खेलाडी । पछि व्यापारमा पनि हात हाले ।


निकलउस एकजना अवकाश प्राप्त अमेरिकी व्यावसायिक गल्फ खेलाडी हुन् । उनी आफूलाई चर्चित खेलाडीका रूपमा स्थापित गर्न सफल भए । मात्र २५ वर्षको अवधिमा उनले आफ्नो करियरमा १८ वटा जति शीर्ष च्याम्पियनसिपको उपाधि हात पारे भने १९ वटामा दोस्रो र ९ वटामा तेस्रो स्थान हासिल गरेका थिए । उनी सधैं आफूलाई ‘मास्टर्स टुर्नामेन्ट’, ‘यूएस ओपन, ओपन च्याम्पियनसिप र पीजीए च्याम्पियनसिप जस्ता प्रतियोगिताका लागि केन्द्रित रहे । उनी ‘पीजीए इभेन्ट’ को सेलेक्टिभ सूचीमा मात्रै सहभागी हुन्थे । निकलउसले ७३ औं विजय यात्रासम्म कहिल्यै आफ्ूलाई पछाडि पर्केर हेर्ने स्थितिमा पुर्‍याएनन् । अगाडि बढे मात्रै बढदै गए । सन् १९६३ को सुरुमा गल्फ खेल्ने क्रममा उनी बायाँ हिपमा चोट लागेर घाइते भएका थिए । चिकित्सकले गल्फ नखेल्न सल्लाह दिएका थिए । तर, उनले आफू खेल नछाड्ने ढिपीमा थिए । त्यो जिट्टीको अगाडि हिपको चोटले कुनै असर गर्न सकेन । केही महिनाभित्रै उनी गल्फ कोर्टमा फर्किहाले । उनको यो कदमले आत्मविश्वासका साथ अगाडि बढेमा मानिस सफल हुन सक्छन् भन्ने पुष्टि गरिदिएको छ ।

सन् १९५९ र १९६१ मा ‘यूएस अमेचर’ को उपाधि जितेका थिए भने सन् १९६० मा ‘यूएस ओपन’ को प्रतियोगितामा अर्नोल्ड पाल्मरभन्दा दुई सट्सले पछि पर्दै दोस्रो उपाधि हासिल गरेका थिए । निकउलस २१ वर्षको उमेरमा व्यावसायिक गल्फ खेलमा प्रवेश गरेका हुन् । सन् १९६२ मा उनले पहिलोपटक मुख्य च्याम्पियनसिप ‘यूएस ओपन’ को उपाधि हात पारेका थिए । त्यसताका यिनले पाल्मरलाई थ्री सट्सले हराएका थिए । सन् १९६६ मा यिनले ‘मास्टर्स टुर्नामेन्ट’ जितेका थिए । ओपेन च्याम्पियनसिपमा उनका जितले मुख्य प्रतियोगिताहरूमा प्रवेशको ढोका खोलिदियो । त्यसताका उनको उमेर मात्र २६ वर्षको थियो, यो उमेरमा सबैभन्दा कान्छो गल्फ खेलाडीका रूपमा आफूलाई स्थापित गर्न भ्याइसकेका थिए । सन् १९६८ र १९६९ निकउलसका लागि राम्रो रहेन । उनले ती दुई सालमा मुख्य टुर्नामेन्टहरूमा जित हासिल गर्न सकेनन् । तर, निराश भने बिल्कुलै भएनन् । प्रयास जारी राखे । त्यसैको परिणामस्वरूप उनले सन् १९७० मा अर्को ओपेन च्याम्पियनसिपमा जित दर्ज गराउन सफल भए ।


सन् १९७१ र १९८० को बीचको अवधि यिनले अतिरिक्त नौवटा प्रमुख प्रतियोगितामा जित हात पारे । यो अर्का खेलाडी बबी जोन्सले राखेको रेकर्डभन्दा ४ वटाले कम हो । सन् १९८६ मा ४६ वर्ष उमेरमा मास्टर्सको उपाधि हासिल गर्दै प्रतियोगिताको सबैभन्दा बढी उमेरमा उपाधि हासिल गर्ने खेलाडी बन्न पुगे । निकउलसले सिनियर पीजीए टुर (पीजीए टुर च्याम्पियन्स नामले चर्चित) मा प्रवेश गरे । तर, त्यसका लागि योग्य भने सन् १९९० को जनवरीमा मात्रै भए । सन् १९९६ को अप्रिलसम्ममा १० वटा टुर्नामेन्ट्स यिनले जितेका थिए । उनी सन् २००५ सम्ममा टुर च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । त्यसपछि उनी मास्टर्स टुर्नामेन्ट र ओपन च्याम्पियनसिपमा सहभागी भए ।


निकउलस खेलमा मात्रै हैन, अन्य गतिविधिमा पनि त्यत्तिकै सक्रियताका साथ सहभागी हुँदै आएका छन् । खासगरी गल्फ कोर्स डिजाइन, परोपकार सेवा र किताब लेखनमा उनले आफ्नो सक्रियता बढाए । उनी अमेरिकन सोसाइटी अफ गल्फ कोर्स आर्किटेक्सका सदस्य पनि हुन् । उनले ‘हार्बोर टाउन गल्फ लिंक्स’ पाठयक्रम बनाउनका लागि सहयोग गरेका छन् । पीजीए टुरमाथि आफ्नो टुर्नामेन्टसमेत यिनले सञ्चालनमा ल्याए, जसको नाम दिए ‘मेमोरियल टुर्नामेन्ट’ । उनको गल्फ पाठयक्रम डिजाइन गर्ने कम्पनी विश्वकै सबैभन्दा ठूलोमध्येको एक हो । उनको पुस्तक ‘गल्फ माई वे’ मा परिचयात्मक विषयवस्तुदेखि आत्मकथालाई समेत समेटिएको छ । यो किताब अझै पनि गल्फ खेलमा अभिरुचि राख्नेहरूका माझ लोकप्रिय छ । उनले यसै नाममा सार्वजनिक गरेको भिडियो पनि आजको मितिसम्म सर्वाधिक बिक्री हुने भिडियो सामग्री बनेको छ ।


स्कुलमा पढदाता निकउलसको बास्केटबल खेल्नमा औधि रुचि थियो । उनी एउटा सुटिङ गार्डका रूपमा बास्केटबलमा अल–ओहियो छनाटमा समेत परेका थिए । कलेज पुग्दा पनि यसै खेललाई निरन्तरता दिएका थिए । कलेजबाट उनी ओहियो स्टेटका खेलाडीका रूपमा समेत छानिए । तर, बास्केटबल खेलमा मात्रै आफूलाई सीमित नगर्दै यिनी युवावस्थामा सफलतापूर्वक फुटबल, बेसबल, टेनिससमेत खेले । दस वर्षको उमेरमा उनी स्किओटो काउन्टी क्लबमा गल्फ खेल्दा ५१ स्कोर बनाउन सफल भएका थिए । उनलाई गल्फ खेलमा ल्याउनमा स्किओटोका कोच ज्याक ग्राउट, बायरोन नेस्सन र बेन होगानलगायतका छन् ।


‘गल्फ डाइजेस्ट’ का अनुसार निकउलस १३ वर्षको उमेरमा रोगले ग्रस्त हुनुभन्दा अघि १० वर्ष उमेरमा च्याम्पियन बनेका थिए । यिनले १२ वर्ष उमेरमा ओहियो जुनियर स्टेट च्याम्पियनसिपको उपाधि जितेका थिए । पोलियो भएको एक वर्षपछि १४ वर्ष उमेरमा उनले ट्रि–स्टेट हाइ स्कुल च्याम्पनसिप जिते । त्यसपछि आश्चर्यजनक रूपमा खेलमा अघि बढ्दै गए ।

ज्याक निकउलस एकजना दक्ष व्यापारी पनि हुन् । उनको आफ्नै निजी व्यापारको एउटा सञ्जाल नै छ । बुबाले थालेको व्यापारमा लाग्ने उनको चाहना धेरै पहिलेदेखि थियो । त्यसैले उनले सन् १९६१ मा ओहियो स्टेट विश्वविद्यालयबाट ‘प्रि–फार्मेसी’ प्रमुख विषय लिई स्नातक गरे । स्नातकपछि औषधिको व्यापार थाल्ने सोचमा थिए । कलेजमा पढदाताकै सानो अवधिको इन्स्योरेन्सको अध्ययन पनि गरेका थिए । त्यही अवधिमा उनले आफ्नो इन्स्योरेन्ससमेत गराए ।

सन् १९५९ देखि १९६१ सम्म मासिक गल्फ पत्रिका ‘गल्फ डाइजेस्ट’ ले उनलाई ‘वल्र्ड्स टप एमेचर गल्फर’ को उपाधि दिएको थियो । सन् १९६२ मा ‘यूएस ओपन टुर्नामेन्ट’ जितेपछि ‘टाइम म्यागेजिन’ ले निकउलसबारे कभर स्टोरी बनाएको थियो । सन् २००५ मा उनी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसबाट ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ अवार्ड पाएका थिए । त्यसको तीन वर्षपछि उनी ‘ग्लोबल एमब्यासेडर अफ इन्टरनेसनल गल्फ फेडेरेसन’ मा निर्वाचित भएका थिए । ‘द फेमस पिपल’ का अनुसार ज्याक विलियम निकउलसको कुल सम्पत्ति ३ सय २० मिलियन अमेरिकी डलर (अघिल्लो वर्षको मे १ सम्म) रहेको छ । सन् १९६० मा लामो समयसम्म प्रेमगरेकी बारबारा ब्याससँग विवाह गरे । यो जोडीका पाँचजना सन्तान छन् ।

(एजेन्सीहरू)

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?