कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाटभटेनीले महानगरको कर तिरेन 

प्रशान्त माली

ललितपुर — पाटन कृष्णगल्लीस्थित व्यापारिक कम्प्लेक्स भाटभटेनी सुपर मार्केटले घरजग्गा, बहाल र व्यवसायी कर नतिरेको भेटिएको छ । सुपर मार्केटभित्र सञ्चालित २१ वटा नाम चलेका बैंक, कफी र फेसन सप ललितपुर महानगरपालिकामा बिनादर्ता व्यवसाय सञ्चालन गरिरहेका छन् । महानगरपालिका आर्थिक विकास समिति, वडाध्यक्ष, राजस्व महाशाखा प्रमुख र नगर प्रहरी बलको संयुक्त टोलीले आइतबार गरेको अनुगमनमा यस्तो भेटिएको हो । 

महानगरपालिकाका अधिकारीका अनुसार भाटभटेनीको १ करोड रुपैयाँभन्दा बढी कर बक्यौता छ । सुपर मार्केटभित्र सिभिल र हिमालयन बैंकले एटीएम बिनादर्ता चलाइरहेका छन् ।

यहाँ अंकल स्पाइस, ग्रिल्स एन्ड मोक्स, हाउस अफ मम एन्ड मोक्स, अर्बान, मम हब्स बिनादर्ता सञ्चालन भइरहेका छन् । त्यस्तै नेवारी फेसन, गुलाब चाट, म्यागी चाउचाउ, ओडीसी कम्पनी, बु एन्ड ब्लोसन, भुइँ र पहिलो तलामा सञ्चालित ज्वेलरी पसल, काठमाडौं कफी र त्रिसरा कफी सप, खुसी हेन्डिक्राफ्ट, स्टुफ ट्रेड्स, मोनालिसा फेसन, स्पेक्ट्रम मर्कडिर्स, एक्सिस वल्ड, लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले कर तिरेका छैनन् ।


समिति संयोजक रवीन्द्र महर्जनले राजनीतिक संरक्षणमा रहेर कर छली गर्नेलाई कारबाहीको दायरमा ल्याउने तयारी भइरहेको बताए । ‘भाटभटेनी सञ्चालक र त्यहाँ सञ्चालित पसल व्यवसायीलाई साताभित्र करको दायरामा आउन निर्देशन दिएका छौं,’ उनले भने, ‘अटेर गर्नेलाई धमाधम कारबाही गर्छौं ।’


भाटभेटनीले २०७० मा सञ्चालन गरेदेखि अहिलेसम्मको कर तिरेको छैन । भाटभटेनी सुपर मार्केटका व्यवस्थापक दिनेश प्रधानले महानगरपालिकाकाले किस्ताअनुसार कर तिर्ने वातावरण बनाइदिएमा तिर्न तयार रहेको बताए । ‘एकमुष्ठ तिर्न गाह्रो पर्छ,’ उनले भने, ‘भाटभटेनीभित्र सञ्चालित पसल व्यवसायीलाई पनि करको दायरामा जान अनुरोध गर्छौं ।’ महानगरपालिकाकाले यसअघि गरेको अनुगमनमा पनि पुल्चोकको लबिम मल र त्यहाँभित्र सञ्चालित अघिकांश पसलले कर नरितेको पाइएको थियो ।


ललितपुर महानगरपालिका ३ मा घरजग्गाको आव ०७३/०७४ मा प्रस्तावित दररेटअनुसार प्रतिरोपनी मूल कालोपत्रे सडकसँग जोडिएको जग्गाहरूको १ करोड २१ लाख, सहायक मूल पिचसँग जोडिएका जग्गाहरूको ७० लाख ४० हजार, सहायक पिच (ढलान, ढुंगा छापेको र सिमेन्ट ब्लक छापिएको) सँग जोडिएका जग्गाहरूको ४० लाख ७० हजार, कच्ची सडकसँग जोडिएका जग्गाहरूको २२ लाख, गोरेटो बाटोसँग जोडिएका जग्गाहरूको १५ लाख रुपैयाँ पर्छ ।

महानगरले कुपन्डोलदेखि सातदोबाटोसम्म, मंगलबजारदेखि लगनखेलसम्मको मूल सडकमा रहेका घरजग्गा व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा दिए प्रतिआना १० हजार, चक्रपथ ट्रयाकमा ८ हजार, पुल्चोकदेखि मंगलबजार हुँदै ग्वार्कोसम्म, जावलाखेल बाल संगठनदेखि भनिमण्डल हुँदै रिङरोडसम्म, पुल्चोकस्थित विद्युत् प्राधिकरणदेखि सानेपा चोकसम्मका सहायक सडकमा ७ हजार, कच्ची सडकमा २ हजार र गोरेटो बाटोमा १ हजार रुपौयाँसम्म करको दर कायम गरेको छ ।


बहालमा दिएका घर, पसल, ग्यारेज, टहरा, सेड (छप्पर), कारखाना, जग्गा आदिबाट २ प्रतिशत कर असुलउपर गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?