दानाको गुणस्तर दायरा बढाइँदै

सबै जिल्लामा व्यावसायिक पशुपालन सुरु भएकाले दानाको गुणस्तर निर्धारण गर्ने तयारी 
राजु चौधरी

काठमाडौँ — कुखुरा तथा गाईभैंसी दानाको मात्रै गुणस्तर तोकेको सरकारले अब अन्य पशुपक्षीको दानामा पनि गुणस्तर निर्धारण गर्ने भएको छ । पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलको अध्यक्षतामा बसेका दाना स्तर निर्धारण समितिको बैठकले अन्य पशुपक्षीको दानामा पनि गुणस्तर तोक्ने निर्णय गरेको हो । 

कृषकले अन्य पशुपक्षी पनि व्यावसायिक रूपमा पाल्न थालेपछि बंगुर, बाख्रा, कुकुर, खरायो, टर्की, अस्ट्रिच, माछा र हाँसको दानामा पनि गुणस्तर मापदण्ड तोक्न लागेको हो । यसका लागि छुट्टै कमिटी गठन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दाना पदार्थको नियमक तथा प्राविधिक निकाय खाद्य प्रविधि हो । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले व्यावसायिक रूपमा माछा, बंगुर, अस्ट्रिचलगायत पनि पाल्न थालेकाले दानाको मापदण्ड निर्धारण गर्न लागेको बताए । ‘बंगुर,बाख्रा, कुकुर, खरायो, टर्की, अस्ट्रिच, माछा र हाँस व्यावसायिक रूपमै पालिन्छ तर दानाको मादपण्ड छैन,’ महानिर्देशक कर्णले भने, ‘पुरानो भएकालाई परिमार्जन गरी अन्य दानाको पनि मापदण्ड निर्धारण गर्ने निर्णय भएको छ ।’ विभागका अनुसार दानाको गुणस्तरको लागि दाना पदार्थ ऐन र विनियमावली बनेको छ । ऐन र विनियमावलीले सबै नसमेटेको समितिको ठहर छ ।

पशुपक्षीको दाना पदार्थको गुणस्तर मापदण्ड मस्यौदा तयार गर्न विभागका उपमहानिर्देशक डा. मतिना जोशी वैद्यको संयोजकत्वमा ८ सदस्य उपसमिति गठन गर्ने निर्णय भएको छ । उपसमितिले उक्त मस्यौदा समितिको अब बस्ने बैठकमा पेस गर्ने जनाएको छ । समितिको बैठक १५ दिनपश्चात् बस्ने विभागले जनाएको छ ।

‘अहिले धेरै पशुपक्षी भएकाले दानाको गुणस्तर निर्धारण अत्यन्त आवश्यक छ,’ महानिर्देशक कर्णले भने । विभागका अनुसार कुखुरा, माछा, बंगुर, अस्ट्रिचको दाना फरक/फरक हुन्छ । दानामा विभिन्न प्रकारको मिसावट हुन थालेको छ । दाना पदार्थमा अल्फा र माइक्रो टक्सिनको मात्रा भेटिएको जनाएको छ । यो ढुसीबाट उत्पादन हुने एक प्रकारको विषादी हो । ढुसीको मात्रा धेरै हुँदा पशुपक्षीको स्वास्थ्यमा असर पर्छ । फलस्वरूप उत्पादन हुने अण्डा र मासुमा पनि टक्सिन आउने विभागको दाबी छ । ‘यी सबै हेरेर अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाउनेछौं,’ उनले भने । अब बन्ने दाना ऐन सबै जिल्लामा लागू गर्ने निर्णय भएको छ । हाल दाना पदार्थ ऐन ४० जिल्लामा मात्रै लागू भएको छ । दाना पदार्थको उत्पादन तथा बिक्री वितरण मुलुकभरि नै भएकाले ऐनको दफा १ को उप दफा ३ बमोजिम मुलुकभरि (सबै प्रदेश तथा स्थानीय तहमा) लागू गर्ने निर्णय गरिएको छ । ‘सबै जिल्लामा पशुपक्षीपालन हुन्छ । अब सबै प्रदेश तथा स्थानीय तहमा लागू गर्नेछौं,’ महानिर्देशक कर्णले भने । उनका अनुसार समितिले गरेको निर्णय मन्त्रिपरिषदको बैठकबाट अनुमोदन गर्नुपर्छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि कार्यान्वयन हुनेछ । महानिर्देशक कर्णले मन्त्रिपरिषद् बैठकमा पेस गर्न प्रस्ताव तयार भइरहेको बताए । ‘प्रस्तावहरू बनाइसकेका छौं,’ उनले भने, ‘समितिले गरेको निर्णय स्वीकृत गर्न मन्त्रालयमार्फत पेस गर्छौं ।’

दाना पदार्थमा ढुसीजन्य विष माइक्रो टक्सिन हुँदा पशुपक्षीको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । त्यसको निवारणका लागि पनि मापदण्ड निर्धारण गर्ने निर्णय भएको छ । यसका लागि भेटनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. परशुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । दाना पदार्थको गुणस्तर सम्बन्धमा आएका गुनासोलाई सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. क्षितिज श्रेष्ठलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?