२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

टिकेन नेप्सेको वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ सरकार बनेपछि दुई दिन बढेको सेयर बजारको वृद्धि तेस्रो दिनसम्म टिक्न सकेन । यसकारण आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ११ अंकले घटयो । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी अन्तिम चरणमा पुगेपछि बुधबार साढे ८ अंकले बढेको थियो ।

बिहीबार (ओली प्रधानमन्त्री बनेपछि) सेयर बजारमा पनि केही उत्साह देखियो । यसकारण नेप्से परिसूचक ३६ अंकले उकालो लाग्यो । यद्यपि ती दिनमा नेप्से परिसूचक बढे पनि अपेक्षित रूपमा कारोबार रकम बढ्न सकेको थिएन । यसकारण बजारका जानकारहरूले परिसूचक बढे पनि कारोबारले ‘सपोर्ट’ नगरेको बताउँदै आएका थिए । आइतबार केही हदसम्म उनीहरूको विश्लेषण सही ठहरिएको छ ।


आइतबार परिसूचक ११.०५ अंकले घटेपछि समग्र नेप्से १ हजार ४ सय १३.९० विन्दुमा ओर्लियो । अघिल्लो दिनको तुलनामा परिसूचक ०.७८ प्रतिशतले कम हो । उक्त दिन कारोबार सुरु भएको १५ मिनेटमा १७ अंक बढेर १ हजार ४ सय ४४.८५ विन्दुमा पुगेको बजार अन्त्यसम्म सो विन्दुमा टिक्न नसकी घटेर बन्द भएको छ । कारोबार भएका ९ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढयो भने बाँकी समूहको परिसूचक घटयो ।


उक्त दिन जलविद्युत् समूहको परिसूचक १.८८ प्रतिशत, होटलको १.८४, लघुवित्तको १.७६, बिमाको १.४७, विकास बैंकको १.३२, वित्त कम्पनीको १.१४, ‘अन्य’ समूहको १.३ र बैंकिङ समूहको परिसूचक ०.२३ प्रतिशत घटे । करिब ७ हजार २ सय कारोबारबाट १ सय ५९ कम्पनीका १४ लाख २९ हजार ३ सय ५९ कित्ता सेयर किनबेच भए । ती खरिद बिक्रीबाट ५९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन सेन्सेटिभ परिसूचक ०.७१ र फ्लोट परिसूचक ०.७९ प्रतिशतले ऋणात्मक रहे ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?