कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यस्ता छन् वाम गठबन्धनका योजना

दुर्गा खनाल

काठमाडौँ — देउवा सरकारका आर्थिक भार पर्ने निर्णय खारेज गर्दै पाँच वर्षभित्र ग्यास र मटितेल विस्थापन गरी सम्पूर्ण क्षेत्रमा विद्युत् ऊर्जा प्रयोग गर्ने लगायतका नीति अघि सार्न वाम गठबन्धनले बनाएको कार्यदलले सुझाव दिएको छ । 

यस्ता छन् वाम गठबन्धनका योजना

वामगठबन्धनका तर्फबाट सरकारका नीति तथा योजनामा समेट्नुपर्ने कार्यक्रमहरूबारे सुझाव दिन एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय युवराज खतिवडा, मीनबहादुर श्रेष्ठ, एमालेका भीम रावल, विजय पौडेल र माओवादीका वर्षमान पुन, गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल बनेको थियो । उक्त कार्यदलले आइतबार प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

एमालेका तर्फबाट कार्यदल सदस्य विजय पौडेलका अनुसार अधिकतम रूपमा खर्च कटौती गर्न र राजस्वको दायरा फराकिलो बनाउन सरकारलाई सुझाव दिइएको छ । ‘संघीयता कार्यान्वयनका लागि बजेट आवश्यक पर्छ, त्यसैले राजस्वका नयाँ स्रोतहरू पहिचान गरी व्यवस्थापन गर्नुपर्ने हाम्रो निकर्ष छ,’ पौडेलले कान्तिपुरसँग भने ।

कार्यदलले चुनाव घोषणापछिका देउवा सरकारका केही निर्णयहरू आर्थिका भार थोपर्ने खालका भएको निष्कर्ष निकाले छ । कर्मचारी अवकाश योजना, वृद्धभत्ता पाउने उमेर घटाउने लगायत निर्णय आर्थिक भार बढाउने खालको भएको कार्यदलको निष्कर्ष छ । त्यस्तै कतिपय निकायहरूमा गरिएका चारवर्षे नियुक्तिको कानुनी पक्ष ख्याल गरेर खारेज गर्ने दिशामा लाग्न सरकारलाई सुझाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो टुंग्याउनुपर्ने र त्यसका लागि कतै अप्ठयारो छ भने हटाउनुपर्ने सुझावमा उल्लेख छ । प्रत्येक प्रदेशमा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने र त्यसबाट विद्युत् उत्पादन गर्ने योजना कार्यदलले अघि सारेको छ । प्रशोधन केन्द्र स्थापना केही खर्चिलो भए पनि त्यसले वातावरण स्वच्छ बनाउने र ऊर्जा क्षेत्रमा पनि सहयोग गर्ने निष्कर्ष प्रतिवेदनमा छ । प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र र गाउँ/नगरमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्न सुझाइएको छ ।

विद्यमान अञ्चल अस्पतालहरूलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने र त्यसलाई सरकारले नै चलाउने खालको नीति अवलम्बन गर्नुपर्ने कार्यदलको सुझाव छ । प्रस्तावित मनमोहन मेडिकल कलेजलगायत निजी मेडिकल कलेजको विषयमा भइरहेको विवादबारे भने कार्यदल मौन बसेको छ । उसले कलेजहरू सरकारले नै सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । हाल इन्जिनियरिङ कलेजहरू खोल्नका लागि विभिन्न ठाउँबाट सम्बन्धन लिनुपर्ने प्रावधान अव्यावहारिक भएकाले त्यसलाई एकद्वार प्रणालीमा लैजानुपर्ने सुझाव दिइएको छ । एउटै निकायबाट सम्बन्धन लिएर त्यसलाई शिक्षा मन्त्रालयले अुनगमन गर्ने व्यवस्था मिलाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।


सार्वजनिक खरिदसम्बन्धी ऐनमा भएका कपितय प्रावधानहरूले खरिद प्रक्रिया लामो हुने गरेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्न सुझाव दिइएको छ । खरिद प्रक्रियाले लामो समय लिँदा योजना कार्यान्वयन गर्ने समय लम्बिने गरेकाले यसमा पुनर्विचार गर्नुपर्ने कार्यदलको निष्कर्ष छ ।


हालको राष्ट्रिय योजना आयोग विज्ञहरूको समूह भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने कार्यदलको सुझाव छ । पूर्ववर्ती सरकारले अब आयोगको आवश्यकता नपर्ने भन्दै खारेज गर्नुपर्ने अवधारणा तयार गरेको थियो । त्यस्तै नेसनल ट्ेरडिङ कम्पनी खारेज गर्नु गलत भएको निष्कर्ष पनि कार्यदलको छ । त्यसलाई पुन: सञ्चालनमा ल्याउनुपर्ने उल्लेख छ ।

संघीयता कार्यान्वयनमा प्रशासनिक खर्च बढी लाग्ने भएकाले यसमा मितव्ययिता अपनाउन भनिएको छ । जसका लागि मन्त्री र सांसद्हरूको सुविधामा मितव्ययिता अपनाउने भनिएको छ । महँगो सवारी साधन खरिद नगर्न, मन्त्रालयहरूमा व्यक्तिपिच्छेभन्दा पनि सकेसम्म सवारी साधन सेयर गर्ने खालको विधि अपनाएर खर्च कटौती गर्न सुझाव दिएको छ ।

कार्यदलले विकासमा काम अघि बढाउनका लागि मुख्य चुनौती बजेटलाई नै ठानेको छ । त्यसैले राजस्व उठाउने क्रममा भएका कमजोरीलाई कसिलो बनाउन भनेको छ । त्यस्तै कर्मचारी तन्त्रको कार्यशैली चुस्त नभएका निष्कर्ष छ । कर्मचारीलाई कामकाजी बनाउने र बढीभन्दा बढी काममा लगाउनका लागि हालको संरचनाका कार्यशैलीलाई नयाँ ढंगले व्यवस्थापन गर्न भनिएको छ ।


कार्यदलको प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री ओलीले छोटो समयमा उपलब्धिमूलक प्रतिवेदन तयार गरेर दिएको भन्दै धन्यवाद दिए । उनले सरकारको नीति तथा कार्यक्रम तयार गर्नका लागि यो प्रतिवेदन मुख्य आधार भएको बताएका थिए ।

प्रतिवेदनमा वामगठबन्धनले चुनावमा जानुअघि तयार गरेको संयुक्त घोषणापत्रमा मुख्य विषयहरूलाई राखिएको छ । गठबन्धनको चुनावी घोषणापत्रमा २, ३ ,५ ,१० वर्षभित्र गर्ने कामको प्राथमिकता तोकिएको छ । कार्यदलको प्रतिवेदन पनि घोषणापत्रमा मुख्य बुँदाहरूमा आधारित रहेर नै बनाइएको छ ।


कार्यदलको सुझाव

  • पाँच वर्षभित्र ग्यास र मटितेलको सट्टा विद्युत् ऊर्जा
  • प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना
  • फोहोर प्रशोधन केन्द्र स्थापना, फोहोरबाट विद्युत् उत्पादन
  • प्रत्येक गाउँ नगरमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना
  • अञ्चल अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति
  • सरकारले नै मेडिकल कलेज स्थापना गर्ने
  • राष्ट्रिय योजना आयोग खारेज गर्न नहुने
  • नेसनल ट्रेडिङ लिमिटेडलाई ब्युँताउने
  • करको दायरालाई अझै कसिलो बनाउने
  • सरकारी खर्च कटौती गर्ने

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?