भारतमा बैंक घोटाला: रकम निकालिएको शाखा बन्द

एजेन्सी

काठमाडौँ — भारतको संघीय प्रहरीले मुलुककै सबैभन्दा ठूलो ऋण घोटाला भएको दक्षिण मुम्बईको शाखालाई बन्द गरेको छ । अर्बपति ज्वेलर्स निरभ मोदीले पन्जाब नेसनल बैंक (पीएनबी) का कर्मचारीको मिलेमतोमा बैंकमा उक्त घोटाला गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

निरभसहितका अन्य माथि १ दशमलव ८ अर्ब अमेरिकी डलर घोटाला गरेको आरोप छ । यसबारे बैंकसहित त्यहाँको केन्द्रीय जाँच ब्युरो (सीबीआई) र अन्य सरोकारवाला निकायले अनुसन्धान सुरु गरिसकेका छन् । घोटालाबारे समाचार सतहमा आएलगत्तै निरभको प्रमुख अखाडाहरूमा छापा मारिसकेको छ । उनीविरुद्ध मुद्दासमेत दायर गरिसकिएको छ । तर, निरभले उनीवरुद्ध लगाइएको आरोप र मुद्दाबारे तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् ।


यसैबीच घोटालाबारे अनुसन्धानका क्रममा शंकास्पद तीनजनालाई पक्राउ गरिएको छ । निरभ भने अघिल्लो महिना नै भारत छाडेर विदेश पलायन भइसकेका छन् । भारतीय समाचार संस्था ‘एएनआई’ का अनुसार निरभ स्विटजरल्यान्डमा छन् । भारत सरकारले भने उनको पासपोर्ट रद्द गरिसकेको छ । समाचार संस्था रोयटर्सका अनुसार पीएनबीका निर्देशकले प्रदान गरेको पत्रका आधारमा निरभले सन् २०११ देखि २०१७ सम्ममा गलत तरिकाले १ दशमलव ८ अर्ब अमेरिकी डलर बराबरको रकम निकालेका थिए । बैंकले अझै पनि मुलुकै सबैभन्दा ठूलो घोटालाबारे अनुुसन्धान भइरहेको जनाएको छ । पीएनबी बैंकमा घोटालाबारे समाचार सार्वजनिक भएलगत्तै सेयर बजारमा बैंकको सेयर मूल्य घट्दो क्रममा छ । सोमबार बैंकको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको बीबीसीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?