२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वित्तीय अपराधमा आठ पक्राउ

वेदराज पौडेल

इटहरी — बैंकभन्दा बाहिरै अवैध रूपमा वित्तीय कारोबार गर्ने पाँचटा अवैध इन्भेस्टमेन्ट कम्पनीबाट आठजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । उनीहरूले १० करोड रुपैयाँ बैंकिङ नियमभन्दा विपरीत २४ प्रतिशतसम्म मासिक ब्याजमा लगाएको कागज प्रहरीले फेला पारेको छ । बैंकमा रकम अभाव (तरलता) भएपछि प्रहरीले अवैध कारोबार भइरहेको बारे अनुसन्धान थालेको थियो । 

कम्पनी रजिस्ट्रारको कार्यालयमा अर्कै उद्देश्यका लागि संस्था दर्ता गरेर महँगोमा ब्याज लगाउने गरेको पाइएको अनुसन्धानमा रहेका प्रहरी अधिकृत श्याम लोहियाले बताए । वित्तीय अपराधमा इटहरीको आपन इभेस्टमेन्ट प्रालिबाट भीमप्रसाद चौधरी, श्यामपेसकार थारूलाई पक्राउ गरेको छ । उनीहरूले गरेको कारोबारको रजिस्टर, चेक, भौचर, नक्सा, भर्पाईलगायत कागजात प्रहरीले नियन्त्रणमा लिएको छ ।


आइतबारदेखि सीआईबीले थालेको अपरेसनमा हलेसी इन्भेस्टमेन्ट धरानबाट चन्द्र विक र अनिता विक, त्यस्तै चौतारी इन्भेस्टमेन्ट प्रालि विराटनगरबाट राजु शाह, मन्सुन इन्भेस्टमेन्ट प्रालि इटहरीका सञ्चालक सुनील गुरागाई, छिन्ताङ इन्भेस्टमेन्ट प्रालि इटहरीबाट डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । गुरागाई इटहरी उपमहानगरपालिका ४ का वडा सचिव हुन् । उनको संलग्नताले इटहरी उपमहानगरपालिकाभित्र राजस्वमा हुने गरेको अनियमिततासमेत वित्तीय अपराधमा जोडिएको छ ।


राजस्वमा दाखिला भएको करोडौं रुपैयाँँ ११ महिनासम्म बैंक दाखिला नगरी यसरी नै अवैध संस्थाबाट मिटर ब्याजमा लगाउने गरेको यसअघि नै खुलेको थियो । अडिटका बेला वर्षको असार मसान्तमा मात्र नगरपालिकाको खातामा रकम जम्मा गर्ने र अन्य बेला महँगोमा उक्त रकम कर्मचारीहरू सम्मिलित वित्तीय संस्थाबाट कारोबार हुने गरेको सामाचार कान्तिपुरमा प्रकाशित भइसकेको छ ।


प्रहरीका अनुसार ओपन इन्भेस्टमेन्टबाट २ करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेस्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध कारोबार भएको कागजात फेला पारिएको छ । अहिलेसम्म अनुसन्धान टोलीले पाँचवटा संस्थाबाट ९ करोड ९७ लाख ८९ हजार ६ सय ७१ रुपैयाँ कारोबार भएको कागजात फेला पारेको छ । कारोबार रकमबारे थप खुल्न बाँकी रहेको सीबीआईले जनाएको छ ।


सुन पसले, जग्गाको दलाली र अन्य अवैध कारोबारका लागि धितोमा राखी २४ प्रतिशत मासिक ब्याजमा कारोबार गर्ने गरिएको देखिएको सीआईबीले जनाएको छ । कतिपयका कार्यालय नै छैनन् । उनीहरूले झोलामै बोकेर कार्यालय सञ्चालन गर्दै आएका छन् । मुलुकभरमा यस्ता गिरोह रहेको र उनीहरूले अर्बाैं रुपैयाँ बैंकभन्दा बाहिरै कारोबार गर्ने गरेको स्रोतले बतायो । डीएसपी लोहियाका अनुसार निक्षेपमा १० प्रतिशत ब्याज दिने र आफूले २४ प्रतिशतसम्म ब्याजमा लगाउने गरेको पाइएको छ ।


कम्पनी रजिस्ट्रारको कार्यालयमा जुन उद्देश्यका लागि संस्था दर्ता गरिएको हो, त्यो उद्देश्यमा काम नगरी वित्तीय कारोबार गरेको भेटिएको छ । त्यस्तै वित्तीय कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको स्वीकृति लिनुपर्नेमा सो नगरी कारोबार तथा ऋण प्रवाह गरेको भेटिएको छ ।


इन्भेस्टमेन्ट कम्पनी एकै ठाउँमा कार्यालय खोलेर सञ्चालन नगरी झोलामा राखेर सुविधाअनुसार विभिन्न स्थानमा पुगी ऋण प्रवाह गरेको देखिएको छ । छ महिनाअघि धरानका बैंकहरूमा भएको अनियमितताबारे स्थानीय सञ्जय राईको पुतलीलाइनस्थित सुन पसलमा छापा मार्ने क्रममा सीआईबीले इम्यानुएल इन्भेस्टमेन्ट कम्पनीको नामका पासबुक र कागजात फेला पारेको थियो ।

छ महिनाअघि भेटिएको इम्यानुयल इन्भेस्टमेन्ट कम्पनीको खोजीमा कम्पनी रजिस्ट्रारको कार्यालमा जाँदा पूर्वमा मात्रै एक सयभन्दा बढी इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा रहेको नयाँ तथ्य भेटिएपछि यो अपरेसनको योजना बनेको सीआईबीका एक अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?