२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सात अर्बको हकप्रद सेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

रमेश लम्साल, रासस

काठमाडौँ — विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । 

सात अर्बको हकप्रद सेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।


आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद सेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२/७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो ।


यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । उक्त कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता सेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो ।


यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद सेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२/७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो ।


यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२/७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो ।


हकप्रद सेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३/७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ ।


हकप्रद सेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१/७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको सेयर सूचीकृत रहेको छ ।


पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक


चालू आवको पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सत्रवटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् । समीक्षा अवधिमा १५ बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । उक्त अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ । उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बीमा दाबी भुक्तानी गरेको छ । सबैभन्दा कम खुद नाफा कमाउने बीमा कम्पनीमा एभरेष्ट रहेको छ । एभरेष्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?