कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु तौल काँटामा ठगी

अमन कोइराला

सर्लाही — चिनी मिलले उखु संकलनका लागि जिल्लाका टाढा पर्ने विभिन्न ठाउँमा राखेको तौल काँटामा जोख्दा ठगिएको किसानले गुनासो गरेका छन् । 

गोरुगाडामा लगेको उखुमा एक क्विन्टलसम्म तौल घट्ने गरेको किसानले बताए । ट्रयाक्टर र ट्रकमा क्रमश: ४ देखि ८ क्विन्टलसम्म घट्ने गरेको छ ।


चक्रघट्टाका किसान रामसुरेश रायले तौल काँटामा जोख्दा जहिले पनि गडबड हुने गरेको बताए । ‘तौल काँटामा चित्त नबुझेर मिलमा जोख्दा जहिले पनि बढी हुन्छ,’ उनले भने, ‘टाढाका किसान ढुवानी गर्ने साधन नपाएर काँटामा दिन बाध्य छन् । तौलमा भइरहेको ठगी छानबिन हुनुपर्छ ।’


काँटाको तौलमा गडबड हुन थालेपछि टाढाका किसानले मिलमै उखु लैजान थालेका छन् । मिलको तौल मेसिन ‘डिजिटल’ भएकाले यथार्थ वजन निस्कने गरेको किसानको भनाइ छ । काँटामा राखिएका पुराना तौल गर्ने साधनले घटी परिणाम निकाल्ने गरेको अर्का किसान रजनीकान्त झाले बताए । उनका अनुसार किसानले अन्दाज गरेर ल्याएको भन्दा कम तौल निस्केपछि बारम्बार विवादसमेत हुने गरको छ । ‘काँटा ढक भएर हजारौं किसान ठगिएका छन्,’ उनले भने, ‘मिलमा लगेर तौल गर्दा बढी देखिन्छ । यसले गर्दा टाढाका किसान मारमा परेका छन् ।’


काँटामा तौल गडबड हुन थालेपछि किसानले टाढा भए पनि मिलमै उखु पुर्‍याउने क्रम बढेको छ । किसानले चिनी मिलले आम किसानलाई ठग्दा कुनै निकायले पनि चासो नदिएको गुनासो गरे । ‘बर्सेनि हजारौं किसान लुटिएका छन्,’ रायले भने, ‘यसमा छानबिन गरेर चिनी मिललाई कारबाही गर्ने निकाय नहुनु अचम्म हो । सोझा किसान लुटिँदा कसैले मतलव हुँदो रहेनछ ।’


जिल्लामा इन्दुशंकर चिनी उद्योग, अन्नपूर्ण सुगर मिलका काँटा छन् । त्यसबाहेक रौतहट, महोत्तरी, बाराका मिलका काँटा पनि छ । जिल्लाकै मिलमा उखु बेच्ने किसानले तौल काँटामा ठगिएको गुनासो गरेका हुन् ।


अन्य जिल्लामा बेच्नेले काँटालाई दिनुको विकल्प नभएकाले ठगिएको थाहा पाउँदैनन् । झाले मुख्य सिजनमा उखु ढुवानी गर्ने साधन नपाएर ठगिएको जान्दा जान्दै काँटामा दिनुपर्ने बाध्यता सुनाए ।

‘काँटामा तौल गरेको चित्त नबुझेर मिलमा लैजाँदा ठगिने गरेको थाहा भयो,’ उनले भने, ‘धेरै फरक पर्न थालेपछि सकेसम्म मिलमै पुर्‍याउने गरेका छौं ।’


ठगिने क्रम चलेको वर्षाैं भइसक्यो । हजारौं किसान यसबाट ठगिएका छन् । एकातिर महँगी बढेअनुसार उखुको मूल्य नपाउनु अर्काेतिर तौल घटाएर झन ठगिनुलाई किसानले अत्याचार मानेका छन् । काँटाबाट तौलेर ल्याएको भन्दा बढेको उखुबाट हुने आम्दानी कर्मचारीको पोल्टामा जाने गर्छ । किसानलाई बैंकमार्फत भुक्तानी हुने भएकाले बढेको बराबर कर्मचारीले मिलेर कुनै बहानामा फाइदा गर्ने गरेको झाले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?