कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कालिञ्चोकमा लगानीकर्ता आकर्षित

राजेन्द्र मानन्धर

दोलखा — आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको कालिञ्चोकले ठूला लगानीकर्तालाई भित्र्याउन थालेको छ । सूर्योदय, पर्वतीय दृश्य, हिउँको आकर्षण र धार्मिक विश्वास रहेको कालिञ्चोकमा वर्षदिनको अन्तरालमा करोडभन्दा माथिका दर्जन हाराहारीमा ठूला परियोजनाहरू सुरु भएका छन् ।

कालिञ्चोकमा लगानीकर्ता आकर्षित

काठमाडौंबाट आउने पर्यटकको चाप बढेसँगै करिब ४० करोड लगानीको केबलकारदेखि तारे होटलसम्मका योजना बनिरहेका छन् । नयाँ वर्षको दिनदेखि केबलकार सञ्चालनमा आउनेछ । केबलकार सञ्चालक कम्पनी कालिञ्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटी नयाँ वर्षको दिनदेखि चारवटा क्याबिनमा दैनिक २५ सय मानिस ओसार्न सक्ने गरी काम भइरहेको जानकारी दिए । ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवतीको दर्शनकै लागि वार्षिक एक लाख पर्यटक बास बस्ने गरी आउँछन् । मन्दिर व्यवस्थापनमा खटिरहेका होटल व्यवसायी बुद्धसिंह तामाङका अनुसार बिहान आएर बेलुकी फर्कनेको त हिसाब नै राख्न सकिन्न । हिउँ खेल्न भनेर आउने पर्यटक अधिक हुने अर्का होटल व्यवसायी सोनाम शेर्पा बताउँछन् । यसपाला हिमपात कम भएकाले पर्यटक आगमनमा केही कम देखिएको छ ।


केही समयअघिसम्म स्थानीय शेर्पा र तामाङ जातिका छाप्रे होटलले यहाँको पर्यटन उद्योग थेगेको थियो । अहिले धमाधम आधुनिक शैलीका रिसोर्टहरू बनिरहेका छन् । स्टार होटलको सम्भाव्यता अध्ययनलाई केबलकारकै लगानीकर्ताहरूले अघि बढाएका छन् ।


राजधानीमा होटल व्यवसाय गर्ने, पार्टी प्यालेस चलाउने र हाउजिङ क्षेत्रका व्यवसायीहरू पनि कालिञ्चोकमा पर्यटन व्यवसायको सम्भावना खोजेर आइरहेका छन् । केहीले स्थानीयसँग मिलेर जमिन ओगट्ने कार्य गरिरहेका छन् ।


पहिला सामुदायिक वनको भनिँदै आएको जग्गा गुठी संस्थानले प्रमाण जुटाएर स्वामित्वमा लिएपछि कालिञ्चोकमा भाडामा जमिन लिँदै व्यवसाय सञ्चालन गर्नेहरू बढेका हुन् । परापूर्वकालदेखि छाप्रे व्यवसाय र चौरीपालनमा रमेका रैथानेहरूले ओगटेका जमिनहरूमा साझेदारी गर्दै ठूला लागनीका व्यवसायी भित्रिरहेका छन् । स्थानीय नागरिकता भएकाबाहेक अरूले उक्त जमिनहरू भाडामा लिन नपाउने नीति छ । स्थानीयले गुठी संस्थानलाई भाडा तिर्छन् भने वास्तविक लगानीकर्ता अरू नै हुने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।


लगानीकर्ताको आकर्षक गन्तव्य बनेसँगै रैथानेका छाप्रे होटलहरू पनि सुविधायुक्त चिटिक्कका घरमा परिणत भइरहेका छन् । दुई दशक होटल व्यवसाय सञ्चालन गरेर बसेका चन्द्र लामाले पुरानोलाई केही सुधार्दै नयाँ अर्को सुविधा सम्पन्न होटल बनाएका छन् । राजधानी काठमाडौंबाट १ सय ३३ किलोमिटर अरनिको राजमार्ग लामोसाँघु–जिरी सडकबाट चरिकोट हुँदै अर्को १७ किलोमिटर यात्रापछि कालिञ्चोक पुगिन्छ । उक्त मार्गबाट धेरै पर्यटक आउँछन् । बीपी राजमार्गको खुर्कोट हुँदै भारत र तराईका जिल्लाबाट पनि कालिञ्चोक आउने भेटिन्छन् ।


दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर मोटर बाटो पक्की हुने क्रमसँगै बढेको पर्यटकलाई आकर्षण दिन होटलहरूले प्याकेजहरूको व्यवस्थासमेत गर्न थालेका छन् । कालिञ्चोकको सडक कालोपत्रेको काम सम्पन्न भएपछि र केबलकार सञ्चालनमा आएपछि कालिञ्चोकमा पर्यटक चौबर बढ्ने आकलनले व्यवसायीहरू तानिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की बताउँछन् ।

माघ महिनामा भएको हिमपातका दिन कालिञ्चोकमा १० हजार पर्यटक पुगेको अध्यक्ष कार्कीले बताए । हिउँ र मन्दिरबाहेक कालिञ्चोक क्षेत्रबाट देखिने रोल्वालिङ र लाङटाङ हिमशृंखला, गाउँबस्ती, खोलानाला, जंगलहरूको आकर्षणले मानिसको भीड लागिरहने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?