कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

४ वर्षे योजनाले १० वर्ष टेक्यो 

कुलेखानी ३ जलविद्युत् आयोजना
प्रताप विष्ट

हेटौंडा — चार वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालिएको कुलेखानी ३ जलविद्युत् परियोजना १० वर्ष पुग्दा पनि टुंगिने संकेत देखापरेको छैन । २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । आयोजनाको इलेक्ट्रोमेकानिकलको निर्माण कार्य मंगलबारदेखि रोकिएको छ । कामदारले समयमा तलब नपाएको भनेर काम रोकेका हुन् । आयोजनाको काम सुस्त गतिमा बढिरहेको थियो । 

४ वर्षे योजनाले १० वर्ष टेक्यो 

इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको चीनको जिज्याङ कम्पनीको ढिलाइका कारण कुलेखानी ३ को निर्माण कार्य पछाडि धकेलिएको धकेलिएकै छ । कम्पनीले हालसम्म करिब ७५ प्रतिशतमा काम सम्पन्न गरेको छ । अझै २५ प्रतिशत निर्माण कार्य बाँकी छ । ‘गेटहरू निर्माण गर्नुको साथै तारहरू तान्ने काम सुरु नै भएकौ छैन,’ आयोजनाका एक अधिकृतले भने, ‘तीव्र गतिमा काम गरियो भने चार महिना लाग्छ, यस्तै तरिकाले एक वर्ष पनि लाग्न सक्छ ।’ सिभिल वर्कको कार्य केही दिनभित्रमा सम्पन्न हुने अवस्थामा पुगेको छ । विद्युत्गृहतर्फ आउने पक्की बाटो बनाउने काम गरिरहेका छन् । केही काम इलेक्ट्रोमेकानिकलसँग जोडिएको हुन्छ । इलेक्ट्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलाइले गर्दा सिभिलका ठेकेदारहरू अलमलिएका छन् ।


नेपाल विद्युत् प्राधिकरणले सिभिल वर्कको जिम्मा लिएको ठेकेदार कम्पनीलाई चैतसम्म म्याद थप गरेको छ । ‘यो अवधिमा उनीहरूले काम सक्नेछन्,’ आयोजनाका एक इन्जिनियरले भने, ‘इलेक्ट्रोमेकानिकलसँग जोडिएका केही सिभिल कामहरू पछि गराउनेछौं ।’ आयोजनाको सिभिल वर्कको निर्माण कार्यको ठेक्का सिनो हाइड्रो कम्पनीले लिएको छ । इलेक्ट्रोमेकानिकलतर्फको निर्माण हालसम्म ८० प्रतिशत मात्र काम सकिएको छ ।


विद्युत् गृह जडान गर्ने उपकरण विगत २ महिनादेखि कोलकाता बन्दरगाहमा नै रोकिएको छ । इलेक्ट्रोमेकानिकलको काम सुस्त गतिमा भइरहेको छ । ‘यस्तै ढंगले काम भयो भने २०७४ सालमा पनि कुलेखानी ३ को निर्माण कार्य सम्पन्न हुँदैन,’ आयोजनाका एक इन्जिनियरले भने । इलेक्ट्रोमेकानिकलतर्फको निर्माण कम्पनीको ढिलाइको कारणले आयोजनाका लागत र समय बढेको छ । आयोजनाले इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको चिनियाँ जिज्याङ कम्पनीलाई हर्जाना पनि तिराइसकेको छ । हर्जाना तिराइसकेकाले उसलाई काम सम्पन्न गर्न समय थप्नु पर्दैन । उक्त कम्पनीबाट हर्जाना तिराउँदै छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने वा ठेक्का खारेज गर्नेबाहेक अन्य विकल्प प्राधिकरणसँग छैन । नेपाल विद्युत् प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख हरेराज न्यौपानेले भने, ‘इलेक्ट्रोमेकानिकलको ठेकेदार कम्पनीलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न दबाब दिइरहेका छौं ।’

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्न अझै केही महिना लाग्छ ।


निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । पटकपटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढ्ने अनुमान गरिएको छ ।


कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले यसको लागत बढेर ४ अर्ब ६३ करोड अर्थात् प्रतिमेगावाट ३१ करोड रुपैयाँ पुगेको छ । अझ यो लागत बढ्नेछ । ४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना १ सय १९ महिना बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो ।


तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएकाले आयोजनाको लागत बढेको छ । वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ । १४ मेगावाट विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा करिब ४ अर्ब खर्च भइसकेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?