चर्काे ब्याज लिने सार्वजनिक

वेदराज पौडेल

इटहरी — अवैध बैंकिङ संस्थामार्फत ४८ प्रतिशतसम्म मिटरब्याजमा रकम लगानी गर्ने ५ कारोबारीलाई प्रहरीले सार्वजनिक गरेको छ । वित्तीय कारोबारको इजाजत नै नलिई उनीहरूले ४८ प्रतिशतसम्म रकम ब्याजमा अवैध रूपमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालयले वित्तीय अपराधमा पक्राउ परेका ८ मध्ये इटहरी क्षेत्रका ५ जनालाई बुधबार सार्वजनिक गरेको हो । इटहरीका ४ वटा कम्पनीका अवैध वित्तीय कम्पनीहरूले झन्डै एक अर्बको कारोबार बैंकभन्दा बाहिर नै गर्ने गरेको प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । बैंकहरूमा रकम अभाव हुनुको एउटा कारण भनेको यस्ता अवैध कारोबारी नै भएको उनले बताए ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा अर्कै उद्देश्यका लागि संस्था दर्ता गरेर महँगोमा ब्याज लगाउने गरेको पाइएपछि त्यस्ता हिडेन कम्पनीहरूमा छापा मारी त्यसका सञ्चालकलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले बताए । वित्तीय अपराधमा इटहरीको आपन इभेस्टमेन्ट प्रालिबाट भीमप्रसाद चौधरी, श्याम पेसकार थारूलाई पक्राउ गरेको छ । उनीहरूले गरेको कारोबारको रजिस्टर, चेक, भौचर, नक्सा, भर्पाइ लगायतका कागजात प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनसुन इन्भेस्टमेन्ट प्रा.लि. इटहरीका सञ्चालक सुनिल गुरागाईं, छिन्ताङ इन्भेस्टमेन्ट प्रालि इटहरीबाट डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । गुरागाईं इटहरी उपमहानगर पालिका वडा नं. १७ का वडा सचिव हुन् । इटहरी क्षेत्रबाट पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय इटहरी वित्तीय अपराधमा मुद्दा दर्ता गराएका छन् ।

हलेसी इन्भेस्टमेन्ट धरानबाट पक्राउ परेका चन्द्र विक, अनिता विकलाई धरान इलाका प्रहरी कार्यालय र विराटनगरको चौतारी इन्भेस्टमेन्ट प्रालिबाट पक्राउ परेका राजु शाहलाई जिल्ला प्रहरी कार्यालय मोरङले वित्तीय अपराधमा मुद्दा चलाउँदै छन् ।

प्रहरीका अनुसार ओपन इन्भेस्टमेन्टबाट २ करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मनसुन इन्भेस्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध कारोबार भएको कागजात फेला पारिएको छ । अहिलेसम्म अनुसन्धान टोलीले पाँचवटा संस्थाबाट ९ करोड ९७ लाख ८९ हजार ६ सय ७१ रुपैयाँ कारोबार भएको कागजात फेला पारेको छ । कारोबार रकमबारे थप खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले इटहरीको पूर्णगिरी इन्भेस्टमेन्ट कम्पनीको कागजात जफत गरेको छ । त्यसका सञ्चालक नरबहादुर विष्ट र सुनसरी डुम्राहाका गजेन्द्र घिमिरे फरार रहेको प्रहरीले जनाएको छ ।

सुन पसले, जग्गाको दलाली र अन्य अवैध कारोबारका लागि धितोमा राखी ४८ प्रतिशत मासिक ब्याजमा कारोबार गर्ने गरिएको देखिएको सीबीआईले जनाएको छ । कतिपयका कार्यालय नै छैनन् । उनीहरूले झोलामै बोकेर कार्यालय सञ्चालन गर्दै आएका छन् । मुलुकभरमा यस्ता गिरोह रहेको र उनीहरूले अर्बाैं रुपैयाँ बैंकभन्दा बाहिरै कारोबार गर्ने गरेको स्रोतले बतायो ।

छ महिनाअघि भेटिएको इम्यानुयल इन्भेस्टमेन्ट कम्पनीको खोजीमा कम्पनी रजिस्ट्रारको कार्यालयमा जाँदा पूर्वमा मात्रै एक सय बढी इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा रहेको भेटिएपछि यो अपरेसनको योजना बनेको सीआईबीका एक अधिकारीले बताए । बिचौलिया पक्राउ इटहरी उपमहानगरपालिका २० बस्ने नवराज मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वित्तीय अपराधविरुद्धको अपरेसनबाट जोगाउने र सीआईबी मिलाउने भन्दै पैसा उठाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले सुनचाँदी व्यवसायी नरबहादुर राईसँग डेढ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा सीआईबी, क्षेत्रीय ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले हलगडाबाट पक्राउ गरेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?