राजस्व छलेर भित्रिँदै भारतीय उखु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा राजस्व छलेर धमाधम भारतीय उखु भित्रिने गरेको छ । खुला सिमानाले नारायणीपारि सुस्ता क्षेत्रमा यसरी भित्रिँदासमेत प्रशासन मौन छ । नेपाली किसान सस्तोमा उखु बेच्नुपरेको गुनासो गर्छन् । 

भारतीय र नेपाली सुरक्षाकर्मीले सिमानामा नरोकेपछि विहारको चकदहवाबाट दैनिक ५० भन्दा बढी भारतीय ट्याक्टरमा उखु भित्रिने गरेको छ । सीमा खुलै भएकाले क्रसर सञ्चालकले राजस्व छलेर सस्तोमा खरिद गरिरहेका हुन् । भारत र नेपालमा यसको मूल्य समान रहेको छ । तर नगद मूल्य तिर्दा भारतीय किसानले सस्तोमा बेच्ने गरेका छन् । क्रसर सञ्चालकले नेपाली मूल्यभन्दा कम रकममा खरिद गरेका हुन् ।


सुस्ताका किसानले चिनी उद्योगसम्म ढुवानी गर्न नसक्ने भएपछि स्थानीय क्रसरलाई बेच्नुपर्ने बाध्यता छ । केही किसानले जोखिम मोलेर डुंगामार्फत ठाडीघाटसम्म पुर्‍याउने गरेका छन् । त्यसपछि ट्याक्टरमा लोड गरेर उद्योगसम्म पुर्‍याउनुपर्ने भएपछि चिनी मिलले समेत सुस्तापारिको उखु खरिद गर्न मान्दैनन् । अन्य खेती नहुने र नगदे बालीका रूपमा उखुबाट जीविका चलाउँदै आएका स्थानीयले सरकारले निर्धारण गरेको मूल्यभन्दा केही कममा भेली तथा खुदो बनाउने क्रसरलाई बेच्दै आएका छन् । यस वर्ष भारतीय उखु खुलेयाम भित्रन थालेपछि किसान थप मर्कामा परेका छन् ।


यसअघि तीन सय भारतीय रुपैयाँ (भारु) प्रतिक्विन्टलसम्ममा बिक्री हुने उखु यस वर्ष भारतबाट दुई सय रुपैयाँ प्रतिक्विन्टलमा किनबेच भइरहेको छ । सस्तोमा पाएपछि क्रसर सञ्चालकले जिल्लाको उत्पादन खरिद गर्न छाडेका छन् । उनीहरूले धमाधम भारतीय उखु खरिद गरिरहेका छन् । चिनी मिलसम्म लैजान नसक्ने र स्थानीय क्रसरलाई सस्तोमा बेच्नुपर्ने भएपछि भारतीय उखु सीमामा रोकिदिन किसानले प्रशासनसमक्ष माग गरेका छन् ।


उखु उत्पादक किसान समिति नवलपरासी अध्यक्ष उमेश यादवका अनुसार खुलेयाम भन्सार छलेर उखु नेपाल भित्रँदासमेत नियन्त्रणका लागि पहल नभएको बताए । ‘किसान अप्ठ्यारोमा परेको समयमा झन् भारतबाट राजस्व छलेर उखु आइरहेको छ,’ उनले भने, ‘तत्काल विहारको उखु नेपाल आउन रोक्नेतर्फ प्रशासनले ध्यान दिनुपर्‍यो ।’


पुल नहुँदा मर्का

उद्योगसम्म लैजान नारायणी नदीमा पुल नहँुदा सुस्ताका किसानले गाउँमै क्रसिङ गर्न थालेका छन् । उनीहरूले भेली बनाउन थालेका छन् । जोखिम मोलेर नारायणी नदीमा डुंगामा उखु तारेर उद्योगसम्म पुर्‍याउन कठिन भएपछि गाउँमा नै पेलेर भट्टीमा पकाउन सुरु गरेका हुन् ।


उखुको मूल्य निर्धारण नहुँदा हचुवाको भरमा बेच्नुभन्दा सुस्तावासीले अहिले आफंै धमाधम भेली र खुदो बनाएर बेच्न थालेका हुन् । जोखिम मोल्नुभन्दा आफंै भेली र खुदो बनाएर भारत तथा नेपाली बनारमा बेच्ने थालेका हुन् ।


समयमा नै उखु काटेर नपेल्ने हो भने सुकेर जाने भएकाले उखु पेलेर भट्टीमा पकाउन उनीहरू लाई हतारो भएको हो । तीनतर्फ नारायणी नदी र अर्कोतर्फ भारतीय सिमाना रहेको त्रिवेणीसुस्ता ४ का किसानले नदीमा पुल नहुँदा उखु उद्योगसम्म लैजान सक्दैनन् ।


जसोतसो डुंगामा तारेर बेचेको उखुको पनी उद्योगले समयमा नै भुक्तानी नदिएपछि अहिले यहाँका अधिकांश किसानले गाउँमा नै उखु पेलेर भेली र खुदो बनाएका छन् । सुस्तामा मात्र अहिले यस्ता १५ भन्दा बढी घरेलु उद्योग सञ्चालनमा रहेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?