कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृषि र पशु बिमा प्रभावकारी भएन

विप्लव भट्टराई

इलाम — कृषि र पशुपालनमा नमुना जिल्लाका रूपमा चिनिने इलाममा बाली र पशु सुरक्षाका लागि कृषक नै उत्साही नभएको पाइएको छ । कृषि सुरक्षणको नामबाट ०६९ सम्म सञ्चालनमा रहेको कार्यक्रमलाई सरकारले थप प्रभावकारी बनाउन बिमालाई अघि सारेको छ । 

निर्जीवन बिमाका लागि बिमा कम्पनीलाई ०७१ देखि ठाउँ तोकिदिएपछि केही प्रभावकारी देखिए पनि पूर्ण रूपमा कार्यान्वयमा आउन सकेको छैन । इलाममा कृषि र पशुवाट वार्षिक अर्बौं रुपैयाँ भित्रिन्छ । तर लगानीको सुरक्षाका लागि कृषक तहबाट उति प्रयास भएको देखिँदैन । केही सुझबुझ भएकाहरूले बिमा गरेको देखिए पनि दिगो व्यवसायमा लम्किएका अधिकांश कृषक बिमा कार्यक्रमबारे बेखबर छन् ।

बिमाको राम्रा पक्षबारे सचेतना अभावमा कृषक उत्साहित नभएको देखिएको हो । त्यस्तै, बिमा गर्ने कम्पनीले पनि बाध्यकारी ढंगले मात्र कार्यक्रम अघि सारेका छन् । कार्यान्वयनमा मूख्य भूमिका खेल्न सक्ने जिल्ला कृषि विकास कार्यालयले पनि कृषकलाई उत्साहित बनाउन ठोस पहल नगरेको देखिएको छ ।


अघिल्ला वर्षमा चेतनामूलक केही कार्यक्रम भए पनि यो पटक हरेक स्थानीय तहबाट नै कृषि विकासका कार्यक्रम सञ्चालन हुने र ती निकायले न्यून मात्र बजेट छुटयाएकाले यो कार्यक्रम प्रभावकारी हुन समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामवरण शाहले बताए । झन्झटिलो प्रक्रियाका कारण पनि कृषक बिमा कम्पनीसम्म पुग्न सकेका छैनन् ।


के–केमा बिमा हुन्छ र कसरी

कृषि र पशुमा बिमा गर्दा बिमा गरिएको कुल रकमको ५ प्रतिशत बिमकलाई बुझाउनुपर्छ । तर नेपाल सरकारले ७५ प्रतिशत रकम बेहोर्ने भएकाले बिमा गर्न चाहनेले २५ रकम मात्र निकाले पुग्छ ।


कृषितर्फ अलैंची, अदुवा, धान, गहुँजस्ता अन्नबाली र आलु, खोर्सानी, टमाटरलगायत तरकारी बालीमा बिमा गर्न सकिन्छ । यी बालीमा कृषि मन्त्रालयले तयार परेको कृषि डायरीअनुसार क्षेत्रफल निर्धारण गरी उत्पादन अवधिभित्रको लागत मूल्यांकनको आधारमा बिमा गरिन्छ । इलाममा धेरै उत्पादन हुने चियामा भने बिमा गर्न मिल्ने प्रावधान छैन ।


किवी, अदुवा र अलैंचीमा यहाँ बिमा भएको पाइन्छ । विभिन्न बैंकले कृषि शीर्षकमा ऋण प्रभाव गर्दा बिमा अनिवार्य गरेपछि मात्र कृषकले बिमा गरेको पाइएको छ । यो वर्षको छ महिनामा अलैंची ३ लाख, किवी १५ लाख, अदुवा २० लाख रकम बराबरको बिमा भएको छ । नेको इन्सोरेन्स लिमिटेडले इलामसहित मेची अञ्चलका झापा, पाँचथर, ताप्लेजुङ र मोरङमा बिमा गर्दै आएको छ ।


कम्पनीको बुझाइअनुसार बाली बिमा कम्पनीका लागि उति उत्पादक देखिएको छैन । अघिल्लो वर्ष अदुवामा बिमा गर्ने अधिकांशले दाबी गरेका थिए । त्यस्तै पशुतर्फ इलाममा गाई र भैंसीमा बिमा हुने गरेको छ । यस आर्थिक वर्षको छ महिनाको अवधिमा १ हजार १२ वटा गाई र ६७ वटा भैंसीलाई बिमा गरेको कम्पनीले जनाएको छ । गाई, भैंसी, राँगा, घोडा, गधा, खच्चड, चौंरीगाई, याक र नाक, भेडा, बाख्रा, बोका, च्यांग्रा, बंगुर आदि जनावरमा बिमा गर्ने गरिए पनि इलाममा भने गाई र भैंसीको मात्र गर्ने गरिएको छ ।


बिमा गर्नका लागि कृषकले नागरिककताको फोटोकपी र प्रस्ताव फारम पेश गर्नुपर्छ । कृषकको मागअनुसार बिमकका प्रतिनिधि सम्बन्धित क्षेत्रमा नै गएर निरीक्षण गर्छन् । बिमक र बिमितबीचका समझदारीमा बिमा रकम तोकिन्छ । तर यसमा सरकारको मापदण्डलाई भने पछयाउनुपर्छ ।


बिमाका लागि सम्बन्धित प्राविधिकको सिफारिस पनि अनिवार्य हुने गरेको छ । जिल्लामा बाली र पशु बिमामा सक्रिय एक मात्र नेको इन्सोरेन्सले १२ जना अभिकर्ता मार्फत बिमा गराउँदै आएको छ । ‘बिमा गर्न इच्छुकलाई नियमभित्र रहेर सेवा दिंदै आएका छौं,’ इन्स्योरेन्सका कृषिविज्ञ सर्वज्ञ खतिवडाले भने ।

बिमा रकम कसरी पाइन्छ

बिमा गरेको बाली या पशुलाई कृषकस्तरबाट भरपूर स्याहारसुसार हुँदा पनि क्षति हुन सक्छ । दैविक प्रकोपलगायत विभिन्न कारणले पनि क्षति भए बिमा भएको पशु र बालीको हकमा निम्नअनुसार रक्षावरण (क्षतिपूर्ति) दिने प्रावधान रहेको छ । आगालागी, चटयाङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य बाहय कारणहरू र रोगकीराबाट हुने हानि नोक्सानीका आधारमा बिमकले रकम भुक्तानी गर्ने व्यवस्था छ ।


पशुको हकमा मृत्यु भएमा बिमांक रकमको ९० प्रतिशत, पूर्ण रूपमा अशक्त भएमा ५० प्रतिशत र पूर्ण स्थायी रूपमा थुनेलो भएमा ३० प्रतिशत रकम कृषकले पाउँछन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?