महभीरमा अलैंची खेती

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पहिलो पटक कृषि विकास कार्यालयले सामुदायिक वन समूहसँग सहकार्य गरेर अलैंची खेती सुरु गरेको छ । 

भीमफेदी गाउँपालिका ९ महभीरको सेपिलो र भिरालो स्थानमा विगत २ वर्षदेखि अलैंची खेतीका निम्ति बिरुवा रोप्ने काम गरिएको छ । आव ०७२/०७३ मा रोपिएका अलैंची आगामी वर्ष बजारमा पुग्ने अपेक्षा गरिएको छ ।


महभीर सामुदायिक वन समूहसँग सहकार्य गरेर कृषि विकास कार्यालय मकवानपुरले सामुदायिक वनभित्र पनि अलैंचीको बिरुवा लगाएको छ । सामुदायिक वनभित्र र बाहिर गरेर करिब साढे १२ हेक्टर जमिनमा अलैंचीका बिरुवाहरू लगाइएको छ । ‘महभीरमा हावापानी उपयुक्त भएकाले अलैंची खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्न खोजिएको हो,’ कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘विशेषगरी खेर गइरहेको ओसिलो र भिरालो जमिनलाई सदुपयोग गरिएको छ ।’


कृषि विकास कार्यालय मकवानपुरले इलामबाट अलैंचीका बिरुवा ल्याएर कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई उपलब्ध गराएको थियो । कार्यालयले इलामबाट प्रतिगोटा अलैंचीको बिरुवा ५ रुपैयाँमा खरिद गरेर ल्याएको थियो भने कृषकहरूलाई साढे २ रुपैयाँमा उपलब्ध गराएको थियो ।


कृषि विकास कार्यालयले अनुदानमा बिरुवा उपलब्ध गराउनुको साथै प्राविधिक सहयोग निरन्तर रूपमा उपलब्ध गराइरहेको छ । सामुदायिक जंगलबाट मुख्य गरी स्याउले घाँस र दाउरा पाइरहेका महभीरका बासिन्दाले अर्को वर्षदेखि अलैंची पनि पाउने भएका छन् ।

‘खेर गइरहेको जमिनमा अलैंची खेती गर्दा रमाइलो लागेको छ,’ स्थानीयवासी देवकुमार मोक्तानले भने, ‘अलैंची खेती इलामतिर मात्र हुन्छ कि क्या हो ? जस्तो लागेको थियो, यहाँ पनि फल्ने अवस्थामा पुग्यो ।’


महभीरका १६ जना कृषकहरूले आफ्नो निजी जमिनमा अलैंची खेती गरेका छन् । अलैंचीको बोट राम्रोसँग हुर्केको छ । अर्को वर्ष उत्पादन दिनेमा उनीहरू ढुक्क छन् । मोक्तानको जमिनमा १० हजार अलैंचीको बोट लगाएका छन् । सबैभन्दा बढी अलैंचीको बिरुवा लगाउने उनी नै हुन् ।


महभीरमा सामुदायिक वन र निजी जमिनमा गरेर २ लाख अलैंचीको बिरुवा लगाइएको छ ।

अलैंची खेती गर्न कृषि विकास कार्यालयले १० लाख रुपैयाँ अनुदान दिएको कार्यालय प्रमुख गदालले बताए । मकवानपुरको उत्तरी क्षेत्रको ओसिलो र भिरालो जमिन अलैंची खेतीको

निम्ति उपयुक्त भएको कृषि प्राविधिकहरूले बताएका छन । मकवानपुरको महभीरबाहेक

अन्य भागमा अलैंची खेती गरिएको छैन । अर्को वर्षदेखि महभीर क्षेत्रमा अलैंचीको उत्पादन

सुरु हुनेछ ।

प्रकाशित : फाल्गुन २०, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?