कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अलैंची खेती गर्न ताप्लेजुङबाट बागलुङ

हावापानी र मौसमअनुसार फल्ने बिरुवा लगेर लगाएका छन् 
आनन्द गौतम

ताप्लेजुङ — अलैंची उत्पादनमा ख्याति कमाएको ताप्लेजुङका किसानले बाग्लुङ जिल्लामा जग्गा भाडामा लिएर अलैंचीकै खेती गर्न थालेका छन् । फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई, लक्ष्मी काफ्ले, काजी भट्टराई, रुद्र थेवे, डिल्ली प्रसाई र डिल्लीराम प्रसाईको टोलीले बाग्लुङमा खेती गरेको हो । 

अलैंची खेती गर्न ताप्लेजुङबाट बागलुङ

बागलुङको लेखामी, काँडेबास, अमरभुमिको माँझखर्कमा दुई सय रोपनी जग्गा भाडामा लिएर खेती थालेको दुई वर्ष भएको छ । गुल्मीमा पनि १० रोपनीमा खेती लगाएका छन् । दुई वर्षअघि इलामबाट लगेर लगाएको अलैंचीबाट यो वर्ष साढे तीन मन उत्पादन गरेको काफ्लेले बताए । बिर्तामोडमा ल्याएर ३३ हजार प्रतिमनका दरले बिक्री गरेर पहिलो कमाइ साटेको उनले बताए । त्यहाँको हावापानी र मौसमअनुसार फल्ने रामसाई र जिर्मले जातको बिरुवा लगेर लगाएका छन् ।


‘हामी वर्षमा तीनपटक पुग्छौं,’ काफ्लेले भने, ‘भदौमा नल फाँडेर खेती उठाउँछौं, मंसिर–पुसमा गएर मल पानी लगाउँछौं र फागुन–चैतमा गएर फूलको वरिपरिको बगान सरसफाइ गर्छौं ।’ नियमित हेर्नका लागि स्थानीयलाई मासिक पारिश्रमिक दिएर राखेको उनले बताए । यो क्षेत्रफलमा तीन वर्षदेखि कम्तीमा ७० मनसम्म उत्पादन गर्ने लक्ष्य लगानीकर्ताको छ । अहिलेकै मूल्यमा २३ लाख रुपैयाँ आम्दानी हुन्छ । अहिले झापाको बिर्तामोडमा प्रतिमन (४० किलो) ३३ हजार रुपैयाँ रहेको छ । बागलुङको हावापानी ताप्लेजुङजस्तै अनुकूल भएको र पानी प्रशस्त भएकाले त्यहीँ गएर लगानी गरेको काफ्लेले बताए ।


लगानी गर्ने स्थानीय तहको निर्वाचनमा काजी सिरिजंगा गाउँपालिका अध्यक्ष, काफ्ले फुङलिङ नगरपालिका ५ को वडाध्यक्ष र तारा नगरपालिकाका उपप्रमुखमा माओवादीबाट उम्मेदवार भएका थिए । थेवे शिक्षक हुन् भने प्रसाई माओवादी पार्टीको सल्लाहकार । अलैंचीलाई अझै विस्तार गर्न जिर्मले जातको बिरुवाको नर्सरी गरेको र आगामी वर्ष रोप्न हुने काफ्लेले बताए । उनीहरूले अहिलेसम्म ३५ लाख रुपैयाँ खर्च गरेका छन् । अबको भदौदेखि आम्दानी लिने अपेक्षा गरिएको छ । अलैंची रोपेको दोस्रो वर्षमा सामान्य उत्पादन हुन्छ भने तेस्रो वर्षदेखि पूर्ण रूपमा उत्पादन सुरु हुन्छ । अलैंचीको बोटले ढाक्ने भएकाले उत्पादन सुरु भएको वर्षदेखि त्यसैलाई मल पानी लगाए पुग्छ । दोस्रो वर्षसम्म भने झाडी फाँड्ने, सिँचाइ पुर्‍याउने लगायतका काम गर्नुपर्छ ।


अहिले लगाइएको जमिन सबै भाडाको हो । जंगल र अन्न उत्पादन हुने दुवै क्षेत्रमा लगाएको भट्टराई बताउँछन् । ताप्लेजुङबाट गएको टोलीले लगाएपछि स्थानीयले पनि लगाइरहेका छन् । ‘त्यहाँको कृषि विकास कार्यालयले अहिले त्यो क्षेत्रलाई अलैंचीको पकेट क्षेत्र नै बनाएको छ,’ काफ्लेले भने, ‘तर, ताप्लेजुङ, पाँचथर, इलाममा जस्तो प्रशस्त लगाइएको छैन, भर्खर सुरुवात मात्रै हो ।’ ६१ वडा रहेको ताप्लेजुङमा फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलामा मात्रै अलैंची खेती छैन । कृषि प्रचार विभागको तथ्यांकअनुसार ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला हो । यहाँ २९ सय ४० टनसम्म अलैंची उत्पादन भएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?