४ वर्षभित्र १२ सय नयाँ पुल

मुख्य तथा सहायक राजमार्गमा– २७५
स्थानीय सडकमा– ९२६
विमल खतिवडा

काठमाडौँ — आगामी ४ वर्षभित्र १ हजार २ सय १ नयाँ पुल निर्माण हुने भएका छन् । मुख्य तथा सहायक राजमार्गमा २ सय ७५, स्थानीय सडकमा ९ सय २६ पुल निर्माण हुने जानकारी सडक विभाग पुल महाशाखाले दिएको हो ।

४ वर्षभित्र १२ सय नयाँ पुल

महाशाखाका अनुसार नयाँ पुल निर्माणका लागि अधिकांशको टेन्डर भइसकेको छ । ‘नयाँ पुल निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको छ,’ महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘आवश्यकताभन्दा कम बजेट विनियोजित भएकाले अर्थ मन्त्रालयसँग अपुग रकम माग गरेका छौं ।’ उनका अनुसार यो वर्षका लागि मात्र अर्थसँग १० अर्ब बजेट माग गरिएको छ । पुल बनेपछि सवारी आवागमन सहज हुने उनले बताए । थापाका अनुसार ६३ अर्बमा ठेक्का सम्झौता भएको स्थानीय सडकका पुलका लागि आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५० करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको छ । राजमार्गका पुलका लागि ३ अर्ब बजेट छुटयाइएको छ । जसको ठेक्का सम्झौता १३ अर्बको छ । ‘समग्र पुल बन्ने गरी ठेक्का हुन्छ,’ उनले भने, ‘बजेट निकासामा समस्या नभए ४ वर्षभित्र पुल निर्माण सम्पन्न हुनेछ ।’


नयाँ पुल निर्माणको अधिकांश टेन्डर भइसकेको उनले बताए । ‘केहीको मात्र टेन्डर हुन बाँकी छ, काम सुरु गरेका ठेकेदारले बिल बुझाए पनि भुक्तानी नपाएका कारण काममा ढिलाइ हुने गरेको छ,’ थापाले भने । महाशाखाका सिनियर डिभिजन इन्जिनियर प्रभात झाले यी पुल बनेपछि सवारी आवागन सहज हुने बताए । ‘अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने । अहिले राजमार्गमा करिब १ हजार ७ सय ९० र स्थानीय सडकमा ४ सय १० पुल छन् । मुख्य राजमार्गका अधिकांश पुल करिब ३०/४० वर्षअघि निर्माण गरिएकाले जीर्ण छन् । उपमहानिर्देशक थापाका अनुसार राजमार्गका २ सय पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् । केहीको मर्मत थालिसकिएको छ ।


विभागले ५ वर्षभित्र ती पुलको मर्मत सक्ने योजना अघि सारेको छ । राजमार्गमा पर्ने पुलमा जग खुल्ने, बेयरिङ बिग्रने, फलामे पुल खियाले बिग्रने, नदीको ढुंगागिट्टी जथाभावी निकाल्दा जग खोलिनेजस्ता समस्या छन् । सबभन्दा बढी समस्या महेन्द्र राजमार्गमा पर्ने पथलैया–ढल्केबर खण्डका पुलमा छ । उक्त खण्डमा पर्ने करिब ५५ वटा पुलमा बढी समस्या छ । ‘सडक दुई लेनको छ तर पुल एक लेनको मात्रै,’ थापाले भने, ‘दैनिक ५ हजार सवारी साधन गुडछन्, आवातजावतमै समस्या हुने गरेको छ ।’ उक्त खण्डमा पर्ने ३ वटा पुलमध्ये बाराको धनसारमा नयाँ पुल बनिसकेको छ । बाराकै दुधौरा नदीको पुलको टेन्डर भइसकेको छ भने महोत्तरी–धनुषा जोड्ने रातु नदीको पुल असारसम्ममा सञ्चालनमा आउने महाशाखाले जनाएको छ ।


थापाका अनुसार ०६७ मा निर्माण सुरु भएका केही पुल प्राविधिक र स्थानीय समस्याले अधुरै छन् । ‘करिब ३० वटा पुलमा यस्तो समस्या देखिएको हो,’ उनले भने, ‘कतै प्राविधिक, कतै ठेकेदार त कतै स्थानीयबीचको विवादले ढिलाइ भएको हो ।’ राजमार्गमा पुराना र साँघुरा पुलका कारण ओहोरदोहोर गर्नै समस्या हुने गरेको छ । दुर्घटना बढेका छन् । सधैं व्यस्त रहने राजमार्गका पुलमा रेलिङ भाँचिने, खाल्डो पर्नेजस्ता समस्या छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार साँघुरा पुलका कारण सवारी आवागमन प्रभावित भइरहेको छ । ‘सडक विस्तार गरिए पनि पुल जस्ताको त्यस्तै छन्,’ उनले भने, ‘पुल विस्तार नगरेसम्म सडक बनाएको कुनै औचित्य छैन ।’ उनले सडक विभागलाई पटक–पटक समस्याबारे अवगत गराए पनि सुनुवाइ नभएको गुनासो गरे ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?